शिक्षक मासिक पुरस्कृत

नेपालको विद्यालय तहको शिक्षामा संस्थागत रूपमा योगदान गरेबापत रुद्रराज साहित्य सेवा समितिले शिक्षक  मासिकलाई ‘रुद्रराज विशेष पुरस्कार-२०८०’ बाट सम्मानित गरेको छ।

साहित्यकार एवं शिक्षासेवी सरदार रुद्रराज पाण्डेको १२४औं जन्मजयन्तीको अवसरमा २०८० फागुन २६ गते काठमाडौंमा आयोजित एक समारोहमा; समारोहका प्रमुख अतिथि एवं त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले रु.५० हजार नगद पुरस्कार सहित उक्त सम्मान शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाललाई प्रदान गर्नुभयो। रुद्रराज पुरस्कार– प्रसिद्ध साहित्यकार एवं त्रिविका पूर्वउपकुलपति स्वर्गीय रुद्रराज पाण्डेको स्मृतिमा स्थापना गरिएको हो। दरबार हाईस्कूलका प्रथम नेपाली हेडमास्टर सरदार पाण्डेको पहल र प्रयासमा वि.सं. १९९० मा नेपालबाट एसएलसी परीक्षा शुरू हुनसकेको मानिन्छ। सरदार पाण्डेले राणाकालमै लेखेको ‘रूपमती’ उपन्यास दशकौंसम्म नेपाली पाठकमाझ लोकप्रिय थियो। 

सरदार पाण्डेको जन्मजयन्तीका अवसरमा आयोजित उक्त कार्यक्रममा पुरस्कार छनोट समितिका तर्फबाट प्रा.डा. मोहन लोहनीले पुरस्कृत व्यक्ति तथा संस्थाको परिचय र पुरस्कृत गर्नुको औचित्यबारे जानकारी दिनुभएको थियो । त्यस अवसरमा ‘दिव्य शताब्दी पुरुष’ डा. गौरीशंकर लाल दासलाई अभिनन्दन र त्रिविकै पूर्वकुलपति एवं सरस्वती क्याम्पसका संस्थापक प्रा. शंकरराज पाठकलाई ‘रुद्रराज शिक्षा पुरस्कार’ प्रदान गरिएको थियो । रुद्रराज साहित्य सेवा समितिका अध्यक्ष डा. बद्रीराज पाण्डेको सभापतित्वमा सञ्चालित उक्त समारोहमा प्रमुख अतिथि माथेमाका अतिरिक्त प्रा.डा. त्रिरत्न मानन्धर, समितिका महासचिव नील पाण्डे; सदस्य डा. गोविन्द टण्डन तथा पुरस्कृत एवं अभिनन्दित व्यक्तिहरूले मन्तव्य राख्नुभएको थियो।


 

commercial commercial commercial commercial