शिक्षकमै सन्तुष्ट
शिक्षक भएर केही गुमाइनँ । अलिकति आँखा बेलामा जँचाउन पाएको भए केही हुन्थ्यो कि भन्ने लाग्छ तर त्यतिबेला त्यसो गर्न पनि पैसा त थिएन नि ! गुमाएको तुलनामा पाएको कता हो कता बढी छ । मित्रता, सम्मान र सद्भाव त्यत्तिकै पाएको छु । म एक शिक्षककै रूपमा सन्तुष्ट छु ।
एउटा शिक्षकको सुयोग्यताको पहिलो सूचक होः ऊसँग केटाकेटी झयाम्मिनु । मुगुको सदरमुकाम गमगढीको एउटा स्कूलको प्राङ्गणमा सुन्ने शक्तिबाट वञ्चित बालबालिकाहरू एकजना व्यक्तिको वरिपरि झ्ुम्मिएर चलेको देख्दा मलाई ती व्यक्ति शिक्षक होलान् जस्तो लागेको थिएन । पछि थाहा भयो उनी महाकाली उच्च माध्यमिक विद्यालयका विशेष–शिक्षा शिक्षक रहेछन् । वैशाख–जेठ महिनाको सुख्खा मौसममा गमगढीबाट राराताल पुग्दा जस्तै आनन्द प्राप्त भयो १० जना बहिरा केटाकेटी र उनका शिक्षक–अभिभावक बुद्धिनाथ तिवारीलाई भेट्दा । पहिलो भेटेको साढे दुई वर्षपछि मात्र सम्भव भयो यी शिक्षकको व्यक्तित्व भित्र पस्न ।
कास्कीको बेगनासमा २०२५ सालमा जन्मिएका बुद्धिनाथ सानैमा टुहुरा भएका थिए । मावलीले उनलाई एसएलसी भन्दा बढी पढाउन सकेनन् । उनका मावलीलाई त्यति बेलादेखि अहिलेसम्म मुगुमै पढाइरहेकी छिमेकी काकी इन्द्रकुमारीले मुगुमा शिक्षक बनाउन सल्लाह दिइन् । त्यतिखेर उनी २० वर्षका मात्र थिए । उनी सुर्खेतबाट ६ दिन हिँडेर २०४५ सालको साउन ३ गते गमगढी पुगे । उनी सम्झ्न्छन्, “आठ जना शिक्षक चाहिएको रहेछ, जाँच दिने थियौँ २१ जना ।” उनको नाम चौथो नम्बरमा निस्कियो ।
शुरुमा बुद्धिनाथलाई यति धेरै समय मुगु बस्छु जस्तो लागेको थिएन । एकदुई वर्षमा पढाइ खर्च निकालेपछि फर्कने विचार थियो । तर उनी यतै बसे । २० वर्षको शिक्षक जीवनमा उनले जिल्लाका ७÷८ वटा स्कूल चहारिसकेका छन् । वैवाहिक सम्बन्धमा पैदा भएको उतारचढावले गर्दा शहर फर्केर थप अध्ययन गर्ने उनको सपना साकार हुन सकेन । उनी विना ग्लानि भन्छन्, “मेरो पहिलो बिहे २०४० सालमा भएको थियो । तर त्यो अनमेल थियो ।” पछि २०४७ सालमा मञ्जु पौडेलसँग उनको दोस्रो बिहा भयो । अहिले उनका सिर्जना र अजय गरी दुई सन्तान छन् ।
गमगढीमै बसेर उनले अङ्ग्रेजीमा बीएड र नेपालीमा एमए गरिसकेका छन् । उनी भन्छन्, “२०४९ सालमा प्राथमिक शिक्षकको तालिमका लागि सोरुबाट गमगढी आएको थिएँ । महाकाली मा.वि. त्यतिबेला भर्खरै उच्च मा.वि. भएको थियो । तालिम अवधिभर दिउँसो तालिम र बिहान ११ कक्षामा पढ्न थालेँ ।” शिक्षक तालिमका निम्ति आएका बेलायती स्वयंसेवक म्यागी र स्यालीसँगको सङ्गतले अङ्ग्रेजी राम्रो बनाउन पाए । त्यसैले गर्दा अङ्ग्रेजीमा बीएड गर्ने आँट पलायो । तर एम.ए. चाहिँ अङ्ग्रेजीमा गर्ने आँट आएन । त्यसैले २०५७ सालमा नेपालीमा एमए गरे । उनको पढाइमा मुगुका विद्यार्थीले मूल्य तिर्नु परेको भए पनि एउटा समर्पित शिक्षक भएर उनले त्यो ऋण राम्रैसँग चुक्ता गरेका छन् ।
यस बीचमा कर्णालीमा धेरै फेरबदल आएको छ । यसै वर्षदेखि मुगुमा रारा शिक्षा क्याम्पस स्थापना भएको छ जहाँ उनी आंशिक शिक्षक छन् । तीन वर्षपछि प्रावि द्वितीय तहको स्थायी जागिरबाट स्वेच्छिक अवकाश लिएर क्याम्पसमा पूर्णकालीन शिक्षक हुने उनको इच्छा छ । “तर यहाँ राम्रो बन्दोबस्त नगरी यी बहिरा केटाकेटीहरूलाई म चटक्क छाड्दिनँ’, उनी भन्छन् । सकेसम्म स्थानीय अपाङ्गलाई नै तालिम दिएर आफ्नो उत्तराधिकार छाड्ने योजना बनाएका छन् उनले । यो काम गर्न एकाध महिला शिक्षकले चासो देखाएकाले उनी निकै आशावादी छन् ।
उनका अत्यन्त कमजोर आँखाले उनलाई विशेष– शिक्षा शिक्षक बन्न मद्दत पु¥याएका हुन् । माइनस २.५ को चस्मा लगाउँदा पनि उनलाई रातमा देख्न हम्मे पर्छ । बहिरा केटोकेटीसँग बस्न अरू शिक्षकहरू तयार नभएपछि बुद्धिलाई उक्त जिम्मेवारी आइपरेको हो । उनी भन्छन्, “अपाङ्गहरूका निम्ति सकेसम्म अपाङ्गलाई नै स्रोत शिक्षक राख्ने नीति भएका कारण पनि म यहाँ काजमा आइपुगेको हुँ ।” आफ्ना बहिरा विद्यार्थीहरू बारे उनी भन्छन्, “यिनीहरू एकदम चलाख छन् । खान–बस्न र पढाइमा अलिकति ध्यान दिने हो भने राम्रो प्रगति गर्न सक्छन् ।” उनले केटाकेटीलाई लाउन–खानका लागि समेत सहयोग जुटाएका छन् । जिल्ला शिक्षा कार्यालय सकारात्मक भएकोमा उनी खुशी छन् । केटाकेटी बिरामी भए उनी आफैँ अस्पताल पु¥याउँछन् । बरु उनलाई केटाकेटीको खानपिन बन्दोबस्त गर्ने एकजोडी राजु र उनकी पत्नी नभए पछि कसरी त्यस्ता लगनशील र इमान्दार व्यक्ति पाउने भन्ने चासो छ । बाहिरबाट गएका कति जागिरेहरू ‘यो ठाउँ यस्तो, उस्तो, यहाँका मानिस यस्ता, उस्ता’ भन्ने गर्छन् । तर उनले भने “मलाई यो ठाउँ मन पर्छ, यहाँका धेरैजसो मानिस सीधा र सज्जन छन् । यहाँ भिज्न, मिल्न अप्ठेरो छैन ।” आफ्नो बाल्यकाल र युवावस्थाका सपना तथा रहर सम्झ्ँदै बुद्धि भन्छन्, “कवि या वैज्ञानिक हुन्छु जस्तो लाग्थ्यो । ढुङ्गा समेल्न, वनजङ्गल डुल्न रमाइलो लाग्थ्यो । स्कूलमा इच्छाधीन गणित पनि लिएको थिएँ तर म मध्यम खालको विद्यार्थी थिएँ । तर राम्ररी पढ्न पाइएन; जविन यस्तै भयो ।” ‘तपाईं यहाँ शिक्षक भएर के गुमाउनुभयो के पाउनुभयो ?’ भन्ने प्रश्नको सीधा जवाफ दिन्छन् उनी, “अहँ खासै केही गुमाइनँ । अलिकति आँखा बेलामा जँचाउन पाएको भए केही हुन्थ्यो कि भन्ने लाग्छ तर त्यसो गर्न पैसा त थिएन नि ! यहाँ आएर मेरो आर्थिक, शैक्षिक उन्नति भयो । गुमाएको तुलनामा पाएको कता हो कता बढी छ । मित्रता, सम्मान र सद्भाव त्यत्तिकै पाएको छु । म एक शिक्षककै रूपमा सन्तुष्ट छु ।”