बैसाखीको सहारा

बेनी सामुदायिक प्रस्तावित माध्यमिक विद्यालयकी प्रधानाध्यापक तीर्थकुमारी श्रेष्ठले घिस्री–घिस्री एस्एल्सी उत्तीर्ण गरेर बैसाखीको सहारामा पढाउन थालेको पनि ३२ वर्ष भइसकेको छ । उनी शारीरिक हिसाबले अशक्त छन् । पारिवारिक दृष्टिले एक्ली छन् । तर उनको विद्यालयप्रतिको मोह र प्रतिबद्धतामा न शारीरिक अशक्तता झ्ल्कन्छ, न त नैराश्य र एक्लोपन । उनी भन्छिन्, “मेरो दिमागमा जतिबेला पनि स्कूल नै खेलिरहन्छ ।”

१४ महिनाकी हुँदा उनलाई पोलियो भयो । तिनताका पोलियो थोपा खुवाउने चलन थिएन । परिणामतः उनी अपाङ्ग भइन् । २०३६ मा भएको उनको अन्तरजातीय प्रेमविवाह अपाङ्गताकै कारण १० वर्षभन्दा टिक्न सकेन । पतिले उनलाई अपाङ्ग भनेर हेला गर्ने र रक्सीको सुरमा पिट्न थालेपछि उनी अलग्गिइन् । उनकी एक्ली छोरीको पनि विवाह भइसकेको छ । दिनभरि उनको समय विद्यालयमै बित्छ । घरमा समय काट्न उनीसित गीतालगायतका केही किताब, विभिन्न पत्रपत्रिका र हार्मोनियम छन् ।

५४ वर्षअघि बेनीमै जन्मेकी तीर्थकुमारीले १ देखि ५ कक्षासम्म बेनी प्राविमा पढिन् र २०३२ सालमा बेनीकै सबैभन्दा पुरानो प्रकाश हाईस्कूलबाट तेस्रो श्रेणीमा एस्एल्सी उत्तीर्ण गरिन् । अहिले उनी आफैँले पढेको स्कूलमा प्रधानाध्यापक छन् । बल्लबल्ल एस्एल्सी पास गरे पनि कलेज पढ्न उनलाई सजिलो थिएन । किनभने क्याम्पस पढ्न पोखरासम्म हिँडेर आवतजावत गर्नु पथ्र्यो जुन उनका लागि दुरुह थियो । उनकै शब्दमा, “पृथ्वीनारायण क्याम्पसमा आई.एड.मा भर्ना त भएँ; तर अहिले जस्तो बैसाखी नभएकोले आवतजावत गर्न कठिन भयो । पढाइ पूरा गर्न सकिनँ ।”

‘प्राथमिक द्वितीय श्रेणी’को शिक्षक पदमा कार्यरत तीर्थकुमारी आफूभन्दा धेरै बढी शैक्षिक योग्यता भएका अन्य शिक्षकहरूको समेत विश्वास जितेर माविसम्मकै प्रधानाध्यापक भएकी छन् । उनी भन्छिन््, “मौका पाउँदा अपाङ्गले पनि सवलाङ्गसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने मैले प्रमाणित गर्न खोजेकी छु ।” हुन पनि, तीर्थकुमारी आफ्ना लागि मात्र बाँचेकी छैनन्, अरू अपाङ्गहरूका लागि पनि उनले सक्दो सहयोग पु¥याइरहेकी छन् । अपाङ्ग संघ म्याग्दीको कार्यालय उनकै घरमा रहेको छ ।

आफूलाई पनि गुरुहरूले पिटेरै पढाएकोले शुरु–शुरुमा आफूले पनि विद्यार्थीलाई ‘अलिअलि पिट्ने गरेको’ तर आजभोलि त्यो बानी छोडेको तीर्थकुमारी बताउँछिन् । उनको अनुभवमा, “घण्टी लाग्नासाथ शिक्षक कक्षामा जाने हो भने विद्यार्थीलाई पिट्नुपर्ने अवस्था नै आउँदैन ।” विद्यालय तहको पढाइको गुणस्तर सुधार्न सरकारले राम्रो पढाउने शिक्षकलाई प्रोत्साहन र लापरवाही गर्ने शिक्षकलाई दण्ड दिनुपर्ने तथा शिक्षकले पनि विद्यार्थीलाई भुलाउने मात्र नभई राम्रोसँग पढाउनुपर्ने उनको सुझव छ । प्रधानाध्यापकले स्थानीय गन्ने– मान्ने, भद्र–भलाद्मी र शिक्षाप्रेमीहरूसित सल्लाह गरेर अघि बढ्नुपर्ने पनि उनको बुझइ छ । पहिले पहिले ‘विद्यालय भनेको शिक्षक र सरकारको मात्र हो’ भन्ने ठान्ने अभिभावकहरूले पनि अहिले ‘शिक्षक, विद्यार्थी र विद्यालय हाम्रा हुन्’ भन्ने सोच्न थाल्नुलाई उनी निकै सकारात्मक मान्छिन् ।

प्रथम श्रेणीमा बढुवा गरिँदा १० महिने आधारभूत तालिम नभएको भन्दै आफूलाई बढुवाबाट वञ्चित गरिएकोमा तीर्थकुमारीको गुनासो छ । बढुवा भएको भए उनको मासिक तलब रु.१०,५०० मा अरू रु.१७०० थप हुनेथियो । नेपाल राष्ट्रिय शिक्षा पदकबाट सम्मानित तीर्थकुमारी जिल्ला शिक्षा कार्यालयले आफ्नो योगदानको कदर नगरेकोमा खिन्न देखिन्छिन् । उनी भन्छिन्, “शिक्षा कार्यालयले बेवास्ता गरे पनि समाजले सम्मान गरेकोमा गौरवान्वित छु ।” - ध्रुव सिम्खडा

commercial commercial commercial commercial