बालापन र शिक्षक

बालबालिकाहरू बोल्न सक्ने भएपछि कम रुन थाल्छन् । आँसुको भाषाको ठाउँ बोलीको भाषाले लिन थाल्छ । वेदना ज्यादै तीब्र भएर शब्दमा प्रकट गर्न नसकिने भयो भने मात्र उनीहरू रुन्छन् । नानीहरू लडे भने वा उनीहरूलाई सानोतिनो चोटपटक लाग्यो भने पनि हामी अत्तालिन्छौं ।। बडो चिन्तित भएर, माया देखाउँदै उसलाई फुल्याउनपट्टि लाग्छौं । हाम्रो त्यस्तो व्यवहारबाट उसले आफूलाई नराम्रोसँग चोट लागेको रहेछ भन्ने ठान्दछ । तर सामान्य घटनामा केही वास्ता गरिएन भने ऊ आफैं चुप लाग्छ । घाउ दुख्न छाडेपछि उसले आफ्नो घाउ निको भएको ठान्दछ । पीडा सहनु अत्यन्त लाभदायक शिक्षा हो ।

बच्चाहरू जुन कुरा आफैं सिक्न सक्छन्, त्यो कुरा उनीहरूलाई आफैं सिक्न दिनुपर्छ । उनीहरूलाई बन्द कोठामा राख्नुभन्दा खुला चौरमा छोडिनु बेस हुन्छ । त्यसो गर्दा दगुर्न, लड्न र उठ्न झन् छिटो सिक्छन् । स्वतन्त्रताको आनन्दमा अलिअलि कोरिएको, दर्फर्‍याएको वा चोट लागेको कुरा बिर्सिन्छन् । सानोतिनो चोटपटक लाग्दा पनि उनीहरू हाँसीखुसी रहन्छन् । तर स्वतन्त्रताविहीन बालबालिका विवश, विरक्त र प्रायः विफल हुन्छन् । बालबालिकाको बल जतिजति बढ्दै जान्छ आँसुको आवश्यकता उतिउति कम हुँदै जान्छ । उनीहरू धेरै कुरा आफैं गर्न सक्ने र अरूको मद्दत कम चाहने हुन्छन् । बलका साथै बुद्धिको पनि उपयोग गर्न थाल्छन् । बच्चालाई आत्मचेतना हुने बेला यही हो ।

शिक्षाले बालबालिकालाई अनिश्चित भविष्यको सुखको लोभ देखाएर उनीहरूको वर्तमान को सुख र स्वतन्त्रता खोस्नुहुँदैन । उनीहरूलाई हाँसो, खुसी, आनन्द र खेलमा रमाउन दिनुपर्दछ । शैशवावस्था चाँडै बितेर जान्छ । त्यो फेरि फर्केर आउँदैन । त्यसैले त्यो उमेरलाई दुः खले भरिदिनुहुँदैन । जीवजातिमा मनुष्यको स्थान सर्वोच्च छ । मनुष्यको जीवनमा शैशवावस्थाको स्थान पनि ज्यादै महत्वपूर्ण छ । मानिसलाई मानिस जस्तै व्यवहार गर्नु पर्छ । हरेक व्यक्तिलाई उपयुक्त स्थान दिनुपर्छ । मद र मोहलाई वशमा राख्नुपर्छ । कुनै पनि व्यक्तिको कल्याणका लागि हामीले गर्न सक्ने यत्ति हो । बाँकी कुरा त्यस्तो शक्तिमा निर्भर गर्दछ, जो हाम्रो नियन्त्रणमा हुँदैन ।

शिक्षाले बालबालिका के चाहन्छन् त्यो दिने होइन, उनीहरूलाई के चाहिन्छ त्यो दिनुपर्दछ । प्रकृतिले आफ्नै तरिकाले शिशुको विकास गरिरहेको हुन्छ । जस्तो, उनीहरूले दौडन खोजेका बेला चुपचाप बस्न लगाउनुहुँदैन । उनीहरूलाई मन ला गुन्जेलसम्म कराउन, दौडन र उफ्रन दिनुपर्दछ । यस्ता सबै गतिविधि उनीहरूको शरीरको बल वृद्धिका निमित्त प्रेरणा हुन् । बच्चामा कुनै कुरा रोएर पाइन्छ भन्ने भावनाको विकास हुनै दिनुहुँदैन र उनीहरूलाई साँच्चिकै आवश्यक परेको कुरा छ भने त्यो चाहिं तुरुन्त दिनुपर्छ । धेरै नाइनास्ती गर्नु हुँदैन । तर उसलाई आवश्यक नभएको कुरा दिनुहुँदैन र एकचोटि इन्कार गरे पछि फेरि मन बदल्नुहुँदैन । यसो गर्ने बानी नभएपछि उनीहरूलाई जायज माग गर्ने बानी बस्छ ।


शिक्षाले बालबालिकालाई अनिश्चित भविष्यको सुखको लोभ देखाएर उनीहरूको वर्तमानको सुख र स्वतन्त्रता खोस्नु हुँदैन । उनीहरूलाई हाँसो, खुसी, आनन्द र खेलमा रमाउन दिनुपर्दछ । शैशवावस्था चाँडै बितेर जान्छ । त्यो फेरि फर्केर आउँदैन । 

प्रकृतिले पूर्ण मानिस हुनुभन्दा अघि सबैलाई बालक नै राख्दछ । हामीले यो क्रमलाई उल्ट्याउन खोज्यौं भने हामीले वृद्ध बालक पाउनेछौं ।  बालबालिकाको हेर्ने, विचार गर्ने , थाहा पाउने आफ्नै तरिका हुन्छ । त्यो तरिका बदल्न खोज्नु सबैभन्दा ठूलो मूख्र्याइँ हो । दश वर्षको बच्चामा परिपक्व विचार आओस् भन्ने चाहनु ऊ एकैपटक पाँच फिट अग्लो होओस् भन्ने चाहनु जस्तै हो ।

बालबालिकालाई घोक्ने पाठ दिनुहुँदैन । उसलाई अनुभवद्वारा प्राप्त हुने शिक्षा मात्र दिनुपर्दछ । उनीहरूलाई सजाय गर्नु हुँदैन किनभने उनीहरूले जानाजान गल्ती गरेका हुँदैनन् । उनीहरूलाई माफी मगाउनु पनि हुँदैन किनभने बिराम गर्न तिनले जानेकै हुँदैनन् । उनीहरूका काम विवेकहीन होलान् तर उनीहरू अनैतिक काम कहिल्यै गर्दैनन् ।

यदि बालबालिकाले जन्मँदै तर्कशक्ति लिएर आउने भएका भए, हालको शिक्षा उनीहरूका लागि सुहाउँदो हुनेथियो । तर प्राकृतिक बुद्धिलाई अर्कै किसिमको तालिम जरुरत पर्छ । मान सिक शक्तिको विकास नहुन्जेलसम्म मनलाई शान्त छाडिदिनुपर्छ । आँखा देख्ने नहुन्जेल कसैले पनि प्रकाश देख्न सक्दैन । त्यसकारण शैशवावस्थाको शिक्षा केवल निषेधात्मक हुनुपर्दछ । यो धर्म र सत्य सिकाउने उमेर होइन, मनलाई भूल गर्ने भावना र पापबाट बचाइराख्ने मात्र हो । बाह्र वर्षसम्म बच्चालाई अनुसरण गर्न सक्ने, सबल र स्वस्थ बनाए मात्र पुग्छ । शिक्षाको प्रारम्भ त्यसपछि गरे हुन्छ । बच्चालाई विद्वान् मानिस बनाउन खोज्ने हालको चलन उल्टाइदिनुपर्छ । मानिसहरू बच्चालाई विद्वान् बनाउन चाहन्छन् । त्यसनिम्ति बच्चालाई सानै देखि हप्काउन, दप्काउन, सुधार्न, तर्साउन, फुस्ल्याउन थाल्छन् । तर उनीहरू यस्ता कुरामा हतार गरियो भन्ने कुरा कहिल्यै विचार गर्दैनन् ।

विवेकी बनौं, वादविवाद नगरौं ।  जुन कुरा बच्चालाई निको लाग्दैन, त्यस कुरामा उसलाई मञ्जुर गराउने प्रयास नगरौं । उसको मनलाई यथाशक्य निष्क्रिय राख्नुपर्छ । उनीहरूको बालापनमा थिचोमिचो गर्नु हुँदैन । बालबालिकालाई प्रकृति अनुसारको शिक्षा दिनुपर्छ । शिक्षा सधैं प्रयोगात्मक हुनुपर्दछ, शब्दमा मात्र आधारित होइन । आफूले भनेको र सुनेको कुरा बच्चाहरू चाँडै बिर्सन्छन् । तर जुन काम उनीहरूले गरेर वा नजिकबाट हेरेर सिकेका हुन्छन्, उनीहरूले त्यो कहिल्यै पनि बिर्सदैनन् ।

यो कुरा स्पष्ट पार्न भूगोलको उदाहरण लिऊँ । नक्शा देखाएर शिक्षकले विद्यार्थीलाई संसार कस्तो छ भन्नेबारेमा सिकाएँ भन्ने ठान्दछ । तर त्यो पढाइमा विद्यार्थीले मान चित्र हेर्न मात्र सिकेको हुन्छ । पढाइएका मुलुक, शहर र नदीका नामको अस्तित्व उसका लागि किताबमा बाहेक अन्त कहीं पनि हुँदैन । मैले एउटा भूगोलको पुस्तक पढेको थिएँ जसमा भूगोल भनेको कार्डबोर्डद्वारा निर्मितगोलो वस्तु भनिएको थियो । दश वर्षभन्दा कम उमेरको बच्चालाई दुई वर्षसम्म भूगोल सिकाएर उसलाई आफूले पढेको नियमका आधारमा एउटा शहरदेखि अर्को शहरसम्म जाऊ भनियो भने, म ठोकुवा गरेर भन्न सक्छु, एक जना पनि त्यहाँ पुग्न सक्दैन । त्यसै गरी इतिहास घटनाहरूको सङ्ग्रह मात्र हो । बालबालिकाहरूले यस्तो कुरा बुझन सक्छन् भन्ने सोचेर उनीहरूलाई इतिहास पढाउनु हास्यास्पद कुरा हो ।

बालबालिकाले आफ्नो मनमा धेरै कुरा राख्न सक्छन् भन्नुको अर्थ उनीहरूले राजाहरूका नाम, साल, मिति, उनीहरूका वंशावली, भूगोल र मान चित्रलाई दिमागमा राख्न सक्छन् भनेको होइन । जुन कुरा वर्तमान का लागि काम लाग्दैनन् ती कुरा भविष्यका निम्ति पनि उपयोगी हुँदैनन् । त्यस्ता कुरा सिकाउनु को कुनै अर्थ छैन । वास्तवमा हिजोआज पुस्तकहरू बच्चाहरूका लागि दुः खका स्रोत बनेका छन् । शिक्षकहरू आदेश जारी गर्द छन् । उनीहरू आफूलाई मालिक ठान्छन् । तर वास्तविक मालिक त बालबालिका हुन् । शिक्षकले बालबालिकाका विचार बुझनुभन्दा छिटो बालबालिकाले शिक्षकका विचार बुझदछन् ।

बच्चाहरूलाई उनीहरूका मस्तिष्कलाई निष्क्रिय नतुल्याइकन उचित शारीरिक अभ्यास मा संलग्न गराउनु पर्दछ । बच्चाहरू सक्रिय रहने हुनाले उनीहरूलाई प्रशस्त निद्राको जरुरत पर्दछ । रात भनेको आराम गर्नका लागि प्रकृतिले छुट्याएको समय हो । सूर्यास्त भएपछि मीठो र गहिरो निद्रा लाग्छ । यो प्रकृतिको नियम हो । विशेष आवश्यकता परयो भने मात्र यो नियम भङ्ग गर्नु पर्दछ । आन्तरिक प्रेरणाबाट मानिसमा विभिन्न प्रकारका शक्ति जागृत हुन्छन् । शारीरिक फूर्तिले शारीरिक विकास खोज्दछ । त्यसपछि मान सिक फूर्ति आउँछ र त्यसले ज्ञान खोज्दछ । बालबालिका पहिले चञ्चल हुन्छन् त्यसपछि उत्सुक हुन्छन् । यो उत्सुकता जागृत राम्ररी भएको छ भने यो त्यसले उमेर अनुसारको विकास लाई पनि मद्दत गर्छ ।

विद्यार्थीहरूलाई प्रकृति र वस्तुहरूको प्राकृतिक स्वरूपलाई विचार पूर्वक हेर्न सिकायो भने उनीहरूमा चाँडै नै उत्सुकता जागेर आउँछ । तर उत्सुकता सन्तुष्ट गराउन हतार गर्नु हुँदैन । उनीहरूका अगाडि समस्या राख्नुपर्छ । त्यसको समाधान उनीहरू आफैं गरून् । शुरुमै उनीहरूलाई विज्ञान सिकाउनु हुँदैन । आफूलाई चासो लागेको कुरा ऊ आफैंले पत्ता लगाउने प्रयासगरोस् । तर्कको ठाउँमा हैकम चलाइयो भने उसले तर्क गर्न छाड्छ । ऊ अरू मानिसका विचारको खेलौना बन्छ ।

बच्चाले बुझन नसक्ने कुरा उसलाई कहिल्यै पनि भन्नुहुँदैन । कुनै खास वस्तु देखाउन सम्भव छ भने त्यसको नमुना देखाउनुहुँदैन । त्यसो गर्‍यो भने बच्चाको ध्यान नमुनातिर लाग्छ । उसले सक्कली कुरा बिर्सन्छ ।

भूगोलको पढाइ उसको गाउँको घर र उसको शहरबाट शुरु हुनुपर्छ । त्यसपछि तिनीहरूका बीचका ठाउँ, तिनीहरूका नजिकका नदी, त्यसपछि सूर्यकोरूप, आकार, छवि आदि र यसका मद्दतले आफ्नो बाटो थाहा पाउने विषयका बारेमा पढाउनु पर्छ । उसले आफ्नै मान चित्र बनाओस् । पहिला एक/दुई ठाउँ मात्र राखेर साधारण मान चित्र बनाओस् । तिनीहरूको दूरी थाहा पाउने भएपछि अरू कुराहरू थप्न सक्छ । उसले आफ्ना गल्ती आफैं  सच्याओस् । जुन बच्चाले कहिल्यै भूल गर्दैन, उसले कुनै पनि कुरा पूरा सिक्दैन । उसलाई ठाउँको ठीकठीक ज्ञान चाहिएको होइन, त्यो ज्ञान हासिल गर्ने तरिका चाहिएको हो ।

उमेर पुगेका मानिसले धेरै कुरा जान्नुपर्दछ, जुन बच्चाका लागि निरर्थक हुन्छ । मानिसले जान्नुपर्ने सबै कुरा बच्चाले सिक्न सक्छ भन्ने छैन । जुन कुरा बच्चाका लागि उपयोगी हुन्छ, त्यो कुरा बच्चालाई सिकाउने प्रयत्न गर्नु पर्दछ । उसलाई वर्तमान का आवश्यकता पूरा गर्ने कुरा सिकाउनु पर्छ । कुनै पनि बच्चालाई उमेर अगावै कुनै कुरा सिकाउनु असम्भव कुरा हो । किनभने बालबालिकाका अनुभव र उमङ्ग नै सच्चा गुरु हुन् ।

प्रसिद्ध फ्रेन्च दार्शनिक रुस्सोको सन् १७६२ मा प्रकाशित कृति एमिल बाट ।

प्रस्तुतिः गुरु मैनाली

शिक्षक  मासिक, २०६६ वैशाख अंकमा प्रकाशित । 


commercial commercial commercial commercial