एसएलसीः प्रश्नपत्रै गलत

धेरैलाई कठिन लाग्ने अनिवार्य गणित विषयको प्रश्नपत्रमा १६ अङ्कभारका पाँच गल्ती फेला परे । त्रुटिपूर्ण प्रश्नका कारण एसएलसीका परीक्षार्थीले गल्ती प्रश्नको समाधान खोज्न धेरै समय खर्चिनु पर्दा तिनलाई सही प्रश्नका समाधान लेख्न समय अभाव भएको थियो । गणितको प्रश्न १ को ख, २ को क, ९ को क र ११ त्रुटिपूर्ण थिए । प्रश्न नम्बर ११ मा चाहिँ चित्र समेत गल्ती दिइएको थियो । उक्त प्रश्नको पाँच पटक हल गर्दा समेत समाधान नमिलेपछि निकै आत्तिएका थिए– एसओएस परीक्षा केन्द्र भक्तपुरबाट एसएलसी जाँच दिइरहेका छात्र विवेक खरेल । यसले उनको धेरै समय लिएको थियो । गल्ती प्रश्नहरू सुगमका परीक्षा केन्द्रमा सच्याइए पनि दुर्गममा भने सच्याउन भ्याइएको थिएन ।

उता ऐच्छिक गणितको पनि प्रश्न नम्बर १७गलत थियो । गणित शिक्षक तथा ललितपुरका अगुवा स्रोत व्यक्ति सत्यनारायण महर्जन उक्त प्रश्नको समाधान नै नभएको बताउँछन् । पहिलो दिनको अनिवार्य अङ्ग्रेजीको प्रश्नपत्रमा हिज्जेगलत दिइएकोले परीक्षार्थीमा अन्योल सृजना भएको थियो । तथापि परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष र अङ्ग्रेजी शिक्षकहरूले उक्त त्रुटिको समाधान निकालेका थिए ।

अनिवार्य सामाजिक अध्ययनको प्रश्नपत्र पनि त्रुटिरहित रहेन । प्रश्न नम्बर पाँच, १३ र १९ को नेपाली प्रश्नको अङ्ग्रेजी अनुवाद गल्ती रहेकोले एउटै प्रश्नको फरक फरक उत्तर आउने अवस्था उत्पन्न भएको थियो भने प्रश्न नम्बर ११ को चित्र स्पष्ट थिएन । प्रश्न नम्बर २४ को अङ्कभार १० हुनुपर्नेमा ९ जोड १ बराबर ९ नै उल्लेख गरिएको छ । यता अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षामा प्रश्न नम्बर ६, ९ र १० मा गल्ती फेला परेको छ । प्रश्न ९ मा फुकेनास रोगको कारण सोधिएको छ । जबकि फुकेनासको सट्टा सुकेनास हुनुपर्दथ्यो ।

यता, संस्कृत विद्यालयका छात्रछात्राका लागि सोधिएको अनिवार्य र ऐच्छिक संस्कृत विषयको प्रश्नपत्र गल्ती भएको संस्कृत शिक्षक दीपक नेपाल बताउँछन् । उनका अनुसार ऐच्छिक संस्कृतमा १७ वटा गल्ती भेटिएको छ । जसले ३३ अङ्कभार व्यहोर्छ । सात वटा गल्ती फेला परेको अनिवार्य संस्कृतको चाहिँ प्रश्न नम्बर ४ को ख, प्रश्न नम्बर १३ र १९ त्रुटिपूर्ण रहे । संस्कृतका परीक्षार्थी उद्धवराज भट्टराई भन्छन्, “यति धेरै गल्ती प्रश्न सोधिएला भन्ने सोचेकै थिएनौं ।” संस्कृतको विशिष्टीकरण तालिकासँग मेल नखाने प्रश्न समेत सोधिएकोले परीक्षार्थी समस्यामा परेका थिए । ऐच्छिक अर्थशास्त्रको प्रश्न नम्बर २ र कम्प्युटर विषयको प्रश्न नम्बर २ र ११गलत थिए । यस वर्षको एसएलसीका प्रश्नपत्रमध्ये अनिवार्य विज्ञान र नेपालीका प्रश्न मात्र सही थिए ।

गल्ती स्वीकार
त्रुटिपूर्ण प्रश्नपत्रका लागि जिम्मेवार परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक वीरेन्द्र कुमार झले एसएलसीका प्रश्नपत्रमा रहेको त्रुटि स्वीकार गरेका छन् । उनले प्रश्न तयार गर्ने व्यक्ति, प्रेस र मोडुलेटरका कारण प्रश्नपत्रमा गम्भीर त्रुटि भएको बताए । झले प्रश्नपत्रमा भएका गल्तीको सजाय छात्रछात्रालाई नदिइने पनि जनाए । उनको कथन छ, “हराम्रो गल्तीको मार विद्यार्थीमा पर्न दिँदैनौं, सबै विद्यार्थीलाई गल्ती प्रश्नको अङ्क दिन्छौं ।” १८ चैतमा बसेको एसएलसी बोर्डको बैठकलेगलत प्रश्नपत्रका कारण छात्रछात्रालाई परेको अन्यायलाई सम्बोधन गर्ने गरी अङ्क दिने निर्णय गरेको छ । उक्त बैठकमा गलत प्रश्नपत्र तयार गर्ने व्यक्तिलाई कारबाही गर्ने वा न गर्ने बारेमा भने कुनै छलफल नभएको नियन्त्रक झ बताउँछन् ।

ललितपुरका अगुवा स्रोतव्यक्ति महर्जन चाहिँ प्रश्नपत्रको त्रुटिका कारण छात्रछात्राले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएको बताउँछन् । उनका अनुसारगलत प्रश्नको उत्तर लेखे वा नलेखे पनि सबै परीक्षार्थीलाई ती प्रश्न बराबरको अङ्क दिइनुपर्छ । मौजुदा परीक्षा प्रणालीमा रहेको फितलोपनका कारण यसको अर्थ र औचित्यमै प्रश्नचिन्ह खडा भइरहेको बेला प्रश्नपत्रमै त्रुटि फेला परेपछि प्रश्नपत्रको विश्वसनीयतामा समेत शङ्का उत्पन्न भएको छ ।     

सुरेश चालिसे/एनपीआई

commercial commercial commercial commercial