योगीको आत्मकथा ७० वर्षपछि पनि उत्तिकै सान्दर्भिक

पूर्वेली अध्यात्म र पश्चिमेली विज्ञानको समन्वय र सन्तुलनबाटै मानव जातिको शान्ति, सुख र समृद्घिको अपेक्षा हासिल हुनसक्ने भनी योगानन्दले ७० वर्ष अगाडि लेखेको ‘अटोबायोग्राफी अफ अ योगी’ अहिले पनि उत्तिाकै सान्दर्भिक र पठनीय छ ।

बीसौं शताब्दीको अन्त्यतिर संचारप्रविधिको क्षेत्रमा तहल्का मच्चाएको एपल कम्पनीका अर्बपति संस्थापक स्टिभ जब्सले वर्षेनि एक–एक पटक गरी आफ्नो जीवनमा ४० पटक पढेको किताब । उनले आफ्नो आईप्याडमा डाउनलोड गरेको एक मात्र किताब । जब्सको मृत्युपछि आयोजना गरिएको स्मृतिसभामा सहभागी अमेरिकाका झण्डै २०० लब्धप्रतिष्ठित, धनाढ्य र शक्तिशाली व्यक्तिहरूलाई जब्सकै अन्तिम इच्छा अनुसार उपहार दिइएको किताब ।

बीसौं शताब्दीकै सन् १९६० को दशकमा उदाएर सङ्गीतको दुनियाँमा तहल्का मच्चाएको ‘द बिटल्स’ कागायक जर्ज ह्यारिसनले आफ्नो घरमा आउने अतिथिहरूलाई उपहार दिन भनेर भुइँतलाको एउटा कोठाभरि राख्ने गरेको किताब ।

एक्काइसौं शताब्दीको दोस्रो दशकमा विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका कीर्तिमान धारी ब्याट्सम्यान विराट कोहलीले आफ्ना करोडौं प्रशंसकलाई फेसबूक, ट्विटर र इन्स्टाग्राम मार्फत एकपटक पढ्नैपर्ने भनी सल्लाह दिने गरेको किताब ।

विख्यात प्रकाशन संस्था हार्पर कालिङ्सले बीसौं शताब्दीका १०० उत्कृष्ट आध्यात्मिक किताबको सूचीमा राखेको किताब पनि हो, यो ।
 

सन् १९४६ मा पहिलो पटक अंग्रेजीमा प्रकाशित भएयता नेपाली सहित ५० भाषामा अनुवाद भई करोडौं प्रति बिकिसकेको किताब ‘द अटोबायोग्राफी अफ अ योगी’ (योगीको आत्मकथा) भारतमा जन्म भई अमेरिकालाई कर्मथलो बनाएका योगी परमहंस योगानन्दले लेखेका हुन् । अभूतपूर्व भौतिक सफलता र ख्याति कमाएका जब्स, ह्यारिसन र कोहली जस्ता पश्चिमी जगतका चर्चित व्यक्तित्वहरूलाई समेत उनीहरूको युवावस्थामै छाप छोड्न सफल यो आध्यात्मिक किताब लेखककै शब्दमा ‘अध्यात्मको विज्ञानसँग सम्बन्धित’ छ । अध्यात्म–विज्ञानका अनुसार मानिसमा असीमित शक्ति र क्षमता हुन्छ । मानिसले आफूमा निहित त्यो शक्ति र क्षमता पहिचान गर्न सक्नु मात्र पर्छ, त्यसै मार्फत उसले खोजेको सुख, शान्ति र उन्नति सजिलै हासिल गर्न सक्छ । तर यो ‘सजिलो’ उपलब्धिका लागि कडा एकाग्रता चाहिन्छ जुन ध्यान (मेडिटेसन) बाट मात्र सम्भव हुन्छ । योगानन्दले महाभारतको लडाइँमा कृष्णले अर्जुनलाई सिकाएको क्रियायोग ध्यानको प्रसंग विशेष रूपमा कोट्याएका छन् । किताबको एउटा लामो अध्याय क्रियायोगको विस्तृत वर्णन गर्नमा खर्चिएको छ । इन्द्रियलाई पूर्ण नियन्त्रणमा राखेर मन एकाग्र गर्दा मानिसले असीमित ब्रह्माण्डीय शक्तिग्रहण गर्न सक्छ, जुन समस्त मानव जातिको कल्याणमा उपयोग गर्न सकिन्छ र गर्नु पनि पर्छ भन्ने जोड किताबमा दिइएको छ ।

औपचारिक शिक्षामा अति नै औसत रहेर जेनतेन स्नातकोत्तर गरेका; अंग्रेजी बोल्न पनि नआउने बंगाली युवा मुकुन्दलाल घोष आफ्ना गुरुहरूको इच्छा र सल्लाहमा २७ वर्षको उमेरमा अमेरिका पुग्छन्– क्रियायोगको ‘मिसन’ बोकेर । प्रथम विश्वयुद्धले जर्जर र हतास बनाएको मनस्थितिबाट गुज्रिरहेको भौतिकवादी पश्चिमी जगतमा योग मार्फत आशा र भरोसा जगाउने एउटा दुष्कर अभियानमा उनले एकपछि अर्को गर्दै निकै ठक्कर खान्छन् । तर आफ्नो ‘मिसन’ मा उनी सफल भइछाड्छन् । संचारप्रविधिमा एउटा अकल्पनीय क्रान्ति ल्याएर अर्बाैं मानिसको जीवनमा गुणात्मक प्रभाव पार्न सफल स्टिभ जब्सको प्रेरणाको स्रोत परमहंस योगानन्द हुन पुग्नु शायद संयोग मात्र नहोला । ‘संयोग’ को कुरा गर्दा ‘द अटोबायोग्राफी अफ अ योगी’ ले मानिसमा निहित असीमित क्षमता र शक्ति पहिचान गर्न र त्यसै अनुसार आफ्नो जीवन ढाल्न सकियो भने जीवन र जगतबारेको विद्यमान दृष्टिकोणलाई फराकिलो र तथ्यपरक बनाउन सम्भव हुने कुरा मा पनि जोड दिएको पाइन्छ । त्यो शक्ति र क्षमता पहिचान गरेर हासिल गर्ने हो भने ‘संयोग’, ‘चमत्कार’ जस्ता धारणा अज्ञानवश मात्र बन्न पुगेको बोध मानिसलाई हुनेछ ।

हुनतः पहिलो पटक यो किताब पढ्दा जोकोहीलाई पनि जादुका कथा सुनेझैं  लाग्न सक्छ— चाहे त्यो लेखकको एकै पटक दुई ठाउँमा प्रकट हुने साधुसँग को भेट होस् अथवा आफ्नो नाङ्गो हातले हिंस्रक बाघसँग लडाईं गर्न सक्ने क्षमता भएका अर्का साधुको प्रसङ्ग होस् । ध्यानमा मग्न भएपछि हावामा उड्न सक्ने साधुको कुरा र वर्षौं देखि केही पनि नखाई निराहार ध्यानमग्न भएर बस्ने साधिकाको प्रसङ्ग पढ्दा त कतिपयलाई यो काल्पनि क कथा जस्तो पनि लाग्न सक्छ । तर योगानन्दले यस्ता ‘चमत्कार’ कसरी सम्भव भए भनेर बुझाउनका लागि एउटा छुट्टै अध्याय खर्चेका छन् । साधुहरू हावामा उडे जस्तै र एकै पटक दुई फरक ठाउँमा प्रकट भए जस्तै असीमित शक्ति र क्षमता कसरी हामी सबैभित्र पनि छ भन्ने कुरा लेखकले राम्ररी व्याख्या गरेका छन् । किशोरावस्थामा आफ्नो गुरुको खोजीमा भौंतारिंदा भेटिएका यस्ता विभिन्न साधुहरूको वर्णन पश्चात् आफ्ना प्रिय गुरु युक्तेश्वरगिरीसँग उहाँको आश्रममा बसेर सिकेका कुरा को वर्णन पनि निकै रोचक एवं शिक्षामूलक छन् । अमेरिकामा पुगेर विश्व विख्यात बनेका योगानन्दले आफ्ना गुरुको आश्रममा सिकेका कुरा हरू पढ्दा; गुरु र शिष्यबीचको सम्बन्ध कतिसम्म गहिरो र शुद्ध हुन्छ भन्ने झलक पाइन्छ । यस्ता कुरा हरू वर्तमान समयका विद्यार्थीलाई पनि उत्तिकै उपयोगी हुन सक्छन् । जति शक्ति भए पनि कहिल्यै ठूलो बन्न र देखाउन नखोज्ने र ज्यादै नै सरल स्वभावका गुरु युक्तेश्वरगिरीबाट सिक्न सक्ने कुरा हरू पनि किताबमा प्रशस्त छन् ।

यो किताबको एउटा रोचक पक्ष पाश्चात्य र पूर्वीय धर्मको तुलनात्मक अध्ययन पनि हो । योगानन्दले इसाई धर्म र हिन्दू धर्मबीच गहिरो नाता रहेको कुरा पुस्तकमा राम्ररी चर्चा गरेका छन् । दुवै धर्मको उद्देश्य भनेको आफैंलाई चिन्ने क्षमता हो भन्ने उनको कथन छ ।

पश्चिमी समाज लाई वेदान्तसँग परिचित गराउने पहिलो पूर्वेली योगी विवेकानन्दले शिकागोमा दिएको ऐतिहासिक प्रवचनको केही दशकपछि क्यालिफोर्निया पुगेका योगानन्द पश्चिमलाई योगसँग परिचय गराउने पहिलो पूर्वेली योगी मानिन्छन् । विवेकानन्दले जस्तै योगानन्दले पनि अत्यन्त दुरुह र प्रतिकूल सामाजिक, सांस्कृतिक परिस्थितिका बीच आफ्नो मिसन अगाडि बढाएका थिए । अमेरिकामा कहिले उनी आफ्नो पूर्वेलीरूप र लवाइले मानिसहरूको हाँसोको पात्र बनेका थिए भने कहिले उनलाई काला रगोराबीच त्यहाँ विद्यमान भेदभावले गर्दा आफ्नो कार्यक्रम गर्न मुश्किल हुन्थ्यो । तर कसरी उनी विभिन्न बाधा–अड्चनका बीच अमेरिकामा आफ्नो सन्देश फैलाउन सफल भए र कसरी उनको सन्देशले लाखौं मानिसको जीवनमा परिवर्तन ल्याउन सक्यो भन्ने प्रेरणादायी प्रसंग किताबको एउटा महत्वपूर्ण पक्ष हो ।

विभिन्न कठिनाइ र चुनौतीको वर्णन समेटिएको यो किताबमा ‘आफूलाई चिन्न सक्ने हो भने असम्भव केही छैन; न त सामान्य मानिसले चमत्कार ठान्ने कुरा नै असामान्य हुन्’ भन्ने चर्चा गरिएको छ । तर आफूमा शक्ति छ भनेर आफूलाई ठूलो देखाउने कुरा नरुचाउने योगानन्द मानिसमा निहित असीमित ‘चामत्कारिक’ क्षमता मानव जातिको कल्याणमा प्रयोग गर्न जोड दिन्छन् ।

आत्मकथा भनिए पनि प्रस्तुत किताबमा उनले आफ्ना अनगिन्ती चमत्कारको खासै चर्चा गरेका छैनन् । उनको त्यस्तो चामत्कारिक शक्तिका अनगिन्ती उदाहरण उनका कान्छा भाइ सनद लाल घोषले लेखेको ‘मेज्दा’ (माइला दाइ) मा पाइन्छन्; जसमा योगानन्दको व्यक्तिगत जीवनका विविध पक्ष र घटनाको चर्चा गरिएको छ । योगानन्दले आफ्नो किताबमा आफ्नो भन्दा धेरै अरू सिद्ध व्यक्तिहरूसँग को संगत र त्यसबाट प्राप्त गरेको ज्ञान र अनुभवलाई ठाउँ दिएका छन् । आध्यात्मिक विज्ञानको महत्व र उपयोगिता कता कता धेरै देख्ने योगानन्दले भौतिक विज्ञानको महत्वलाई पनि कम आँक्न नहुने कुरा मा जोड दिएका छन् । उनी भन्छन्, “भौतिक विज्ञान र आध्यात्मिक विज्ञानलाई सँग सँगै लैजान सकिएमा विश्व कल्याण हुनेछ । यी दुईबीच सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्छ ।” पूर्वेली अध्यात्म र पश्चिमेली विज्ञानको समन्वय र सन्तुलनबाटै मानव जातिको शान्ति, सुख र समृद्धिको अपेक्षा हासिल हुनसक्ने भनी योगानन्दले ७० वर्ष अगाडि लेखेको ‘अटोबायोग्राफी अफ अ योगी’ अहिले पनि उत्तिकै सान्दर्भिक र पठनीय छ ।

समीक्षकद्वय जीवन दर्शन र विज्ञानका अध्येता हुन् ।

२०७६ असार अंकमा प्रकाशित ।

commercial commercial commercial commercial