बच्चाको हाँसोमै मन आल्हादित हुन्छ

किन म शिक्षक बनें ? यसको उत्तर नाटकीय छ।

त्यतिखेर म १८/१९ वर्षको थिएँ । घर (भक्तपुर) नजिकैको स्कूलमा पढाउँथें। ‘शिक्षक हुनु भनेको कहिल्यै जस नपाउने काम’ मानिन्थ्यो। अधिकांश सहकर्मी, अग्रजहरू पनि यस्तै भन्नुहुन्थ्यो । कताकता मलाई पनि त्यस्तै लाग्न थालिसकेको थियो। शिक्षण पेशाको विकल्पको खोजीमा थिएँ। त्यही बेला मैले एकदिन बौद्धको गुम्बामा औतारी लामालाई भेट्ने मौका पाएँ। उहाँले म शिक्षक हो भन्ने थाहा पाएपछि मलाई गुरुको महिमा बारे बताउनुभयो । त्यसपछि मलाई कसैले चिमोटे जस्तै भयो। उहाँले भन्नुभयो– ‘तपाईं त गुरु हुनुहुँदोरहेछ। गुरु पद जो–कोहीले पाउँदैनन्, यो त कैयौं वर्षदेखि सत्कर्म र सत्मार्गमा हिंडेको मान्छेले मात्रै पाउने पद हो । मान्छेले राम्रो भनून् या नराम्रो, तपाईंले शिक्षण धर्म नछोड्नुहोला है!’

मलाई उहाँको कुराले मनमै छोयो । झ्ण्डै छोडिसकेको शिक्षण पेशालाई मैले त्यसपछि आफ्नो ‘प्यासन’ बनाएँ । यो नै मेरो धर्म र कर्म हो भनेर अठोट गरें। अनि त मेरो जीवन नै परिवर्तन भयो । म भित्रैदेखि नै यो पेशाप्रति बफादार हुन लागिपरें। 

स्कूलमा रट्टामार पढाइ हुने। परम्परागत ढर्रा भन्दा भिन्न तरिकाले कसरी सिकाउने ? कसरी पढाउने ? थाहा थिएन, न त ढङ्ग नै थियो । एकदिन जापानबाट एक जना स्वयंसेवी शिक्षक म पढाउने विद्यालयमा आउनुभयो । उहाँले गणित, विज्ञान अनि सामाजिक शिक्षा जस्ता विषयलाई पनि व्यावहारिक हिसाबले खेलाउँदै, सिकाउँदै पढाएको देख्दा मलाई अचम्म र आनन्द एकैसाथ लाग्यो । त्यसपछि मैले पनि विभिन्न तालीमबाट आफ्नो पढाउने शैलीलाई निखार्दै गएँ । ती तालीमले मलाई ‘पढाउनु भनेको घोकाउनु मात्रै होइन’ भन्ने कुरा सिकायो । वास्तविक पढाइ त विद्यार्थीलाई जीवन जिउन सिकाउनु हो भन्ने कुरा अनुभूत गरायो। अहिले किताब सँगसँगै विभिन्न क्रियाकलाप गराएर सिकाउँछु । पृथक् तरिकाले पढाएकै कारण होला मलाई विद्यार्थीले रुचाएको पाउँछु।


तालीमले मलाई ‘पढाउनु भनेको घोकाउनु मात्रै होइन’ भन्ने कुरा सिकायो। वास्तविक पढाइ त विद्यार्थीलाई जीवन जीउन सिकाउनु हो भन्ने कुरा अनुभूत गरायो।

शिक्षण पेशामा लागेयता मैले अल्छी बन्नुहुँदैन भन्ने कुरा सिकेको छु। पाँच महिनायता म काभ्रेको मण्डनदेउपुरको विकट गाउँ चुरीथुम्काको भद्राकाली आधारभूत विद्यालयमा पढाइरहेको छु । पहिले म भक्तपुरको सूर्यविनायक विद्यालयमा प्राध्यापकको रूपमा कार्यरत थिएँ । त्यहाँ अस्थायी थिएँ । स्थायी भएर चुरीथुम्का आएको हो। पहिलो दिन बाटो र यो विद्यालयको हविगत देखेर मन कटक्क खाएको थियो। नढाँटी भन्नुपर्दा, यो विद्यालयमा पढाउन सक्छु जस्तै लागेको थिएन । कारण, कुनै दृष्टिले पनि विद्यालय जस्तो देखिएको थिएन– न विद्यालयको साइनबोर्ड छ, न एसेम्बली हुन्छ। कक्षाकोठाभरि सिसा÷अन्य मालसामानका टुक्राटाक्री छरिएका । हलुका हुन जाने क्रममा शौचालय देख्दा म गह्रुङ्गो बनेर फर्किएको थिएँ । चौरभरि झडी नै झडी । कक्षाकोठाको भित्ताभरि रसाएको पानी र लेउ।


पाँच महीनामा पनि यहाँ निकै परिवर्तन भएको छ । विद्यालयको गेटदेखि पर्खालमा नाम र साजसज्जा गरेको छु । विपन्नताले गर्दा होला, यहाँ विद्यार्थीलाई पढाइ भन्दा पहिले भोकले सताउँछ। कहिले विद्यार्थी भोकभोकै आउँछन्, कहिले चिया र चिउरा खाएर आएको बताउँछन्। अनि त दिउँसो भोकले पढ्नै नसक्ने हुन्छन् । दिवा खाजालाई चुस्त बनाउने योजनामा छौं।

विद्यालयमा सरसफाइको पनि समस्या छ। भैंसीमा लाग्ने पाटे झ्ंिगाले विद्यालयमा साह्रै दुःख दिने गरेको रहेछ। सोधी–खोजी गर्दा ‘यहाँ जे गरे पनि यस्तै हो’ भन्ने जवाफ पाएको थिएँ । आफैंले आगो बालेर सरसफाइ गर्न थालेपछि अहिले पाटे झ्ंिगा हटेको छ। बिरुवाहरू रोपेका छौं । डिस्प्ले बोर्ड राखेको छौं।

अहिले मलाई महसूस हुन्छ— जहाँ जे पाइन्छ, त्यसैको प्रयोग गरेर पढाउनुपर्दो रहेछ । चाहेको बेलामा यहाँ ‘चार्ट पेपर’ पनि किन्न सकिंदैन । ‘फोटोकपी पेपर’ किन्न सकिंदैन । त्यसको सट्टामा यहाँ के गर्न सकिन्छ त ? म सोच्न थालेको छु । प्लान ए मात्रै होइन; प्लान जेडसम्मकै सोच्नुपर्ने हुँदोरहेछ।

अझ् बच्चाले मनदेखि नै गरेको नमस्कार, हाँसोले नै मेरो मन आल्हादित हुन्छ । शायद हामी शिक्षकले कमाउने यही सम्मान हो।

विद्यार्थी शुरू–शुरूमा बोल्न हिच्किचाउँथे । तर हिजोआज मलाई साथी जस्तो व्यवहार गर्छन् । आफ्नो पारिवारिक समस्या समेत भन्छन्। म महीनाको एकचोटि उनीहरूलाई समस्या र गुनासो राख्ने पिरियड छुट्याउँछु। घरको झ्गडादेखि गरिबीको समस्या सबै भन्छन्, उनीहरू । यसले मलाई विद्यार्थीको मनो–सामाजिक हविगत बुझने आधार दिएको छ। विद्यार्थीको ‘होमवर्क’ किन आउँदैन भन्दा पहिले घरमा खाना किन पाक्दैन भन्ने प्रश्न मलाई उत्तिकै जायज लाग्न थालेको छ।

१० देखि ४ बजेसम्म मात्रै पढाउने ‘जागिरे’ शिक्षक मलाई हुनु छैन । विद्यार्थीलाई महसुस गर्ने शिक्षक हुन चाहन्छु म। म हरेक विद्यार्थीको समस्या बुझन चाहन्छु । जस्तो– यस विद्यालयमा एक जना पढ्न र सुन्न नसक्ने बाबु रहेछन्। विशेष क्षमता भएका ती बावुलाई विद्यालयले कक्षा ६ सम्म यत्तिकै चढाइदिएको रहेछ । पछि मैले पहल गरेर सिन्धुपाल्चोकको एक विशेष विद्यालयमा पढ्न पठाएँ। अहिले ती बावुले सांकेतिक भाषामा पढ्न थालेका छन् रे ! 

भक्तपुरको प्रधानाध्यापक छोडेर काभ्रेको दुर्गम गाउँमा आउनुको कारण त मेरो आवश्यकता भएर पो रहेछ भन्ने लाग्न थालेको छ । गाउँभरिकै अभिभावक र अन्य शिक्षकहरू मेरो हुटहुटी देखेर मलाई साथ दिनुहुन्छ, धन्यवाद भन्नुहुन्छ । मलाई खुशी लाग्छ।

अहिले स्कूल कम्तीमा पनि स्कूल जस्तो हुन थालेको छ। तर सुधार हुन धेरै बाँकी छ । मेरो हुटहुटीमा अन्य शिक्षक साथीहरूको साथ–सहयोग नभएको भए त यत्तिको परिवर्तन पनि गर्न सकिंदैनथ्यो होला । 


भद्राकाली आवि, मण्डनदेउपुर–१, चुरीथुम्का, काभ्रे

commercial commercial commercial commercial