विद्यार्थी र हामी

अतुल कक्षा-७ को एक औसत छात्र थियो । उसमा राम्रो सुनाइ–सीप अर्थात् उत्सुकता थियो । कक्षागत छलफलमा ऊ सदा हँसिलो मुद्रामा सहभागी बन्थ्यो । तर लेखाइमा भने ऊ अलि ढिलो थियो । त्यसैले कक्षागत स्तरमा पुग्न उसलाई धौ–धौ परेको थियो । ऊ पाँचवटा गृह कार्यहुँदा दुईवटा  र दशवटा हुँदा चारवटा मात्र बुझाउन भ्याउँथ्यो । आत्मविश्वासको कमीले गर्दा ऊ कहिलेकाहीं आफूले गरेका गृह कार्य पनि घरै फिर्ता लैजान्थ्यो ।

एक दिन एक शिक्षकले ‘अतुलले एक दिन पनि गृह कार्य बुझाएन’ भनी नोट लेखेर घरमा पठाए । त्यो नोटले अतुलमा थप नकारात्मक असर पार्‍यो । ‘केही काम त गरेको छु तर किन शिक्षकले एउटा पनि काम गरे न भनेर नोट पठाए’ भनी ऊ सोचमा डुब्यो । यसपछि ऊ अभिभावकसामु थप लज्जित महसूस गर्न थाल्यो । सँगै त्यस्तो नोट लेख्ने शिक्षकलाई झनै मन पराउन छाड्यो । वर्षभरि नै उसको अनुभव राम्रो रहेन । आफूले कक्षामा गर्नु पर्ने न्यूनतम काम के हो र आफू कुन स्तरसम्म पुग्नुपर्ने हो भन्नेमा ऊ अन्योलग्रस्त रह्यो ।

वर्षको अन्त्यमा औसत अङ्क ल्याई अतुल उत्तीर्ण भयो । कक्षा-८ मा उसले आफू अनुकूल वातावरण पायो, समस्यामुक्त भयो । यो सफलतामा शिक्षक र अभिभावकबीचको निरन्तर सम्वादको प्रमुख योगदान रह्यो । त्यसअघि, सम्बद्ध शिक्षक र अतुलबीच आवश्यक सम्वाद हुन नसक्दा, अझ भनौं; शिक्षकले सही ढङ्गबाट कुरा बुझाउन नसकेका कारण समस्या पैदा भएको थियो ।

                                        ...

ललिता कक्षा-६ की छात्रा हुन् । उनलाई शुरूदेखि नै नेपाली विषयमा त्यति रुचि थिएन । यो कुरा थाहा पाएपछि शिक्षकले बोलाएर उनीसँग कुरा गरे । उनमा बच्चैदेखि ‘ए लेभल’भन्दा माथि नेपाली विषय चाहिन्न भन्ने छाप परेको रहेछ । त्यसैले उनी नेपाली लेखपढमा आलटाल गर्थिन् । शिक्षकले नेपाली विषयको महत्व, एसएलसीमा उत्तीर्ण हुनुपर्ने, आफ्नो मातृभाषाको सम्मान गर्नुपर्ने आदि पक्ष सम्झाएपछि उनको सोचाइमा परिवर्तन आउन थाल्यो । भैरव अर्यालका निबन्धहरू पढेर सुनाएपछि त उनी आफैं नेपाली पुस्तक खोज्ने, पुस्तकबारे जानकारी लिने गर्न थालिन् । स्कूलको वार्षिक पत्रिकामा उनको लेख राम्रो ठहरियो ।

                                          ...

माथिका दुई प्रसङ्ग शिक्षकले अलिकति प्रयास गरेमा विद्यार्थीको सोचमा परिवर्तन ल्याउन र उसलाई सुधार्न सकिन्छ भन्ने कुरा का दृष्टान्त हुन् । यथार्थमा शिक्षकले गर्दा नै एउटा विद्यार्थी सप्रन वा बिग्रन सक्छ

विद्यार्थीले आफूलाई मन नपर्ने शिक्षकको निर्देशनको पालना गर्दैनन् । बरु झन बढी विरोध र बद्मासी गर्न थाल्छन् । विद्यार्थीलाई दोष लगाउने, डरत्रास देखाउने, काम बिगार्नेको नाम सबैका अगाडि कालोपाटीमा लेखिदिने, केवल नैतिकताको प्रवचन दिने, विद्यार्थीलाई शक्तिहीन तुल्याउने, विद्यार्थी आफू स्वयम्लाई सच्याउने मौका नदिने, उसका खराब कामको नियन्त्रण गर्न तेस्रो पक्षलाई गुहार्ने र विद्यार्थीलाई बेवास्ता गर्ने शिक्षकले विद्यार्थीको आस्था र विश्वास जित्न सक्दैनन् । शिक्षकका यस्ता व्यवहारबाट विद्यार्थीहरूमा नकारात्मक भाव झन बढाउँछ । यस्ता व्यवहारबाट विद्यार्थी सुध्रिनुको सट्टा बिग्रिने सम्भावना बढी हुन्छ ।

शिक्षकले कक्षामा आफूप्रति सकारात्मक भाव विकसित गर्न सर्वप्रथम, विद्यार्थीलाई ‘उनीहरू कक्षाका महत्वपूर्ण पक्ष या व्यक्ति हुन्’ भन्ने महसूस गराउन सक्नुपर्छ । कक्षामा भय र शङ्कारहित, मानवीय, स्वस्थ र रमाइलो वातावरण कायम गरी पढाउन सक्ने शिक्षकप्रति विद्यार्थीहरू नकारात्मक हुन पाउँदैनन् । हरेक शिक्षकले आफ्ना विद्यार्थीसित बेग्लाबेग्लै सम्बन्ध राखी उसका विचार सुन्ने, उसका बारेमा सोच्ने र उसको आन्तरिक भावनाको स्थितिलाई बुझन सक्नुपर्छ । यसरी बुझन शिक्षकले स्कूलभन्दा कतै बाहिर गएर वा स्कूलभित्र स्कूलकै समयमा वा स्कूलको समयभन्दा अतिरिक्त समयमा भए पनि सम्पर्क राख्ने स्थान र वातावरणको निर्माण गर्नु पर्दछ । विद्यार्थीको व्यक्तिगत आवश्यकता र उसको विशेष परिस्थितिलाई बुझेर शिक्षकले सोहीअनुरूप उससँग सम्बन्ध राख्दा यी दुईबीच अझ दिगो र अर्थपूर्ण सम्बन्ध कायम हुन सक्छ ।

 

बाटो बिराएका वा असमझदारीमाझ पिल्सिरहेका विद्यार्थीहरूलाई सही मार्गमा ल्याउनु शिक्षकको दायित्व हो । तर, यो दायित्व पूरा गर्न सहज छैन । विद्यार्थी किन यस्तो भयो, यसले भनेको किन मानेन, ऊ निरन्तर किन कमजोर हुँदैछ भन्ने कुरा को कारण पत्ता लगाउन सक्नुपर्छ । र, विद्यार्थीको समस्याको उचित ढङ्गले समाधान गर्न सके मात्र शिक्षक त्यस काममा सफल ठहर्छ । व्यवहार नराम्रो भए पनि विद्यार्थी राम्रो र ऊ सुध्रन सक्छ भन्ने कुरा शिक्षकले बुझनुपर्छ । पढाउनु र उनीहरूको लिखित भूलको सुधार गर्नु कठिन काम होइन, कठिन काम त विद्यार्थीको चरित्र निर्माण गर्नु हो ।

विद्यार्थीहरू चलाख हुन्छन् । शिक्षकका गुण वा विशेषताहरूलाई उनीहरूले ध्यानमा राखेका हुन्छन् र महत्व दिन्छन् । शिक्षकमा राम्रा गुण पाएमा उनीहरू शिक्षकलाई श्रद्धा गर्न थाल्छन्, जसबाट उनीहरू र शिक्षकबीचको सम्बन्ध अझ प्रगाढ बन्छ । निष्पक्षता, सम्मान, विनोदको भाव, शिष्टता, व्यक्तित्व, यथार्थ, सक्रिय सुनाइ आदि जस्ता गुणहरू विद्यार्थीले शिक्षकमा पाए भने उनीहरू शिक्षकको अझ नजिक हुन पुग्छन् । शिक्षकले निष्पक्ष भई निर्णय गर्छन् भन्ने छाप विद्यार्थीमा नपरेसम्म उनीहरू शिक्षकलाई मन पराउँदैनन् । सबै परिस्थितिमा स्थिर व्यवहार राख्दै कक्षामा विद्यार्थीहरूको रुचिलाई ध्यान दिई शिक्षकले पाठ्यक्रम–शिक्षणको क्रियाकलाप सित एकीकृत गरी उनीहरूलाई सम्मान गर्न सक्नुपर्छ । कक्षामा आइपर्ने परिस्थितिलाई रमाइलो वातावरण बनाएर विद्यार्थीप्रति नरम हृदय राखेर आफू र उनीहरूलाई हँसाउन खोज्दा विद्यार्थीले अवश्यै मन पराउँछन् ।

शिक्षकले सफासुग्घर र सजिलो लुगामार्फत आफ्नो व्यक्तित्व निखार्नुपर्छ । भड्किलो पोशाकलाई विद्यार्थीले स्वीकार्दैनन् । विद्यार्थीका निम्ति शिक्षक एउटा संवेदनशील व्यक्ति हो । उसले आफ्ना जीवनका व्यक्तिगत रोचक घटना वा अनुभवहरू व्यक्त गर्दा विद्यार्थीले त्यस्ता शिक्षकको प्रशंसा गर्न थाल्छन् । यसबाट शिक्षकप्रति भएका आफ्ना नकारात्मक व्यवहारलाई परिवर्तन गर्नु पर्छ भन्ने भाव उनीहरूमा आउन सक्छ । विद्यार्थीहरूले भनेको विषयमा आफ्नो टिप्पणी वा सुझाव दिँदा आफ्नो कुरा ‘शिक्षकले राम्ररी सुनिदिनुभएको रहेछ’ भन्ने विद्यार्थीलाई लाग्छ ।


शिक्षक–विद्यार्थी एकअर्काका परिपूरक हुन् । यसैले शिक्षक–विद्यार्थीबीच जित–जितको भावना विकसित हुनुपर्छ; न कि जित–हारको । पृथ्वीझैं क्षमाशील भएन भने मान्छे कहिल्यै सफल शिक्षक बन्न सक्दैन ।

विद्यार्थीलाई विद्यालय वा कक्षाका नियमहरूको पालना गर्ने, सामग्रीको सही रूपमा प्रयोग गरी तिनलाई उचित ठाउँमा राख्ने, आन्तरिकरूपले अभिप्रेरित हुने, सिकाइका चुनौतीहरू लिन सक्ने, नयाँ कुराहरू गर्ने प्रयास गर्ने, आफ्ना समस्यालाई रचनात्मक तरिकाले समाधान गर्ने जस्तागुणहरूको विकास गराउने पनि शिक्षककै दायित्व हो । वास्तवमा कक्षाकोठा एउटा समुदाय हो । यसलाई समुदायकै रूपमा विकसित गरेर लैजानु अपरिहार्य हुन्छ । उदाहरणका लागि, हामीले कक्षाकोठाका लागि बनाएको ‘जब चार्ट’, कक्षाको मनिटर छान्न गरिने चुनाव आदि पनि समुदायमै गरिने प्रक्रियाहरू हुन् । यसो गर्दा विद्यार्थीमा सानै देखि आफ्नो जिम्मेवारी वहन गर्ने बानी तथा प्रजातान्त्रिक अभ्यास को अनुभूति हुन थाल्छ ।

शिक्षकले प्रतिपल विद्यार्थीलाई जिम्मेवारी वहनका निम्ति प्रोत्साहित गरिरहनु पर्दछ । विद्यार्थीलाई सकारात्मक सुझाव दिनु शिक्षकको पहिलो कर्तव्य हो । शिक्षकले सदा एकनासको व्यवहार गर्नु पर्छ । विद्यार्थीले निर्णय गर्न सक्छ भन्ने कुरा को विश्वास शिक्षकले गर्नु पर्छ । शिक्षक स्वयम्ले निर्णय नलिई उनीहरूलाई नै निर्णय गर्न प्रोत्साहित गर्नु पर्छ । विद्यार्थीलाई स्वतन्त्र भई काम गर्न अग्रसर गराई उत्प्रे रित गर्नु पर्छ । शिक्षक जहिले पनि सकारात्मक रूपमा प्रस्तुत हुनुपर्छ । शिक्षक एकरत्ति पनि कञ्जुस नभई प्रशंसामुखी र स्याब्बासी दिने खालको हुनुपर्छ । आफ्ना आवश्यकता जस्तै विद्यार्थीका आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छन् भन्ने कुरा शिक्षकले बुझनुपर्छ । विद्यार्थीले यदि कुनै भूल गर्छन् भने त्यसको जिम्मेवारी विद्यार्थी स्वयम्लाई दिने प्रयास गर्नु पर्छ । जस्तै, कुनै विद्यार्थीले पुस्तकालयको किताब ल्याउन बिर्सेको भए, त्यो उसले गर्दा नै भएको हो भन्ने कुरा को विश्वास विद्यार्थीलाई दिलाउनु जरूरी  हुन्छ ।

शिक्षक–विद्यार्थी एकअर्काका परिपूरक हुन् । यसैले शिक्षक–विद्यार्थीबीच जित–जितको भावना विकसित हुनुपर्छ; न कि जित–हारको । दुवैको आचरण एकअर्कालाई होच्याउने नभई एकअर्काको सम्मान गर्ने हुनुपर्छ । पृथ्वीझैं क्षमाशील भएन भने मान्छे कहिल्यै सफल शिक्षक बन्न सक्दैन । अनेक प्रकारका आँधीबेहरी, भूकम्प, बाढी, पहिरो आदि चोट सही जसरी पृथ्वी अटल बनी आफूलाई धैर्यशाली कहलाउन सफल छिन्, त्यसरी नै शिक्षक पनि यी माथिका गुणहरूलाई पचाएर आफ्नो अस्मिता कायम राखी एक सफल शिक्षक बन्न लायक हुन्छ । सानातिना कुरा मा भावुक बन्ने, विचलित हुने, रिसको आवेगमा आउने तथा अल्छी हुने हो भने त्यस शिक्षकले एकातिर आफ्ना विद्यार्थीलाई सही मार्गदर्शन गर्न सक्दैन ।

ओझा रातो बङ्गला स्कूलका शिक्षक हुन् ।

शिक्षक  मासिक, २०६५ असोज अंकमा प्रकाशित । 


commercial commercial commercial commercial