शिक्षक, गुरु र वास्तविक गुरु

पहिले–पहिले गुरुको जे–जति मान –सम्मान , गरिमा, उपादेयता र महत्व थियो आजकाल त्यो पाउन छाडिएको छ । गुरुको अर्थ र महिमा नबुझदा यसले बुझाउने अर्थ र परिभाषा अहिले सीमित र सङ्कीर्ण बन्दै गएको हामी पाउँछौं । संस्कृत वाङ्मयमा गुरुको अति नै महत्वगानगाइएको छ । संस्कृत भाषाको पहुँच सर्वसामान्यको लागि सरल हुँदा गुरुकोगुणगान सर्वत्र देख्न जहाँ पाइन्थ्यो, त्यहीं हिजोआज संस्कृतको महत्व र उपादेयतालाई अन्यान्य भाषाहरूले उछिन्दै जानाले तथा बाह्य संस्कृतिको प्रभाव विद्यालय, कलेज र विश्वविद्यालयमा मात्र नभई सर्वत्र बढ्दै जानाले गुरुको महत्व र अर्थ पनि धूमिल हुँदै गएको छ । ‘ गुरु’ शब्दको सट्टामा ‘सर’, ‘शिक्षक’, ‘टिचर’, ‘प्राध्यापक’ आदि शब्दहरूले ठाउँ लिएको देख्छौं । संस्कृत भाषामा गुरु भन्नासाथै (१) शिक्षा दिने (२) दीक्षा दिने र (३) मार्गदर्शन गर्ने व्यक्तिलाई बुझउँछ । हिजोआज गुरु भनेको कि त संस्कृतका केही शिक्षकलाई कि त धर्म–अध्यात्म क्षेत्रका मार्गदर्शक व्यक्तिलाई बुझाउने शब्दको रूपमा सीमित बन्न पुगेको छ ।

नेपाली भाषामा चाहिँ हिजोआज ‘ गुरु’ शब्दलाई यति भ्रष्ट तुल्याउन थाल्यौं कि सार्वजनिक यातायात चलाउने होस् कि कार चलाउने चालक तिनलाई ‘ गुरु’ भनेर सम्बोधन गर्ने परिपाटीले प्रोत्साहन पाएको छ । परिणामतः गुरुको गरिमा, महत्व र उपादेयता नामेट हुने दिशामा अग्रसर हुँदै गइरहेको छ । गुरुको गरिमा र महिमालाई पुनरुत्थान गर्न समग्र रूपमा सबैले सोच्नुपर्ने बेला आएको चाहिँ स्मरणीय छ । यहाँ संस्कृत वाङ्मयमा गुरुलाई के–कसरी हेरिएको रहेछ त्यो जान्नु सान्दर्भिक नै होला । गुरुगीता मा भनिएको छ–

गुशब्दस्तत्वन्धकारेस्याद् रुशब्दस्तन्निरोधके ।
अन्धकारनिरोधित्वाद् गुरुरित्यभिधीयते ।।

अर्थात्, ‘गु’ शब्दको अर्थ ‘अन्धकार’ र ‘रु’ शब्दको अर्थ त्यसको निरोध या विनाश गरिदिने व्यक्ति हुन्छ । यसप्रकार अन्धकारको निरोधक भएको ले त्यो ‘ गुरु’ पदबाट वाच्य छ ।
तन्त्रसार मा बताइएको छ–

गकारः सिद्धितः प्रोक्तो रेफः पापस्य हारकः ।
उकारो विष्णुव्यक्तस्त्रितयात्मागुः परः ।।

अर्थात्, ‘ग’ अक्षर सिद्धिदायक बताइएको छ र ‘र’ पापको हरण गर्ने वाला छ । ‘उ’ अव्यक्त विष्णु हो । यसप्रकार तीन शब्दले बनेको ‘ गुरु’ शब्द परम गुरुको वाचक छ । कुलार्णवतन्त्र मा गुरुका ६ भेद बताइएको छ– प्रेरक, सूचक, वाचक, दर्शक, शिक्षक र बोधक । अन्यत्र शिक्षा गुरु र दीक्षा गुरुको उल्लेख पाइन्छ । गुरु शब्दको व्युत्पति गर्दैै जाँदा एक ठाउँमा भनिएको छ–गुं= हृदयान्धकारम् रावयति= दूरीकरोतीति गुरु अर्थात् जो हृदयको अज्ञानरुपी अन्धकारलाई हटाइदिन्छ उही नै गुरु हो ।
संस्कृत वाङ्मयमा गुरुको बखान गर्ने क्रममा कतिसम्म भनिएको छ हेरौं–

गुरुब्र्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरुर्साक्षात् परब्रह्म तस्मैश्री गुरुवे नमः ।।

अर्थात्, गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, गुरु नै महेश्वर पनि । गुरु साक्षात् परब्रह्मस्वरुप भएको ले गुरुलाई वन्दना गर्छु भन्ने भाव यसमा पाइन्छ ।

यी सबै उद्धरणहरूबाट के स्पष्ट हुन्छ भने हरेक मनुष्यको जीवनमा गुरुको अत्यधिक स्थान र महत्व रहेको हुन्छ । तर, त्यसलाई कति मात्रामा हामीले स्वीकारेका हुन्छौं त्यो भने मननीय छ । जीवनभर हामी कोही न कोहीबाट केही न केही सिकेरै बसेका हुन्छौं । चाहँदा नचाहँदै पनि सिकिरहेका हुन्छौं । दत्तात्रयका चौबीस गुरु त संस्कृत वाङ्मयमा प्रसिद्धै छन् । आमा कसैको लागि पनि पहिलो गुरु हुन्छिन् । आमाबाटै बालकले धेरै कुरा सिक्छन् । संस्कारको हस्तान्तरण पहिले आमाबाटै बच्चामा हुन्छ । यसैले त भनिने गरिएको हो कि ‘एकजना आमा शिक्षित वा ज्ञानवान् भइन् भने परिवार र समाज मा धेरै जनाको उद्धार हुन्छ ।’ आमापछि बुबा, अग्रज र त्यसपछि मात्रै शिक्षक, गुरुको पालो आउँछ ।

शिक्षक र गुरु शब्द हेर्दा उस्तै–उस्तै लाग्ने भए पनि त्यसभित्र अन्तर्निहित अर्थ भने विल्कुलै भिन्न पाउँछौं । शिक्षक पेशा हो भने गुरु पेशा होइन । यसैले शिक्षक बाहिरी शिक्षा वा भौतिकतासँग धेरै सामीप्य राख्छ भने गुरु अन्तरहृदय र धर्म–अध्यात्मसँग सरोकार राख्ने हुन्छ । शिक्षक कुनै निश्चित समय, काल, बेला, ‘पिरियड’ र तलब वा पारिश्रमिक या भत्तासँग पनि सम्बन्ध राख्ने हुन्छ । जबकि गुरुमा तिनको अभाव हुन्छ वा हुने अपेक्षा राखिएको हुन्छ । स्वार्थभन्दा माथि उठेको हुन्छ गुरुको आनीबानी, लक्षण र विशेषता । यसैले पनि हो कि नेपाली परम्परामा गुरुलाई चिठीपत्रहरूमा ‘श्री ६’ ले सम्बोधन गर्ने परम्परा विगत केही वर्ष अगाडि सम्म पनि व्यापक थियो । आधुनिक शिक्षाको जति–जति पकड र प्रगति हुँदैछ, त्यति–त्यति गुरुको महत्व र महिमामा कमी आउँदै गएको अनुभव हुन्छ ।

सच्चा गुरुले मिथ्याबोधलाई नष्ट गरेर हामीलाई जीवनको परमलक्ष्यको मार्गदर्शन गरिदिन्छन् । सुगति के हो ? कुगति के हो ? पाप के हो ? पुण्य के हो ? धर्म के हो ? अधर्म के हो ? गर्नु हुने के हो ? गर्न नहुने के हो ? ठीक के हो ? बेठीक के हो ? कर्तव्य के हो ? अकर्तव्य के हो ? गुरुले त्यसको भलिभाँती ज्ञान दिन्छन् र अन्तरात्मातिर , ईश्वरको प्राप्तिको बाटोतिर , भगवत–दर्शनको मार्गतिर , प्राणीमात्रको हिततिर लाग्न सदैव प्रेरित गर्छन् । कुनै व्यक्तिगत लाभको लागि, अर्थ प्राप्तिको लागि नभई निष्काम भावले जसले आफूसहित अरूलाई जीवनरुपी डुङ्गा पार गर्न मार्गदर्शन गर्छन् वा गर्न सक्छन् उनैलाई सच्चा गुरु भन्न सकिन्छ । त्यस देखि बाहेकका त नामधारी गुरु हुन् भनिदिँदा फरक पर्दैन । आजकाल नामधारी गुरु धेरै पाउन सकिन्छ, कोही जटाले गुरु बन्न खोजेका हुन्छन्, कोही तिलक चन्दनले, कोही वस्त्र परिधानले, कोही शास्त्रको सुगारटाइले, कोही आलिसान आश्रम र भौतिक सम्पन्नताले गुरु पद ओगटेर बसेको देख्न नपाइने होइन । जबकि गुरुको तिनीहरूसँग कुनै सम्बन्ध रहेको हुँदैन । शिष्यको सन्तापलाई हर्ने सद् गुरुदेव पाउन कठिन मात्रै होइन अत्यन्त गाह्रो छ ।

‘ गुरु’ गुरुत्वसँग सम्बन्ध राख्ने हुन्छ न कि प्रमाणपत्र, जात, वर्ण आदि वाह्य र सतही विषयसँग । गुरुत्वको प्राप्तिमा आफ्नो जीवनलाई अर्पण गर्ने , ईश्वरलाई , धर्मलाई , मनुष्यत्वलाई राम्ररी जाने–बुझेका, समाज , राष्ट्र र विश्वमा असल कुरा हरू– अहिंसा, दया, माया, करुणा, न्याय, अनुशासन, सुख, शान्ति र आनन्दको माध्यमबाट ‘वसुधैव कुटुम्वकम्’, ‘आत्मवत् सर्वभूतेषु’, ‘मानव ा वान्धवा सर्वे’ जस्ता सर्वकल्याणकारी उदार, विशाल र विस्तृत उदात्त भावनाको सञ्चारमा समर्पित व्यक्तित्व नै यथार्थतामा गुरु बन्न योग्य हुन्छन्, लायक हुन्छन् । बोली र कुरा ले होइन; मन, वचन, कर्मका साथै आचरण र व्यवहारले साँचो रूपमा उपर्युक्त मार्गमा जो समर्पित छ उही वास्तवमा ‘ गुरु’ भन्न लायक र श्रद्धेय हुन्छ ।

शिक्षक गुरु बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्न सक्छ । यो स्वाभाविक पनि हो । गुरु जो कोही बन्न सक्छ तर निष्ठासाथ आफ्नो जीवनलाई सद्मार्गमा, परमार्थपथमा, अध्यात्मको मार्गमा, प्राणी मात्रको हितमा जसले जीवनलाई लगाएर आफू, परिवार, समाज , राष्ट्र र विश्वको हित हुने कार्यमा जीवनलाई समर्पित गरेको छ, त्यस्तो व्यक्ति नै गुरुत्वले भरिपूर्ण भएका महान् व्यक्तिहरू हुन् । हुन पनि गुरु प्रकाशक, मार्गदर्शक र उद्धारक हो । गुरु त्यस्तो सशक्त आधार हो जसद्वारा आध्यात्मिक शक्ति जन–जनमा पुग्न सक्छ । शिक्षा जसले पनि दिनसक्छ किन्तु शिष्यको लागि केवल गुरुले मात्रै आध्यात्मिक शक्तिको सञ्चार प्रदान गर्न सक्छ । जसबाट शिष्यको आध्यात्मिक वा भनौं आत्मिक उन्नति सम्भव छ । गुरु प्रकाशक, मार्गदर्शक, उद्धारक भए पनि पाखण्डी, व्यभिचारी, धूर्त गुरुहरूबाट चाहिँ बच्नुपर्छ । जसमा ‘बाँच र बाँच्न देऊ’ को महान् भावना छ, सात्विकता छ, महानता, विशालता छ, उदारता छ, सबैलाई समान रूपले ज्ञान, खुसी बाँड्न सक्ने क्षमता छ,गुण छ त्यही व्यक्तिमा ‘ गुरुत्व’ हुन्छ र त्यस्तै व्यक्ति महान् कहलिन लायक हुन्छन् ।

गुरुपूर्णिमाको अवसरमा सम्मान गर्दैमा र सम्मान पाउँदैमा गुरु भनिने र होइने नभई तीगुणहरू कसरी आफ्नो व्यवहारमा ल्याउने हो त्यो महत्वपूर्ण छ । आजको भौतिकवादलेग्रस्त समयमा गुरुत्वले भरिपूर्ण सच्चा गुरुहरूको आवश्यकता पहिलेभन्दा झन् बढी हुँदै गएको छ । आफ्नो आचरण, मर्यादा र अनुशासनमा रहने गुरुहरूबाटै विद्यार्थी वा शिष्यहरूको वा अनुयायीहरूको भविष्य कस्तो हुने भन्ने निर्धारण हुने हो ।

commercial commercial commercial commercial