अध्यक्षका छोरी पढाइदिने प्रस्ताव

अध्यक्ष बामपन्थी साहित्यमा चित्रण भएका खलनायक जस्तै लागे मलाई । म आत्तिन थालें । यस्ता जाली–फटाहाहरूको घरमा म कसरी बस्न सक्छु ?

विसं. २०३७ पुुसतिर को कुरा हो । त्यसबखत वामपन्थी राजनीतिप्रति उग्रसम्मोहन थियो मेरो । शिक्षक भएर राजनीति गर्न धेरै हिसाबले सजिलो हुन्छ भन्ने सुनेको थिएँ । त्यही सूचनाको भरमा कुनै दुर्गम गाउँमा गएर शिक्षक बन्ने अठोट गरें । राजधानीको काँठको मान्छे भएको ले पहाड र तराईको ज्ञान त्यसै पनि कम थियो ममा । अठोट त गरें तर कहाँ जाने ? यसै मेसोमा नुवाकोटका प्रतिष्ठित शिक्षक तथा कवि शारदारमण नेपालसँग नयाँसडक पीपलबोटमुनि भेट भयो । उहाँसँग को कुरा कानीपछि म अङ्ग्रेजीको शिक्षक हुन नुवाकोटको शक्ति माध्यमिक विद्यालय, दाङ्मै जाने टुङ्गोमा पुगेँ ।

दाङ्मै पुगेको पहिलो साँझ् भक्तपुर घर भएका दुईजना शिक्षक (नकुल प्रजापति र धीरेन्द्र बिजुक्छे)को डेरामा आश्रय लिएँ । उनीहरू दुवैजना प्राथमिक तहका शिक्षक थिए । उनीहरू मजदुर किसान पार्टीका समर्थक या कार्यकर्ता थिए भन्ने कुरा रहँदाबस्दा थाहा भयो । बाहिरबाट गएका तर परिवार नभएका कारण पहिलो बास उनीहरूकै डेरामा रोज्न सहज लाग्यो । उनीहरू निक्कै सहयोगी र सरल मिजासका मानिस थिए । दाङ्मैमा ६ महिना रहँदा म उनीहरूसँगै बसेँ ।

भोलिपल्ट बिहानको सामान्य शुद्धीकरणपश्चात् म प्रधानाध्यापक खेमराज सेढाइको डेरामा गएँ । उनी त्यही जिल्लाका बासिन्दा भए पनि उनको घर चतुराले गाउँमा पथ्र्यो । दाङ्मैबाट चतुराले जान एक बिहान जति लाग्छ ।

पुसको दिन भए पनि दाङ्मैमा बिहान त्यति जाडो थिएन । काठमाडौंको बाक्लो हुस्सु र जाडो छोडेर त्यहाँ आएपछि अर्कै सुखद् अनुभूति भएको थियो मलाई । हुस्सुको नामोनिशाना कतै नभएको ले सूर्य उदाउनासाथ वरिपरिका डाँडाहरू झलमल्ल भएका थिए । त्यस्तो रमणीय मुहूर्तमा म प्रधानाध्यापक सेढाइको डेरामा पुगेँ । उनी मलाई नै कुरेर बसिरहेका रहेछन् ।

“अब, हामी विद्यालय सञ्चालन समितिका अध्यक्ष को घरमा जान्छौँ । उनले तपाईंलाई बस्ने र खाने व्यवस्था मिलाउने छन् । बसेको पैसा त तिर्नु पर्दैन यो गाउँमा तर खानाको पैसा पनि लाग्दैन भनेका छन् अध्यक्ष ले । उनका दुइटी छोरी छन् । उनीहरूलाई बिहान–बेलुका फुर्सदमा पढाइदिए हुन्छ । तपाईंका लागि यो सुवर्ण अवसर हो । यसरी यहाँ बस्दा तपाईंको कानाकौडी पनि खर्च हुँदैन ।” मलाई यो कुरा सुनाउन पाउँदा उनी खुशीले चम्किएका देखिन्थे । खेमराजकी पत्नीले बनाएको बिहानको चिया खाएर हामी सञ्चालक समितिका अध्यक्ष को घरतर्फ लाग्यौँ ।

पाँच मिनेट तेर्सो र दुई मिनेट जति ओरालो झ्रेपछि अध्यक्ष को घर आइपुग्यो । जस्ताले छाएको, रातोमाटाले पोतेको, लामो बार्दली भएको त्यो दुईतल्ले घर वरिपरिका अरूभन्दा केही विशिष्ट देखि न्थ्यो । घरको अगाडि आँगन र त्यससँगै एकतल्लेगोठ थियो । त्यो देखेर मेरो मन विद्यालय सञ्चालक समितिका अध्यक्ष र त्यो संरचनाको मेल कसरी हुन्छ भनेर तालमेल गराउन एकाग्र थियो । प्रधानाध्यापकले आफू त्यहाँ आइपुगेको सङ्केत दिन ठूलो स्वरले कराए– “घरमा को हुनुहुन्छ ? अध्यक्ष ज्यू खोई ?” आवाज सुनी घरभित्रबाट पचास बाउन्न वर्षकी महिला निस्किन् र हामीलाई फलैंचामा बस्न भनिन् । उनी अध्यक्ष की धर्मपत्नी रहिछन् । “उहाँ पूजामा हुनुहुन्छ, बस्दै गर्नोस् ।” त्यति भनेर उनी भित्र पसिन् ।

त्यसपछि निकै बेरसम्म वातावरण सुनसान भयो । म आफ्नो सम्भावित बासस्थानबारे अनेक कल्पना गर्न थालेँ । प्रधानाध्यापक पनि केही बोलिरहेका थिएनन् । उनी कुन संसारमा विचरण गरिरहेका थिए मलाई ज्ञान भएन । लगभग एक घण्टापछि पाठपूजा सकेर अध्यक्ष बाहिर निस्के । उनी धोती फेरेर पूजा गर्दाको बस्त्र विधानमै थिए । पुड्को कदका करिब साठी नाघेका निधारमा टीका र तिलक लगाएका ती ब्राह्मणको अनुहार रगत चुहिएला जस्तो रातो देखि न्थ्यो । हामी दुवैले दुईहात जोडेर नमस्कार गर्यौ । प्रत्युत्तरमा उनी हात जोडेर हामीतिर आए र फलैंचामा उक्लिए । फलैंचाको कुनामा राडी ओछ्याइएको थियो, भित्तामा बालिष्ठा । उनी अडेस लागेर बसे । “नयाँ माड्साब तपै नै हो ?” बस्नासाथ उनले निर्धक्कसँग आँखा जुधाएर सोधे । “हो”, मैले पनि झन् धक नमानी तीखो आवाजमा जवाफ दिएँ ।

“तपैहरू पढे–लेखेका विद्वान् । म त कालो अक्षर भैंसी बराबर केही जान्दिनँ । स्कूलमा आउनुभा’छ, हाम्रा केटाकेटीलाई राम्ररी सिकाइवरी गर्नु होला । खोई म अरू के भनम् ?” एकछिन् उनी रोकिए । त्यसपछि फेरि भन्न थाले– “हो यौटा कुरा मा म पोख्त छु । त्यो हो– म जुनसुकै मुद्दा पनि जित्न सक्छु । बैसठ्ठी वर्ष भएँ । यो उमेरमा झण्डै तीन दर्जन मुद्दा जितें हुँला । हारेको एउटा पनि इतिहास नै छैन, यो कुरा मा मलाई जित्न यो डाँडामा मात्रै हैन, सिङ्गै नुवाकोटभरि कसैले सक्दैन ।”

यसरी उनी आफ्नो योग्यताको बखान गर्न थाले । उनको कुरा सुनेपछि यसअघि मनमनै मैले गरेको अनुमान भत्कियो । मैले ठानेको थिएँ अध्यक्ष अर्कै ल्याकतका मानिस होलान् । तर उनी हाकाहाकी मुद्दा खेलेको र त्यसमा विजय पाएको कुरा सुनाएरगर्व गरिरहेका थिए । त्यसले मेरो मनमा उनीप्रति अर्कै प्रकारको घृणा र उपेक्षाभाव जन्मायो । बामपन्थी साहित्यमा चित्रण भएका खलनायक जस्तै लागे मलाई उनी । म आत्तिन थालेँ । यस्ता जाली– फटाहाहरूको घरमा म कसरी बस्न सक्छु ?

यस्तो प्रश्नले रन्थनिरहेको बेला दुइटी किशोरीहरू बाहिर निस्के । “लौ माड्साब, मेरी दुई वटी छोरी यिनै हुन् । यिनलाई ट्युसन पढाउनोस् र चलाख पार्नोस् । तपाईंले अरू कुनै फिक्री लिनुपर्दैन ।गोठमा बस्नोस्, हराम्रो भान्सामा खानोस् ।”

यो कुरा केही घण्टाअघि प्रधानाध्यापकले राख्दा म तटस्थ भावमा सुनिरहेको थिएँ, तर अब अध्यक्ष को मुखबाट झ्र्दा यहाँ ठूलै युद्धसर्दारको रवाफ झल्किए झैँ लाग्यो । युद्धसर्दार चिनियाँ क्रान्तिकालीन साहित्यमा धेरै प्रयोग भएको शव्दावली हो । विद्यार्थी हुँदा मैले यस्ता धेरै सामग्रीहरू पढेको थिएँ । चीनका नेता माओत्से तुङका सैनिकहरूले उनीहरूलाई दुश्मन मानेर युद्ध गरेको बिम्व मेरो मस्तिष्कमा छापिएको थियो । तसर्थ अध्यक्ष को अनुहारमा म त्यही विशेषता खोज्न थालेँ । लगातार एकछिनसम्म उनले मात्र बोलिरहे । त्यत्तिकैमा बारीको डिलबाट एउटा धुस्रेफुस्रे युवक आँगनतिर आयो । ऊ माटोमा काम गरेर फर्केको थियो भन्ने कुरा उसको हातको कोदालोबाट स्पष्ट हुन्थ्यो । मैले सोचें, ऊ त्यस घरको कामदार हुनुपर्छ । अथवा गाउँको जमिन्दारको निम्ति काम गर्ने अर्धदास । ऊ आँगनमा आइपुगेपछि निकै रोब झडेर अध्यक्ष ले आदेश दिए– “ए जगन्नाथ, तमाखुहालेर लेरा त !”

ऊ भित्र पस्यो । आँगनमा उभिएर क्वारक्वार्ती हामीलाई हेरिरहेका अध्यक्ष का छोरीहरू पनि गाग्रो बोकेर ओरालो झ्रे । धुस्रेफुस्रे युवकले तमाखुहालेर ल्यायो र सरासर हराम्रो छेउमा आएर बस्यो । त्यसले मलाई अरू बढी बेचैन बनायो । अध्यक्ष को नोकर हामीसँगै फलैंचामा बसेको कुरा पचाउन मलाई निकै गाह्रो परिरहेको थियो । “तान्, तान् अलि सल्का” अध्यक्ष ले भने । ऊ आदेश पालन गर्दै नलीमा मुख जोतेर धुँवा फाल्न थाल्यो

“यो मेरो जेठीपट्टिको छोरो हो । म जस्तै औंठाछाप छ यो । म औंठाछाप भएपनि कुरा बुझछु । कानून बुझछु । प्रजातन्त्र बुझछु । शिक्षा बुझछु तर यो केही बुझदैन । अलि लठेब्रो छ, त्यसैले खेतको काम गर्छ”, उनले भने ।

उनको यो भनाइपछि म भीरबाट खसे झै भएँ । युद्धसर्दारबारे मेरो पूर्वानुमान असफल भयो । जसलाई अध्यक्ष को नोकर सम्झ्रिहेको थिएँ, ऊ त पुत्र रहेछ । “माड्साब तमाखुखानुहुन्छ ?” धेरैपटक तानेर मनग्य धुँवा ओकलिसकेपछि अध्यक्ष ले मतिर हेरेर भने ।

“तपैं बाहुन हो ?” “हो”, मैले भनें । “पूर्वीया कि पश्चिमा ?” “म ढकाल हुँ ।” “ए पूर्वीया पर्नु’भो । तेसो भए हामी हुक्का दिन्नम्” उनले भने ।

जब उनले त्यसो भने, म भित्रको विद्रोहको ज्वालामुखी उम्लियो । अध्यक्ष ले हुक्काको सुमेरुमा अडिएको चिलिम झ्किेपछि मैले भनेँ, “भो भो त्यहीँ राख्नुस्, म तमाखुखान्नँ ।”

“किन ? अघि त खान्छु भन्नुभा होइन ?” फेरि अध्यक्ष ले भने । प्रधानाध्यापक सेढाइचाहिँ यी सबै चर्तिकला तटस्थ भावमा हेरिरहेका छन् झै देखिन्थे ।

“म त्यसरी खानै सक्दिनँ ।” “के गर्नु त माड्साब हराम्रो रितिथिति यस्तै छ । हाम्रा पुर्खाहरूले पूर्वीया उपाध्यायहरूलाई हुक्का समेत नदिनु भनेका छन् ।” यसबेलासम्म मैले निर्णय गरिसकेको थिएँ– म अध्यक्ष को घरमा उनका छोरीहरूलाई पढाएर निःशुल्क खान र बस्न पाउने सुवर्ण अवसरग्रहण गर्न सक्दिनँ । म त क्रान्ति गर्न हिँडेको युवक कसरी यस्तो आदिम व्यवहारसँग सम्झौता गर्नसक्छु ? जब मैले मनभित्र यस्तो निर्णय गरें, त्यसपछि मलाई आफू निकै हलुका भएको अनुभव भयो । “तपाईंको गुन्टा–सुन्टा कहाँ छ त ? यो लठेब्रालाई लिएर जानोस् र बोकाएर ल्याउनुहोस्”, अध्यक्ष ले सरलतापूर्वक भने । “होइन, अहिले नै यसबारे निर्णय नगरौं । म हजुरलाई पछि निर्णय दिन्छु”, मैले भनें । “ठीक छ, तपाईंको जो मर्जी”, उनले भने ।

हामी अध्यक्ष को घरबाट हिँड्दा घाम निक्कै तातो भइसकेको थियो । केही समयसम्म प्रधानाध्यापक केही बोलेनन् । त्यसपछि भने, “तपाईंले किन अहिले निर्णय न गरेको ?”

“किनकि यस्ता मानिसको घरमा बस्न सक्दिनँ म”– मैले बिहानभरी मनमा सङ्ग्रह भएको रिस एकैचोटि पोख्दै भनें ।

“मानिस त खासै नराम्रा होइनन्, यो गाउँका समाज सेवी नै हु न्”, प्रधानाध्यापकले फेरि जोड दिएर भने ।

“भो छाड्नुस सर  !उनी दाङ्मैका भगवान नै भएपनि म उनको घरको भाते हुन चाहन्नँ”, म झन् कड्किएँ । त्यसपछि सेठाइ सर केही बोलेनन् ।

शिक्षक बन्ने मेसोमा त्यो नै मेरो पहिलो रोमाञ्चकारी अनुभव थियो । दाङ्मैको त्यो विद्यालयमा मैले आधा शैक्षिक सत्र मात्र अध्यापन गरें । म २०३८ साल जेठ मसान्तमा विद्यालयको बर्खे बिदा शुरु भएपछि काठमाडौं फर्किएँ । तर त्यसपछि २०४३ सालसम्म पनि म शिक्षण पेशामा रहेँ ।

दाङ्मैको त्यो घटनाको बिम्व, सङ्केत र निहितार्थले आजसम्म पनि मलाई पछ्याइरहेका छन् । विशेष गरी त्यसबखत हाम्रा सामुदायिक विद्यालयका संरचना, सङ्गठन र सत्ता कसरी बनेका हुन्थे भन्ने कुरा को एउटा उदाहरण थियो त्यो घटना । अहिले पनि नेपालकाग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा बाहिरका शिक्षक गएर काम गरिरहेका छन् । उनीहरूको भोगाइ के कस्तो रहेको छ ? विद्यालय सञ्चालन गर्ने विषयमा कति परिवर्तन आयो, म राम्ररी भन्न सक्दिनँ । किनकि म विद्यालयबाट टाढा भएको लगभग दुई दशक भइसकेछ ।

नयाँ ढाँचामा प्रश्नपत्र

भारतमा यस वर्षको कक्षा १० र १२ को परीक्षामा छात्रछात्रालाई नयाँ ढाँचाको प्रश्न सोधिएको छ । १ मार्च देखि भारतभरि लिएको परीक्षामा माध्यमिक शिक्षा केन्द्रीय बोर्ड नयाँदिल्लीले तयार गरेको नयाँ प्रश्नपत्र कार्यान्वयन गरिएको थियो । प्रश्नपत्रको फेरिएको ढाँचाले विद्यार्थीको क्षमताको मूल्याङ्कन तिनको स्मरणशक्तिका आधारमा मात्र नभई कारण खोज्ने, विश्लेषण गर्ने र विषयवस्तुको मूल्याङ्कन गर्ने क्षमतामा आधारित भएर गर्ने छ । बोर्डका अध्यक्ष अशोकगाङ्गुलीले नयाँ प्रश्नपत्रले छात्रछात्राको सोचेर विश्लेषण गर्ने क्षमताको मापन गर्ने अपेक्षा राखेको बताएका थिए । सन् २००५ को राष्ट्रिय पाठ्यक्रम संरचनामा आधारित नयाँ प्रश्नपत्रले विद्यार्थीको तार्किक क्षमताको परीक्षण गर्ने छ ।

नयाँ प्रश्नपत्रमा धेरै छोटा, छोटा र लामा उत्तर आउने प्रश्न समेटिएको छ । नयाँ प्रश्नपत्रको नमुना माध्यमिक शिक्षा केन्द्रीय बोर्डको वेबसाइट (www.cbse.nic.in) मा राखिएको छ । प्रश्नपत्र कक्षा १२ का जीव तथा भौतिक विज्ञान, गणित, शरीर विज्ञान, राजनीतिशास्त्र, इतिहास र अर्थशास्त्र तथा कक्षा १० का भाषा, समाज विज्ञान, विज्ञान र गणित विषयमा कार्यान्वयन गरिएको छ ।

commercial commercial commercial commercial