तेजकुमार बौद्धाचार्य देशकै सम्पदा

उनी ८२ वर्षको आदरणीय उमेरमा प्रवेश  गरिसकेका छन् । शरीरमा केही उमेरजन्य असरहरू पनि देखा पर्न थालेका छन् । ‘यसो गर्छु, उसो गर्छु’ भन्ने सपना पनि खास बाँकी छैनन् । तैपनि उनमा जाँगर उत्तिकै छ । शिक्षण कार्यबाट अवकाश लिएको थुप्रै वर्ष भइसक्यो, तर पनि त्यो काम उनका लागि यति प्रिय छ कि आज पनि उनी विद्यालय धाई नै रहेका छन् ।
“स्वान्त सुखायका लागि पढाउन जान्छु”, गत साउनको एक साँझ् कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित आफ्नै घरमा भेटिएका उनले यो पंक्तिकारसित रहस्य खोल्दै भने, “जो मनुष्य सधैं काम गर्छ, सक्रिय रहन्छ, ऊ नै स्वस्थ रहन्छ । स्वस्थ रहनका लागि हिंडेरै पढाउन जाने गर्दछु ।”

उनी अर्थात् तेजकुमार बौद्धाचार्य (शाक्य) नेपालको आधुनिक शिक्षा पद्धतिसित जोडिएका एक जना यस्ता व्यक्तित्व हुन्, जो गएको ६ दशकदेखि नेपालको शिक्षामा भएका हरेक परिवर्तनका साक्षी बनेका छन् । उनले शिक्षण जीवनको आरम्भ २००८ सालमा तौलिहवामा भर्खर खुलेको बुद्ध पद्म माविबाट गरेका हुन् ।

“उस वेला विद्यालयलाई साह्रै पवित्र ठाउँ मानिन्थ्यो । जो शिक्षक बन्थे उनीहरूले शिक्षकको धर्म पालना गर्थे । उनीहरू समाजको परिवर्तनप्रति समर्पित थिए । त्यसैले शिक्षक अत्यन्त आदरणीय थिए ।” उनले त्यो समयलाई आजको परिवेशसित तुलना गर्दै भने, “आजका शिक्षक सेवामुखी भन्दा बढी पैसामुखी भएका छन् । जसले गर्दा यो पेशाको गरिमा पहिलेभन्दा निकै कम भएर गयो ।”
उनी किटानीसाथ भन्छन्, “शिक्षाको स्तर उहिले नै राम्रो थियो ।”
“कसरी ?”

शिक्षक प्रतिनिधिको यो प्रश्न भुईंमा खस्न नपाउँदै उनले भने, “ऊ वेला जे पढाइन्थ्यो, राम्रोसित पढाइन्थ्यो ।”
आफ्नो ठम्याइलाई पुष्टि गर्न उनले थप तर्क गरे, “आजकल कोर्स सक्ने मात्र मेलो हुन्छ, विद्यार्थीले बुझ्े कि बुझ्ेनन् वास्ता गरिन्न । विश्वविद्यालय शिक्षाको हालत पनि यस्तै छ । ऊ वेलामा बुझएर मात्र कोर्स अघि बढाइन्थ्यो । त्यसैले ऊ वेलाका नजान्ने विद्यार्थी पनि त्यति कमजोर थिएनन्, जति आजका छन् ।”

बौद्धाचार्यले नेपाली र अंग्रेजी दुवै विषय शिक्षण गरेका भए पनि उनले ख्याति चाहिं अंग्रेजीमा कमाए । जिल्ला प्रशासन लगायत सरकारी अड्डाका चिठी अंग्रेजीमा अनुवाद गर्नुपर्दा केही वर्षअघिसम्म अड्डाका हाकीमहरू उनकै घरमा धाउँथे । भारतको उत्तरप्रदेशबाट आईए र स्नातक पनि त्यहींकै आग्रा विश्वविद्यालयबाट (सन् १९६७) गरेका कारण उनको अंग्रेजी नेपालीभन्दा राम्रो भएको अनुमान गर्न कठिन पर्दैन । स्कूल र कलेज पार गरिसक्दा पनि आजको पुस्ताको अंग्रेजी राम्रो हुन नसक्नुको दोष उनी शिक्षक र शिक्षण तरीकालाई दिन्छन् । भन्छन्, “सर्वप्रथम भाषा पढाउने शिक्षक दक्ष हुनुपर्छ र उसले शुद्ध सिकाउने हैसियत राख्नुपर्छ ।

२०३० सालमा त्रिविबाट बीएड समेत गरेका उनले साँझ् बिहान आंशिक शिक्षकका रूपमा कपिलवस्तु बहुमुखी क्याम्पसमा पनि अंग्रेजी पढाए । तर मूल रूपमा चाहिं उनी हाईस्कूलकै शिक्षक हुन् । बुद्ध पद्म माविमा उनले ४१ वर्ष पढाए ।
लामो शिक्षण जीवनमा उनले दशौं हजारलाई शिक्षा दिए । उनका चेलाहरू नपुगेको क्षेत्र, पेशा र व्यवसाय शायदै बाँकी होला । पूर्व प्रधानन्यायाधीश गोविन्दप्रसाद श्रेष्ठ हुन् वा प्लाष्टिक सर्जन डा. विजय कुमार शर्मा उनकै विद्यार्थी हुन् । उनीसित आफ्ना विद्यार्थीको यस्तो सूची लामै छ, जसले आफ्नो क्षेत्रमा राष्ट्रियस्तरमा ख्याति कमाएका छन् ।

“ज्ञानको तिर्सना कहिल्यै कम हुँदोरहेनछ”, उनी भन्छन्, “त्यसैले म यो उमेरमा पनि पढिरहेको छु ।”
हुन पनि उनले घरको ठूलो कोठा किताबले भरेका छन् । शायद कपिलवस्तुमा दोस्रो अर्को घर छैन, जहाँ यति धेरै पुस्तकहरू होउन् । यस सम्बन्धमा उनी थप्छन्, “ज्ञानको भोकले गर्दा मैले निरन्तर किताब किनिरहें । आज पनि किनिरहेको छु ।”
बजारमा नयाँ किताब के के आएको छ भनेर उनी निरन्तर सोधपुछ गरिरहन्छन् । पत्रपत्रिकामा छापिएका पुस्तक समीक्षा खोजी खोजी पढ्छन् । “समीक्षाबाट राम्रो जानकारी पाइन्छ ।” उनले सुनाए, “त्यसले मलाई किताब छनोट गर्न मद्दत गर्दछ ।” “एउटा असल र दक्ष शिक्षक बन्न सम्बन्धित विषयको ज्ञान र पढाउन कला मात्र भएर पुग्दैन”, आफूले नयाँ नयाँ पुस्तक किनेर पढिरहनुको रहस्य खोले, “समय, समाज र नवीनतम् ज्ञानसित निरन्तर अद्यावधिक भइरहनुपर्छ ।”

विद्यालय निरीक्षक, अनुभवी शिक्षक र आफ्नो विषयको विशेषज्ञ हुन सके मात्र सार्थक हुने उनको दृष्टिकोण छ । “सरकारले पठाएको पैसा के कसरी उपयोग भएको छ, कक्षामा शिक्षकले के कसरी पढाएको छ भनेर मिहिन तरीकाले बुझने, विश्लेषण गरेर प्रतिवेदन मन्त्रालयमा पठाउने र आफ्नो तर्फबाट उचित पहल गर्ने काम विद्यालय निरीक्षकको हो ।” तर उनको दुखेसो छ, “सरकारले नै विद्यालय निरीक्षकलाई निष्क्रिय बनायो ।” यिनलाई कामकाजी बनाउन सकेको भए सार्वजनिक विद्यालयको यस्तो रुग्ण अवस्था हुने थिएन भन्ने उनको ठम्याइ छ ।

उनको दृष्टिमा नेपालमा शिक्षाको स्तर अभिवृद्धिमा ठेस त्यस बिन्दुबाट लाग्न आरम्भ भएको हो, जब शिक्षक नियुक्ति योग्य, दक्ष, प्रतिबद्ध व्यक्तिलाई नगरी नातागोता, घूसखोरी, सोर्स–फोर्सको आधारमा हुन थाल्यो । त्यसैले शिक्षाको गुणस्तरमा सुधार ल्याउने हो भने छनोट पद्धति र प्रवृत्तिलाई करेक्सन गरेर मात्र अघि बढ्न सकिने उनको विश्वास छ । भन्छन्, “लिखित जाँच दिएका आधारमा होइन, कक्षामा पढाएको कुरा नै २÷४ दिन अवलोकन गरेर सोही आधारमा मात्र निष्पक्ष तरीकाले नयाँ शिक्षकको छनोट गर्नुपर्दछ । त्यसरी छानिएका व्यक्तिलाई दक्ष र अनुभवी शिक्षकद्वारा मात्र साँध लगाइने व्यवस्था गर्नुपर्छ । अनि मात्र नयाँ शिक्षक तिखारिंदै जान्छन् ।”

तौलिहवा बजारबाट दुई किलोमिटर जति पर रहेको सिद्धार्थ विद्या मन्दिरको कक्षा ७ को सेक्सन ए का बालबालिकालाई उनले पढाइरहेका वेला शिक्षक प्रतिनिधि त्यहाँ पुगेको थियो । उनी अंग्रेजी व्याकरण सिकाइरहेका थिए ।

कक्षा सकिएपछि विद्यार्थीहरूसित छोटो अन्तरक्रिया गर्दा सबैले एकस्वरमा भने, “तेजकुमार सर हामीलाई धेरै मन पर्ने शिक्षक हुनुहुन्छ । बुझने गरी पढाउनुहुन्छ । नबुझ्ेका कुरा सोध्दा झ्र्को नमानी बुझइदिनुहुन्छ ।” छात्रा स्वस्तिका सिंले बीचैमा उठेर भन्न भ्याइहालिन्, “सर धेरै बूढो हुनुभए पनि हामीले गरेको गृहकार्य सधैं चेक गर्नुहुन्छ ।”

सिद्धार्थ विद्या मन्दिरले उनलाई एक पिरियडको मासिक रु.१६०० र एचडी मेमोरियल माविले रु.१५०० दिने गरेका छन् ।
शिक्षक के रहेछ ? यो जिज्ञासामा उनी बडो गम्भीर र भावुक पनि देखिए । एकछिन रोकिएर केही सम्झ्नि खोजे । त्यसपछि अंग्रेजीको एउटा उद्धरण सुनाए– दि टिचर इस अ किंग विथाउट अ क्राउन (शिक्षक श्रीपेच विनाको राजा हो) । थपे, “देशको समग्र भविष्य शिक्षकको हातमा छ ।”

आजका युवा शिक्षकलाई तपाईंको केही सुझव छ कि ? लामो शिक्षण जीवनको अमूल्य अनुभवको सार थाहा पाउने ध्येयले सोधियो । केही क्षण गम खाँदै उनले भने, “राम्रो तयारी गरेर मात्र कक्षामा जानुहोस् । कुनै समस्या सामना गर्नु परेका खण्डमा अनुभवी र दक्ष शिक्षकसित परामर्श लिनुहोस् ।”

उनका जीवनमा पक्कै पनि पीडा र दुःखका क्षणहरू पनि आए होलान् । ती पनि स्मृतिको मानसपटलमा घुम्दा हुन् । जीवनका घाउहरू कोट्याउन र तिनलाई सम्झ्ेर दुखी हुन मन लागेनछ क्यारे, यो जिज्ञासामा उनले अलि वेग्लै भाकाले जवाफ दिए, “मैले दुःखलाई पनि सुख सम्झ्एिर काम गरें । आफ्नो कर्तव्यबाट कहिल्यै विचलित भइनँ ।”

“जीवन के रहेछ ?” यति लामो जीवन जिएको अनुभवको सार थाहा पाउने ध्येयले यो जिज्ञासा राखियो ।
“कर्तव्य रहेछ । संयम रहेछ । सेवा रहेछ । सत् चरित्र रहेछ ।”

जीवन नै शिक्षणमा समर्पण गरेर तपाईंलाई के मिल्यो त ? छुट्ने वेलामा शिक्षक प्रतिनिधिले सोधेको थियो । जवाफमा उनले भने, “मैले पूर्ण रूपमा समर्पित भएर शिक्षण गरेकाले मलाई तृप्ति मिलेको छ । मैले समाजको निम्ति मूल्यवान काम गर्ने अवसर पाएँ । मेरो जीवन सार्थक भयो ।”

उनको समर्पण, योगदान, आदरणीय उमेरमा पनि क्रियाशीलता, दक्षता, सोच सबै पक्षलाई विचार गर्दा कपिलवस्तुका मात्र होइन, उनलाई नेपालकै सम्पदा मानिनुपर्दछ ।

सुदर्शन घिमिरे

commercial commercial commercial commercial