हतारका शिक्षक अर्थात् ‘हेल्मेट टिचर’

  • ललितपुरको कुपण्डोलस्थित एड्भान्स एकेडेमीका चारजना शिक्षकहरू हातमा मोटरसाइकलको हेल्मेट झुण्डयाएर  सँग सँगै ढोकाबाट निस्कँदै थिए । उनीहरू हतारमा देखिन्थे । गोदावरी देखि आएर बिहानै दुई पिरियड पढाइसकेका निर्मलराज न्यौपानेले भने, “मलाई ज्यादै हतार छ । अर्को दुई वटा कलेज भ्याउनु छ ।” न्यौपानेको बोली नटुङ्गिदै अर्का शिक्षकले मोटरसाइकल स्टार्ट गर्दै भने, “मेरो पनि हालत त्यही त हो नि !”
  • दिनको नौ पिरियडसम्म पढाउने शिक्षक शिवहरि बगालेलाई कहिलेकाहीँ त आफ्नो हालत देखेर दिक्क लाग्छ । बिहान लोकन्थलीबाट चाबहिल पुगेर कैलाशकूट बहुमुखी क्याम्पसमा चार पिरियड पढाउँछन् र दिउँसो ॐ ज्ञानमन्दिर विद्यालय, भक्तपुरमा अर्को पाँच पिरियड । दिन ढल्कँदासम्म उनीगलेर लथ्रक्कै हुन्छन् । भन्छन्, “दौडधुप र थकान त छँदैछ, यति गर्दा पनि पैसाले घरपरिवार थेग्दैन ।”

उपत्यकाका उच्च मावि र क्याम्पसका धेरैजसो शिक्षकहरूको दिन यसै गरी बित्छ । जब दिन ढल्कँदै जान्छ त्यतिबेला बगालेजस्तै सबै शिक्षक क्लान्त र थकित हुन्छन् ।

यसरी दुई वा दुईभन्दा धेरै शिक्षण संस्थामा पढाउने शिक्षकहरूले यता आएर ‘हेल्मेट टिचर’ को संज्ञा पाउन थालेका छन् । “धेरै कलेज पढाउन हतारोमा देखि ने र मोटरसाइकललाई सवारी साधन बनाउने हुनाले हामीलाई ‘हेल्मेट टिचर’ भनिएको हो”– बिहान पाँच बजे देखि कलेजतिर कुद्ने वेल्हेम्स एकेडेमीका शिक्षक डिल्ली आचार्य भन्छन्, “हेल्मेट टिचरका आफ्नै कथा–व्यथा छन् । देख्दा हतारमा देखि एजस्तै मन पनि कहिल्यै स्थिर हुन्न ।”

काठमाडौँमा शैक्षिक संस्था बढ्दै गएपछि उच्च मावि तथा कलेजका शिक्षकहरू बढी व्यस्त हुन थालेका हुन् । यस्ता उच्च मावि र कलेजमा तीनथरी शिक्षक छन्– पहिलो ः पूर्णकालीन, दोस्रोः आंशिक र तेस्रो अरू कामका साथै पढाउने काम पनि गर्ने । दिउँसो कान्तिपुर टेलिभिजनका लागि ‘रिपोर्टिङ’को काम गर्ने र बिहान निजी कलेजमा पढाउने भुवन केसी भन्छन्, “म जस्ता कतिपय साथीहरूले बिहानको समय सदुपयोग पनि हुने र पैसा पनि कमाइने भनेर यो पेशा रोजेका छन् ।” केसीको अनुभवमा तीनथरी शिक्षकका फरक–फरक गुनासा छन् । आंशिक रूपमा मात्र पढाउने शिक्षकको गुनासो पारिश्रमिकसँग गाँसिएको हुन्छ भने भ्याई–नभ्याई पिरियड लिनेहरू समय मिलाउन नसकेको गुनासो गर्छन् ।

बिहान क्याम्पसमा बिताउने सिरु साइनिङ्ग माध्यमिक विद्यालय, भक्तपुरका अर्थशास्त्र विषयका शिक्षक महा शर्माको गुनासो अर्थोपार्जनसँग जोडिएको छ । उनी भन्छन्, “स्थायी आयको सुरक्षित बाटो नभएपछि जे सम्भव छ त्यही त गर्नु परयो नि, होइन र !” यस्ता शिक्षकहरू व्यवस्थापनले आफ्नो श्रम शोषण गरेको गुनासो पनि गर्छन् । “नाम चलेका उच्च माविहरूले पनि सस्तोमा शिक्षक पाइयो भने जतिबेला पनि निकाल्न सक्छन्”– पुरानो बानेश्वरको एउटा उच्च माविले आफूलाई बिनाकारण विदा गरेको तीतो अनुभव सुनाउँदै शिक्षक दिनेश शर्माले भने, “अधिकांश व्यवस्थापकहरूलाई स्तरीय शिक्षाको वास्ता छैन । उनीहरू पूरै पैसामुखी छन् ।” निजी कलेजमा एक पिरियड पढाउने शिक्षकले मासिक दुई हजार देखि पैँतालीस सय रुपैयाँसम्म पनि पारिश्रमिक लिन्छन् । एक दिनमा चार/पाँच पिरियड पढाउने शिक्षकले सामान्यतया महिनाको रु.१२ हजार देखि रु.१५ हजारसम्म कमाउन सक्छ ।

असन्तुष्टिको असर

शिक्षकलाई शिक्षाको जग भनिन्छ । जग नै कमजोर र विचलित छ भने त्यसले गह्रुङ्गो संरचना थेग्न सक्दैन । मनोवैज्ञानिक डा. अनिल झका अनुसार हतार, हतास र असुरक्षाको मनस्थितिमा कोही पनि मान्छे सामान्य हुँदैन  । झ भन्छन्, “झन  शिक्षण भनेको एकखालको कलाकर्म हो, जहाँ सिर्जनशील हुनुपर्छ । मान सिक, पेशागत स्थिरता एवं सन्तुष्टि नभइकन मानिस सिर्जनशील हुन सक्दैन ।” हाल नेपालमा १५४५ उच्च मावि सञ्चालित छन् । तिनमा ९६४ वटा सामुदायिक छन् भने बाँकी निजी । उच्च माध्यमिक शिक्षा परिषद्का सहसचिव दुर्गाप्रसाद अर्यालका अनुसार उच्च माविमा ११ हजारको हाराहारीमा शिक्षकहरू कार्यरत छन्; तर तीमध्ये कोही पनि स्थायी छैनन् । सरकारले उमावि शिक्षकको दरबन्दी बारेमा स्पष्ट नीति ल्याउन नसकेको आरोप शिक्षकहरूको छ । “जबसम्म यसबारे सरकार सचेत हुँदैन तबसम्म गतिलो शिक्षक र स्तरीय शिक्षा चाहियो भन्नु बेकार छ”, नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवाली भन्छन् । स्पष्ट सरकारी नीति नभएकाले श्रम शोषण भएका शिक्षकले कानूनी उपचारको बाटो पाएका छैनन् । निजी क्षेत्रका उच्च माविहरूले शिक्षकलाई कम पारिश्रमिकमा काम लगाएको मात्र होइन त्यही थोरै पारिश्रमिक पनि बेलामा नदिने चलन बढ्दै गएको गुनासो शिक्षकहरूले गरेका छन् ।


धेरै शिक्षण संस्थामा पढाउने शिक्षकहरुले अहिले ‘हेल्मेट टिचर’ को संज्ञा पाउन थालेका छन् ।

स्तरीय शिक्षाका नाममा विद्यार्थीबाट उच्च शुल्क असुल्ने केही निजी उच्च माविले भने शिक्षकहरूलाई राम्रै पारिश्रमिक दिने गरेको पाइन्छ । तर त्यहाँ पनि शिक्षकहरूको पेशागत सुरक्षा भने हुँदैन । त्यस्ता अधिकांश उच्च माविहरूले शिक्षकलाई न त नियुक्तिपत्र दिन्छन् न कुनै सम्झौतापत्र नै हुन्छ । काठमाडौँका उच्च माविहरूले दैनिक एक घण्टी पढाउने शिक्षकलाई मासिक दुई हजार देखि पाँच हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरेका छन् । उच्च माविमा कार्यरत शिक्षकहरूको सेवा, शर्त र सुविधा सम्बन्धमा सुझाव पेश गर्न सरकारले चैतन्य शर्माको संयोजकत्वमागत सालगठन गरेको समितिले प्रतिवेदन बुझाइ सकेको छ । तर त्यसलाई पल्टाएर हेर्ने जमर्को सरकारले अझैसम्म  गरेको देखिँदैन । सहसचिव अर्याल भन्छन्, “त्यसका सुझाव कार्यान्वयन गर्न सके उच्चमावि र त्यहाँ कार्यरत शिक्षक दुवैका लागि हितकर हुन्थ्यो ।” सामुदायिक उच्च माविलाई भनेर दुईजना शिक्षकका लागि अनुदानस्वरूप सरकारले रकम उपलब्ध गराउँदै आएको छ । तर त्यो पनि अघिल्लो वर्ष दर्ता भएकालाई मात्र । विद्यार्थीको मासिक शुल्क र चन्दाबाटै धेरैजसो उच्चमाविहरू चलिरहेका छन् । “यसैकारण शिक्षकको पारिश्रमिक पनि अन्यको तुलनामा कम हुनु स्वाभाविक छ” अर्याल तर्क गर्छन् ।

समाधान के ?

उच्च माध्यमिक विद्यालयका सबै समस्याहरूका समाधानका लागि पहल गरिरहेको दावी गर्ने सहसचिव अर्याल नीति–नियमकै अभावमा मात्रै समस्या खडा भएको स्वीकार्दैनन् । उनको विचार मा कलेज र स्वयं शिक्षकहरू पनि समस्याप्रति जिम्मेवार हुनुपर्छ । शिक्षाविद्हरूका विचार मा भने ‘हेल्मेट टिचर’का समस्यालाई एक्ल्याएर समाधान गर्न सम्भव छैन । “समस्याहरू नीतिगतरूपमै शुरु भएका छन् । शिक्षकको नियुक्ति, पारिश्रमिक, कलेजको व्यवस्थापन आदि कुरा हरू पनि समस्या छन्” शिक्षाविद् तीर्थ खनियाँ भन्छन्, “समुच्च समस्याहरू क्रमशः समाधान गर्दै लैजाने हो भने यो समस्या पनि विलाउँदै जान्छ । त्यसका लागि शिक्षा हेर्ने गतिलो मान्छे ठाउँमा पुग्नुपर्छ ।” स्तरीय शिक्षामा विद्यार्थीले खोजेका बेला जति बेला पनि शिक्षकको उपलव्धता महत्वपूर्ण  हुने बताउँदै शिक्षाविद् खनिया थप्छन्, “हेल्मेट टिचरका कारण मात्रै समस्या देखि यो भन्नु अन्याय हुन्छ ।” शिक्षकसम्बद्ध संघ–सङ्गठनहरू यो समस्यालाई सिङ्गो शैक्षिक नीति र वातावरणसँग जोडेर हेर्छन् । “नियुक्ति देखि श्रम–शोषणसम्मका समस्याहरू समाधान न गरी कलेज पढाउने शिक्षकहरूले खोजेजस्तो अध्यापन गर्न सक्दैनन्” शिक्षक संघका अध्यक्ष ज्ञवाली भन्छन्, “यसको समाधान शिक्षकसँग होइन सरकारसँग छ ।”


एक ‘हेलमेट’ शिक्षकको दिनचया

सामान्यतया बिहान ४ः ३० बजे देखि मेरो दैनिकी शुरु हुन्छ । उठेर नित्यकर्म र चियापानपछि बिहान ६ बजे कोटेश्वर बहुमुखी क्याम्पस पुग्छु । एघार कक्षा र स्नातक तहमा तीन पिरियड लिँदा आठ बजि सक्छ । त्यसपछि म लाग्छु पुरानो बानेश्वर ओरालोमा रहेको एम्बिसन एकेडेमीतर्फ । एम्बिसनमा एक पिरियड मात्रै पढाउँछु । त्यसपछि मलाई ९ः ३० मा कालोपुलस्थित जेभियर्स कलेजमा कक्षा लिन पुग्नुपर्छ । त्यहाँ भने दुई घण्टी पढाउँछु । यतिबेलासम्म बिहानको खानाको समय भइसक्छ । सिनामङ्गलस्थित निवास पुग्छु र खाना खान्छु । त्यसपछि म उप–प्राध्यापक रहेको वाल्मीकि क्याम्पस पुग्छु । वाल्मीकिमा स्थायी उप– प्राध्यापक भएको हुनाले त्यति धेरै खट्नु पर्दैन जति निजी कलेजहरूमा खट्नुपर्छ । कहिलेकाहीँ अलिक ढिलासम्म पनि वाल्मीकिमा बस्नुपर्छ ।

साँझ् घर फर्केपछि भोलिपल्टका कक्षाका लागि तयारी र आफ्नै सिर्जनशील लेखन एवं अध्ययनको काम हुन्छ । मेरो जस्तै गतिमा पढाउने नयाँ शिक्षकहरूलाई भने तयारीका लागि पर्याप्त समय नहुन सक्छ । तर नियमित रूपमा कसैले तीन/चार वर्षसम्म दुई वा दुईभन्दा धेरै कलेज पढाउँदा ऊ अभ्यस्त भइसक्छ । अनुभवीहरूलाई अलिक सजिलो पर्छ । अहिले पनि कलेजहरूमा नयाँ शिक्षकहरूले पढाउने चलन बढ्दो छ । संयोगले मैले पढाउने कलेजहरूको ‘लोकेसन’ मिलेको हुनाले एउटा कलेज देखि अर्को कलेजसम्मको समय मिलाउन मलाई त्यति गाह्रो परेको छैन । तर कतिपय शिक्षकहरूले भने एउटा कलेजमा लिँदै गरेको पिरियडको पाँच मिनेट कटौती गर्छन् र अर्को कलेजमा पाँच मिनेट ढिलो पुगेर पनि कक्षा चलाइरहेका छन् । निश्चित रूपमा एक दिनको पाँच मिनेटले वर्षभरिलाई असर गरिरहेको हुन्छ । यसले गर्दा समयमै कोर्स सिध्याउन धौ–धौ पर्छ । र, यस्तो हतारोले शिक्षणमा कुनै न कुनै असर गरिरहेको हुन्छ । दुई वा दुईभन्दा बढी कलेज पढाउनु शिक्षकहरूको बाध्यता हो । एउटा कलेज पढाएर छाक टार्न नसकिने भएपछि शिक्षकहरूले विकल्पका रूपमा बढीभन्दा बढी कलेज पढाउनु पर्छ । त्यसमा पनि निजी कलेजहरू अलिक बढी विज्ञापनमुखी छन् । विज्ञापनमा बढी खर्च गर्ने र दक्ष शिक्षकलाई पर्याप्त पारिश्रमिक नदिने समस्या निजी कलेजहरूमा छ ।”     

देवी नेपाल

२०६५ वैशाख अंकमा प्रकाशित । 

commercial commercial commercial commercial