रिटायर्ड बट नट टायड

जिन्दगीभर पढाइरहुँ जस्तो लाग्छ !

  • २०४९ सालमा ज्ञानोदय माविको प्रधानाध्यापक पदबाट सेवा निवृत्त भएका ट्यौड, ढोकाबहाल, काठमाडौंका रेवरत्न बज्राचार्य अहिले आफूले खोलेकोग्रीन फिल्ड नेशनल स्कूलका प्रिन्सिपल छन् । १५ वर्षको उमेर देखि शुरु गरेको शिक्षण पेशा र व्यवसायबाट अझै धीत नमरेको उनको कथन छ ।
  • २०६४ सालमा लमजुङको धमिली कुवास्थित शैलपुत्री उच्च माविको प्राचार्य पदबाट सेवा निवृत्त भएपछि मातृकाप्रसाद खनाल आफ्नै गाउँ तीनपिप्ले (लमजुङ)को उच्च माविमा अध्यापनरत छन् । “आफूले छोडे पनि समाज को आवश्यकताले नछोडेका कारण जीवनपर्यन्त पढाइरहने उनको अठोट छ ।
  • हर्कराज चोङ्गवाङ्ग २०५६ सालमा ६० वर्ष उमेर पुगेर ताप्लेजुङको साँघुस्थित नारायणी निमाविको प्रअ पदबाट सेवा निवृत्त भए । अहिले उनी गाउँकै नारायणी उमाविको शैक्षिक विकास मा जुटेका छन् ।

चोङ्गवाङ्ग, खनाल र बज्राचार्य जस्तै हजारौं शिक्षकहरू उमेरको कानूनी हद पुगेका कारण सरकारी सेवाबाट निवृत्त भए पनि उनीहरूमध्ये धेरैमा पढाउने सीप र जाँगर घटेको पाइँदैन । परिणामतः थुप्रै अवकाश प्राप्त शिक्षकहरू अर्को वा आफ्नै शिक्षालय खोलेर पढाइरहेका भेटिन्छन् । यस्तै शिक्षकका कारण पनि गाउँ–शहरमा निजी विद्यालयहरू थपिएको पाइन्छ । सेवा निवृत्त शिक्षकहरू प्राथमिक देखि उच्च माध्यमिक तहसम्म नै अध्यापनरत भेटिन्छन् ।

विद्यालयस्तर का शिक्षकले २०३५ साल देखि पेन्सन अर्थात् निवृत्तिभरण पाउने व्यवस्था भएको हो । शिक्षक किताबखानाको अभिलेख अनुसारगत आर्थिक वर्षसम्म १४ हजार ६५० शिक्षकहरूले निवृत्तिभरण प्राप्त गरेका थिए । त्यसमध्ये प्राथमिकस्तर का ९,६३७, निमाविस्तर का २,२९६ र माविस्तर का २,७१७ जना छन् ।

प्रायः सेवानिवृत्त शिक्षकहरू बाँकी जीवन केमा खर्च गर्छन् अथवा कसरी बिताउँछन् भन्ने सम्बन्धमा नेपालमा कुनै अध्ययन भएको पाइँदैन । तथापि, त्यस्ता अधिकांश शिक्षकहरू सम्भव भएसम्म शिक्षण कार्यमै संलग्न हुन चाहने र भइरहेको भेटिन्छ । प्रायः निवृत्त शिक्षकहरूले प्राथमिक तह देखि उच्च माध्यमिक तहसम्मका निजी विद्यालय सञ्चालन गरेको पाइन्छ ।

शिक्षित समाज को सृजना गर्न आफ्नो आधा जीवन खर्च गरेका शिक्षकहरूको अवकाशप्राप्त जीवनलाई पनि नयाँ शिक्षक, स्कूल र सिङ्गो समाज झन् उपयोगी बनाउन सकिन्छ भन्ने कुरा उनीहरूको फुर्सदिलो जीवनचर्याको अध्ययनबाट खुल्छ । यथार्थमा एउटा शिक्षक कहिल्यै ‘रिटायर्ड’ नहुने सधैँको शिक्षक देखिन्छ ।

‘स्कूल नगई चित्तै बुझदैन’

जो शिक्षक आफ्नो पेशाको मर्यादा राख्न जान्दैन वा पेशाप्रति इमान्दार छैन उसले तुरुन्त यो पेशा छाडेर जानुपर्छ । त्यसले उसको र समाज दुवैको भलो गर्छ । किनभने उसले बूढो भएपछि शिक्षक बनेर ठगी गरें भनेर पछुताउन पर्दैन अनि केटाकेटीले पनि रराम्रो शिक्षकबाट पढ्ने मौका पाउँछन् ।

म २०१९ साल वैशाख २६ गते भक्तपुर जिल्लाको नवदुर्गास्थानमा रहेको सरस्वती विद्या गृह माविको शिक्षक बनेर सोही विद्यालयको प्रधानाध्यापक भएर २०५४ सालमा सेवा निवृत्त भएँ । तर, पढाउने काम पूरै छोडेको भने छैन ।

म आफ्नो आनन्दका लागि अहिले भक्तपुरकै राम मन्दिरमा रहेको शान्ति निकेतन माविमा आंशिक अध्यापन गरिरहेको छु । पढाउन जान्छु । स्कूल नगई चित्तै बुझदैन । यसअघि भक्तपुरकै सूर्योदय माविमा पनि पढाएँ । मानिस जीवनको उतराद्र्धमा समाज सेवा एवं परोपकार कार्यतर्फ बढी आकर्षित हुन्छन् । म पनि त्यसमा विश्वास गर्छु । म नेपाल बाल सङ्गठन, नेपाल स्काउट भक्तपुरमा पनि संलग्न छु ।

अहिले सबैभन्दा खट्किने कुरा , आजका धेरैजसो शिक्षकहरूमा शिक्षण कार्यप्रति लगावको कमी देखिन्छ । शिक्षकहरूलाई आफ्नो पेशाप्रति समेत लगाव छैन । फलस्वरुप दिनानुदिन शैक्षिक स्तर खस्किँदै गइरहेको छ । सरकार र नागरिक दुवैले यसतर्फ ध्यान दिनुपर्ने देख्छु । अरू भन्दा पनि बढी संवेदनशील हुने र आफूलाई अझ् रराम्रोसित कर्म क्षेत्रमा खरो उतार्ने काम शिक्षकहरूको हो । जो शिक्षक आफ्नो पेशाको मर्यादा राख्न जान्दैन वा पेशाप्रति इमान्दार छैन उसले तुरुन्त यो पेशा छाडेर जानुपर्छ । त्यसले उसको र समाज दुवैको भलो गर्छ । किनभने उसले बूढो भएपछि शिक्षक बनेर ठगी गरें भनेर पछुताउन पर्दैन अनि केटाकेटीले पनि रराम्रो शिक्षकबाट पढ्ने मौका पाउँछन् ।

पहिला शिक्षा क्षेत्रमा थोरै पैसाले धेरै काम हुन्थ्यो । अहिले धेरै पैसाले थोरै काम हुन्छ । मेरो शिक्षण पेशाको लामो अनुभवको निचोड हो यो ।

शारदाभक्त मधिकर्मी
कटुञ्जे–८, भक्तपुर

‘जे गरियो राम्रै गरिएछ’

हामी बुढ्यौलीका शिक्षकहरू माझ्ँिदै गएका हुन्छौं र हराम्रो बोली र व्यवहार दुवैमा परिपक्वता आएको हुन्छ । तसर्थ वृद्ध तथा सेवा निवृत्त शिक्षकहरूको परिपक्वता र अनुभव शिक्षा क्षेत्रको लागि उपयोगी हुन सक्छ । यो कुरा मा सरकारले पनि ध्यान दिन उपयुक्त ठान्दछु ।

११ वर्ष अगाडि साँखु, काठमाडौंको कालिका रत्न माध्यमिक विद्यालयबाट राजपत्राङ्कित द्वितीय श्रेणीको शिक्षक पदबाट सेवा निवृत्त भएपछि प्याराडाइज इङ्गलिस बोर्डिङ्ग स्कूलको प्रमुख सल्लाहकार भएर काम गर्न थालेँ । यस बाहेक युनेस्कोको सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूमा पनि संलग्न रहेँ । नेपाल कुष्ठ रोग निवारण संघ, जेष्ठ नागरिक समाज र नेपाल काउन्सिल अफ एफेयर्स लगायतका संस्थाहरूमा सक्रियताका साथ काम गर्दै आइरहेको छु । यसै गरी शान्ति बालिका छात्रावास मण्डिखाटार, काठमाडौं र कार्लगेराल ब्वाइज होस्टेल बाल कल्याण उपसमितिको अध्यक्ष छु । तर, मेरा धेरैजसो गतिविधिहरू अध्यापनसँगै जोडिएका छन् । सेवा निवृत्त भएर पनि शिक्षा क्षेत्रमै क्रियाशील हुन पाएकोमा मलाई आत्मसन्तुष्टि मिलेको छ ।
राज्यले हामी शिक्षकहरूका लागि उमेर र अध्यापनको हद तोकेका कारण हामी शिक्षकहरू ६० वर्ष नपुग्दै सेवा निवृत्त हुने गर्छौं । तर, एउटा शिक्षकले शुरु को अवस्थामा गरेको अध्यापन र बुढ्यौलीमा गरेको अध्यापनको गुणस्तर धेरै फरक हुँदोरहेछ । हामी बुढ्यौलीका शिक्षकहरू माझ्ँिदै गएका हुन्छौं र हराम्रो बोली र व्यवहार दुवैमा परिपक्वता आएको हुन्छ । तसर्थ वृद्ध तथा सेवा निवृत्त शिक्षकहरूको परिपक्वता र अनुभव शिक्षा क्षेत्रको लागि उपयोगी हुन सक्छ । यो कुरा मा सरकारले पनि ध्यान दिन उपयुक्त ठान्दछु ।

म शुरु मा २०१२ सालमा काठमाडौं, ठहिँटीस्थित शान्ति शिक्षा मन्दिरमा शिक्षक पदमा नियुक्त भएर २०१३ सालमा कामु हेडमास्टर बनेँ । २०१४ सालमा पोखराको मालनेपाटनस्थित श्री बाराही पब्लिक हाईस्कूलको संस्थापक हेडमास्टर भएँ । त्यहाँ २०२७ सालसम्म अध्यापन गरे पश्चात् विन्देश्वरी रात्रि पाठशाला, त्रिभुवन आदर्श आवासीय माध्यमिक विद्यालय हुँदै कालिका रत्न माविमा पुगेर सेवा निवृत्त भएँ ।

आफ्नो ४० वर्ष लामो शिक्षा–सेवा मैले इमान्दार र लगनशील भएर बिताएँ । विद्यार्थीलाई स्तरीय शिक्षा दिनका लागि आफूले समर्पित गरेका ती दिनहरू सम्झ्ँदा आज पनि बडो आनन्दको अनुभव हुन्छ । आफ्ना विद्यार्थी ठूलो मान्छे बनेको देख्दागर्व महसूस हुन्छ ।

ध्रुवबहादुर श्रेष्ठ
गल्कुपाखा, काठमाडौं

शिक्षकले सधैं पढिरहनु पर्छ

शिक्षक सेवाकालीन हुन् कि सेवा निवृत्त; धेरैजसो घरायसी काममै अल्मलिन्छन् । तर, म भने पढ्न र पढाउनमा समय खर्चन्छु । एउटा शिक्षकले पढ्ने पढाउने क्रम कहिल्यै टुटाउनुहुदैन भन्ने मेरो धारणा हो ।

अहिले मेरो समाज शास्त्र एमए दोस्रो वर्षको परीक्षा सकियो । शिक्षक पेशाबाट सेवा निवृत्त भएपछि को सबैभन्दा ठूलो उपलब्धि यही हो । ७० वर्षको उमेरमा पढ्दाको मजा बेग्लै हुँदोरहेछ । धेरैलाई अनौठो लाग्न सक्छ । तर, मेरो विचार मा पढ्ने र पढाउने कुरा लाई उमेरले छेक्दैन । मैले पढाएका विद्यार्थी एमए, पीएचडी गर्न सक्छन् भने मैले फुर्सद पाएर पढ्दा किन नहुने भनेर म ढुक्कैसँग पढ्न थालेको हुँ । मैले ३० वर्ष शिक्षक भएर बिताएँ । २०५६ साल वैशाख ६ गते ६० वर्ष उमेर पुगेपछि म सेवा निवृत्त भएको हुँ ।

२०२६ साल माघ २ गते ताप्लेजुङको साँघुस्थित नारायणी निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा मेरो नियुक्ति भएको थियो । अहिले उक्त विद्यालय उमावि भइसकेको छ र म त्यस विद्यालयको सल्लाहकार संरक्षक छु । स्कूलको नाममा १ सय ९२ रोपनी किपट जग्गा नामसारी गराउन पनि सफल भइसकेको छु ।

शिक्षकहरू सेवा निवृत्त हुँदैमा हात बाँधेर बस्नुपर्दैन । जति सक्दो क्रियाशील रहनु पर्छ र समाज लाई बढीभन्दा बढी सेवा दिनुपर्छ भन्ने मेरो विचार छ । त्यसैले गाउँ समाज मा विकास निर्माण गराउने उद्देश्यले २०५९ सालसम्मगुफा साँघु मोटर सडक निर्माण समितिको अध्यक्ष भएर काम गरें । अहिले उक्त सडक निर्माणाधीन छ ।

यसबाहेक अहिले मेरो धेरै समय किराँत साहित्य लेखन र प्रकाशनमा लगाएको छु । २०६३ सालमा मङ्गोल किराँतहरूको उत्पत्ति नामक पुस्तक प्रकाशित गरें र किराँत सन्ततिहरूको शोधग्रन्थ अहिले प्रकाशनको क्रममा छ । शिक्षक सेवाकालीन हुन् कि सेवा निवृत्त धेरैजसो घरायसी काममै अल्मलिन्छन् । तर, म भने पढ्न र पढाउनमा समय खर्चन्छु । एउटा शिक्षकले पढ्ने पढाउने क्रम कहिल्यै टुटाउनुहुँदैन भन्ने मेरो धारणा हो ।

२०६०–६१ सालमा शिक्षा विभागअन्तर्गत माध्यमिक विद्यालय सहयोग कार्यक्रमको विशेषज्ञ भएर पनि काम गरें । २०६१ सालमा डानिडाको सहयोगमा सञ्चालित स्कूल सर्वेक्षण कार्यक्रमको फिल्ड सुपरभाइजर भएर काभे्रपलाञ्चोकमा एक वर्ष काम गरें । यस्ता बहुआयामिक क्रियाकलाप ले मलाई सन्तोष दिन्छ । तर, अवकाश भएँ भनेर घर बसेको भए मेरा यी सबै उपलब्धिहरू शून्य हुन्थ्यो ।

हर्कराज चोङ्गवाङ्ग
साँघु–४, सायङ्गबाहाङ्ग पाटी, ताप्लेजुङ

आनन्द नै उपलब्धि

२०१८ सालमा म बाग्लुङ जिल्लाको विद्या मन्दिर हाईस्कूलवाट अध्यापन प्रारम्भ गरेर विभिन्न विद्यालयहरू हुँदै २०२५ सालमा आदर्श बहुमुखी हाईस्कूल सानोठिमी पुगेँ । २०३१ सालमा त्यस विद्यालयको निमित्त हेडमास्टर र २०३४ सालमा हेडमास्टर बनेँ । मैले अध्यापन शुरु गर्दा मेरो मासिक तलब रु.२५० थियो । अहिले त मेरो निवृत्तिभरण नै रु.१०,९०६ हुन्छ । त्यस हिसाबले पनि विगतको भन्दा अहिले शिक्षकहरूको सेवासुविधामा निकै सुधार भएको छ । तर, सरकारी विद्यालयको पढाइको स्तर मा भने सुधार हुनसकेको छैन । सार्वजनिक विद्यालयका प्रत्येक शिक्षकले गहिरोसित चिन्तन गर्नु पर्ने कुरा हो यो ।

हो, हाम्रा सार्वजनिक स्कूलमा प्रशस्तै समस्या छन् । तर, एउटा शिक्षकलाई रराम्रोसित पढाउन कसैले पनि रोकेको छैन । आफ्नो तर्फबाट सक्ने जति काम न गरेर अन्ततिर समस्या देखाउने प्रवृत्ति हावी हुन गएकाले यस्तो भएको हो । यो  शिक्षकको नैतिक समस्या हो । विद्यार्थीलाई नैतिक शिक्षा पढाउने शिक्षक आफैं नैतिकवान् भएन भने त्यो समाज र राष्ट्रमा नैतिकपतन मानिसहरूको भीड लाग्छ । समाज वा राष्ट्रको बागडोर शिक्षकको हातमा छ भनिनुको मूल कारण पनि यही हो । त्यसकारण म आजका शिक्षक साथीहरूलाई अनुरोध गर्छु कि शिक्षकको जिम्मेवारी काँधमा लिइसकेपछि त्यो काम उत्तम तरिकाले सम्पन्न गर्न प्रयत्नगरौं । सकिँदैन जस्तो लाग्छ भने शिक्षण पेशा छाडेरै अर्कै पेशा अपनाऔं !

 नेपाली सिनेजगतका नायक भुवन केसी, व्यापारी विनोद चौधरी र वसन्त चौधरी, सर्वोच्च अदालतका न्यायाधीश मनोहर श्रेष्ठ आदि आ–आफ्ना क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरू मैले पढाएका विद्यार्थीमध्येका हुन् । सेवा निवृत्त भइसकेपछि एकपटक एउटा मुद्दाको सिलसिलामा सर्वोच्च अदालत पुग्दा न्यायाधीश श्रेष्ठले आफूलाई पढाएको शिक्षक भनेर मलाई स्मरण गराउँदै धेरै आदर सम्मान गरे । त्यतिबेला म निकैगौरवान्वित भएँ । एउटा शिक्षक हुनुको सबभन्दा ठूलो उपलब्धि र आनन्द त्यही हो ।
म २०५४ सालमा शिक्षण सेवाबाट निवृत्त भए देखि आदर्श बहुमुखी क्याम्पसमा पढाउँदैछु । ७३ वर्षको यो उमेरमा पढाइरहँदा जीवन रराम्रो काममा खर्चिएको महसूस हुन्छ । म आफ्नो जीवनबाट एकदम सन्तुष्ट छु ।

रामविन्दु श्रेष्ठ
ठिमी, भक्तपुर

समाज ले सम्मान दिएको छ

७० वर्षको उमेरमा पनि नपढाए पनि विद्यालय व्यवस्थापनमा सक्रिय छु । आफूले जीवनको लामो समय अध्यापन गरेको प्रभात मावि व्यवस्थापन समितिको अध्यक्ष रहनु को साथै काठमाडौं मोडेल स्कूलको व्यवस्थापन समितिको सदस्य समेत रहेर काम गरिरहेको छु ।

अहिले मेरो पेन्सन प्रतिमहिना रु.११ हजार छ । तर, जतिबेला म अध्यापन पेशामा लागेँ त्यतिबेला मेरो तलबमान जम्माजम्मी तीन रुपैयाँ थियो । अहिले सम्झ्ँदा कुनै युगको कथा जस्तै लाग्दछ ।

काठमाडौँको नघल श्री घः बिहारमा सञ्चालित प्रभात प्राथमिक विद्यालयमा २०१४ सालमा शिक्षक पदमा मेरो नियुक्ति भयो । त्यतिबेला शिक्षक बन्नु निकै रराम्रो मानिन्थ्यो । शिक्षक समाज को सम्मानित व्यक्तित्वमागनिन्थ्यो ।

२०१५ सालमा मेरो स्कूल निम्न माध्यमिक विद्यालय बन्यो र २०२० सालमा म त्यस विद्यालयको हेडमास्टर भएँ । २०३० सालमा मेरो स्कूल माध्यमिक विद्यालय भयो र म माविको हेडमास्टर । यसप्रकार ४० वर्षसम्म एउटै विद्यालयमा शिक्षक भएर बित्यो । २०५४ सालमा सेवानिवृत्त भएँ । तर, शिक्षण पेशा छोड्ने मनै थिएन । फलस्वरुप थप एक वर्ष र दुई वर्ष गरी तीन वर्षसम्म सोही विद्यालयमा शिक्षक भएर बसेँ ।

त्यसपछि २०६० सालसम्म काठमाडौं बहुमुखी क्याम्पसमा अध्यापन गरें । मेरो उमेर ७० वर्ष पुग्यो । अहिले कक्षाकोठामै गएर नपढाए पनि विद्यालय व्यवस्थापनमा सक्रिय रहेको छु । आफूले जीवनको लामो समय अध्यापन गरेको प्रभात मावि व्यवस्थापन समितिको अध्यक्ष रहनु को साथै काठमाडौं मोडेल स्कूलको व्यवस्थापन समितिको सदस्य समेत रहेर काम गरिरहेको छु । अहिले मलाई समाज ले धेरै आदर र सम्मान दिइरहेको छ । आफ्नो काम इमान्दारी र लगनशीलतापूर्वक गरेको कारणले होला, आफ्नो कामबाट म आफू पनि सन्तुष्ट छु ।

नातीकाजी महर्जन
नयाँबजार, काठमाडौं

‘बाँचुञ्जेल पढाइरहन सकूँ’

सानै देखि पढाउन थालेकोले होला शिक्षण व्यवसायले आकर्षित गरिनै रह्यो र अवकाश भएर दिन बिताउन गाह्रो भयो । त्यसैले फेरि शिक्षण पेशामै फर्किएँ ।

उमेरले भर्खरै तन्नेरी प्रवेश गर्दै थिएँ । त्यसबेला शिक्षाकै अभाव थियो । पढ्ने र पढाउने स्कूलहरू नै थिएन । पढेलेखेका मानिसहरू एकादुई भेटिन्थे । २००४ सालमा म जस्तै स्थानीय मानिसहरू मिलेर काठमाडौंको नघल श्री घः बिहारमा प्रभात प्राथमिक विद्यालय सञ्चालन गर्ने जमर्को गर्यौ । त्यतिबेला म १५ वर्षको थिएँ । संस्थापक पनि भएको ले त्यस विद्यालयमा स्वयम्सेवक शिक्षकको रूपमा स्थापित भएँ ।

२०१९ सालमा पर्वत जिल्लाको फलेबास, खानी गाउँमा जिल्लाकै पहिलो माध्यमिक विद्यालय भवानी विद्यापीठको हेडमास्टर भएँ । २०२४ सालमा काठमाडौं फर्किएर विश्व निकेतन माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक भएँ । २०३३ सालमा सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक र २०३६ सालमा ज्ञानोदय माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर २०४९ सालमा सेवा निवृत्त भइयो ।

सानै देखि पढाउन थालेकोले होला शिक्षण व्यवसायले आकर्षित गरिनै रह्यो र अवकाश भएर दिन बिताउन गाह्रो भयो । त्यसैले फेरि शिक्षण पेशामै फर्किएँ । २०५४ सालमाग्रीनफिल्ड नेशनल स्कूल शुरु गरियो । हाल सोही स्कूलको प्रिन्सिपल भएर काम गर्दैछु ।

आज सेवा निवृत्त भएको अवस्थामा पनि हजारौं विद्यार्थीलाई पढाएर शिक्षण पेशाबाट सन्तोष लिएको छु । उमेरको उत्तराद्र्धमा आएर शिक्षण पेशामा मात्र बाँधिएर बस्न मन लागेन र समाज का अन्य गतिविधिमा पनि सरिक हुन थालेँ । अहिले म सोलिडारिटी अफ स्काउटर्स एसोसियसन, नेपाल परम्परागत बौद्ध धर्म संघ आदि संस्थाहरूमा पनि आबद्ध भएर काम गर्दैछु । अहिले मेरो उमेर ७७ वर्ष भयो । यस हिसाबले अध्यापनमा मात्रै ६ दशक बित्यो । अझै पनि शिक्षा पेशाबाट धीत मरेको छैन । शरीरले साथ दिएसम्म  शिक्षणमै सेवारत रहन चाहन्छु । शिक्षक भनेको जागिर पकाउनको लागि होइन एउटा शिक्षित समाज निर्माण गर्न हो । त्यसैले शिक्षकलाई समाज को पथप्रदर्शक भनेका हुन् । अझ् मेरो विचार मा त सेवा नै धर्म हो र भविष्य उज्ज्वल बनाउने शिक्षा सेवा गर्नु ठूलो धर्म हो । त्यसैले म आजीवन शिक्षक हुन मन पराउँछु ।

रेवरत्न बज्राचार्य
ट्यौड, ढोकाबहाल, काठमाडौं

व्यापार डुबेपछि फेरि शिक्षणमै

व्यापारले मलाई साथ दिएन । शायद कला जीवन हो भनेको त्यही नै होला । आफूसँग जुन कला छ, त्यसैमा बाँच्न सक्नुपर्छ । मैले व्यापार व्यवसाय शुरु गरेर भूल गरेको महसूस भयो र म पुनः शिक्षण व्यवसायमा फर्किएँ ।

२०२६ सालमा ललितपुरको ठैवस्थित आफ्नै गाउँमा फूलचोकी प्राथमिक विद्यालयकोे प्रधानाध्यापकबाट अध्यापनको काम शुरु गर्दा मेरो मासिक तलब ४५ रुपैयाँ थियो । त्यतिबेला सरकारी जागिर गर्न सजिलो थियो । तर, देशमा पञ्चायती शासनको विरुद्ध हुने राजनीतिक गतिविधिमा मेरो झुकाव रहेकोले सरकारी जागिर खानु उचित लागेन र शिक्षण पेशा रोजेँ । २०३० सालमा फूलचोकी प्राथमिक विद्यालय निमावि बन्यो र म त्यसको प्रधानाध्यापक भएँ ।

२०३६ सालमा जनमत सङ्ग्रहताका सरस्वती निम्न माध्यमिक विद्यालय लेलेमा मेरो सरुवा भयो । २०४६ सालमा कृष्ण माध्यमिक विद्यालय धापाखेल र २०५१ सालमा हरिसद्धि माध्यमिक विद्यालयमा सरुवा भएर सेवा निवृत्त भएँ । मैले काम गरेका स्कूल राम्रा छन् । विगतलाई फर्केर हेर्दा मैले राम्रै गरे छु भन्ने लागेको छ ।

२०५१ सालमा शिक्षक पदबाट सेवा निवृत्त भएपछि व्यापार व्यवसाय शुरु गरें । नेपाल आयल निगमको डिलर लिएँ । नेपाल खाद्य संस्थानको सुपथ मूल्य पसल खोलेँ । साल्ट ट्रेडिङ लिमिटेड, नेशनल ट्रेडिङ लिमिटेड, नेपाल दुग्ध विकास संस्थान आदि ६ वटा संस्थाको डिलर बनेँ । तर, व्यापारले मलाई साथ दिएन । शायद कला जीवन हो भनेको त्यही नै होला । आफूसँग जुन कला छ, त्यसैमा बाँच्न सक्नुपर्छ । मैले व्यापार/व्यवसाय शुरु गरेर भूल गरेको महसूस भयो र म पुनः शिक्षण व्यवसायमा फर्किएँ । अहिले मैले ललितपुरमा बङ्गलामुखी क्याम्पस र फूलचोकी प्राइभेट माध्यमिक विद्यालय सञ्चालन गरिरहेको छु । ७

ईश्वरबहादुर श्रेष्ठ
प्रिन्सिपल, बङ्गलामुखी क्याम्पस, ललितपुर

commercial commercial commercial commercial