सबैले सम्झन्छन्
“आजभोलिका अधिकांश शिक्षक किताबमा घोकेका कुरा बाहेक पढाउनै सक्दैनन् । चोरेर पास गरेकाहरूलाई शिक्षक बनाएपछि यस्तै दुर्गति हुन्छ ।”
माझीदाइले जुनीभरि डुङ्गा तारिरहे
अरूलाई तार्दातार्दै आफू वारि रहे ।
अंग्रेजीका कुरा आउनासाथ आज पनि म वृन्दावन सरलाई सम्झिन पुग्छु । २२–२३ वर्षअघि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयमा म उहाँको विद्यार्थी थिएँ । पढाउँदा–पढाउँदा प्रोज, पोयट्री, पायनियर्स अफ् प्रोग्रेस, वन्डर बुक, लिभिङ इङ्गलिश स्ट्रक्चर, नेशफिल्ड ग्रामर आदि थुप्रै किताबहरू उहाँलाई कण्ठ थिए । तैपनि उहाँले हामीलाई कण्ठ गर्न र घोक्न कहिल्यै दबाब दिनुभएन ।
उहाँको पढाउने शैली बडोगजबको थियो । ग्रामर पढाउँदा नियम बताएर धेरै गृह कार्य गर्न लगाउने र प्यासेज/पाठ पढाउँदा पहिले आफूले पढिदिने अनि विद्यार्थीलाई पढ्न लगाउने; त्यसमा रहेका अप्ठेरा शब्दहरू टिप्न र तिनलाई वाक्य बनाउन लगाउने गर्नु हुन्थ्यो । फेरि दुई/तीन पटक पाठ पढ्न लगाएर हरेक अनुच्छेदबाट छोटा-छोटा प्रश्नहरू बनाएर तिनको उत्तर खोज्न लगाउनुहुन्थ्यो । त्यति गरिसकेपछि त अंग्रेजीका पाठै कण्ठ हुन्थे । जहाँबाट प्रश्न सोधे पनि खुरुरु लेख्न सकिन्थ्यो ।
उहाँले पि.सि.रेन कम्पोजिशन का शर्ट स्टोरिज (लघु कथा) पढाउँदा झनै आनन्द आउँथ्यो । अपूरो शब्द कालोपाटीमा लेखिदिने अनि त्यसका आधारमा कथा पूरा गर्न लगाउनु हुन्थ्यो । ४०–४५ जना विद्यार्थी आ–आफ्नै शैलीमा कथा बुन्थे । कथा लेखिसकेपछि पुछारमा त्यसको सार झल्काउने उखान टुक्का लेख्नै पथ्र्यो । कथासित मिल्ने र शिक्षाप्रद उखान टुक्का चाहिं प्रायः उहाँले नै सुझाइदिनुहुन्थ्यो । त्यसरी अंग्रेजी पढाउने वृन्दावन सरलाई म मात्रै होइन उहाँका अरु पनि धेरै विद्यार्थीले सम्झदा रहेछन् । सूचना विभागका महानिर्देशक श्रीधरगौतम उहाँले नै आफूलाई अंग्रेजी बुझन र लेख्न सक्ने बनाएको बताउँछन् । गौतम भन्छन्, “उहाँ अंग्रेजीको सारै राम्रो शिक्षक हुनुहुन्छ । उहाँकै कारण हामीले कलेजमा अंग्रेजी माध्यमका स्कूलबाट आएका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्यौँ ।”
पूर्व शिक्षा मन्त्री तथा काङ्ग्रेस प्रवक्ता अर्जुननरसिंह के.सी., पूर्व प्रहरी महानिरीक्षक श्यामभक्त थापा, नेपाली सेनाका जर्नेल आदित्यबहादुर शाह, राष्ट्र ब्याङ्कका निवर्तमान गभर्नर विजयनाथ भट्टराई, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. महेश खकुरेल, पूर्व महालेखा परीक्षक बच्चुराम दाहाल, कलाकार सन्तोष पन्तलगायत उहाँले पढाएका धेरै विद्यार्थी आज राष्ट्रको विशिष्ट हैसियतमा पुगेका छन् । यीमध्ये धेरैको नजरमा वृन्दावन सर एउटा असल र गतिलो गुरुको रूपमा रहनु भएको छ । लामो शिक्षक जीवनमा वृन्दावनप्रसाद ढुङ्गाना कहिल्यै पनि विद्यालयको प्रधानाध्यापक हुनु भएन । त्रिचन्द्र कलेजबाट आई.ए. गर्नु भएका सरले पढाउन थाल्दा मासिक रु.२५ तलब पाउनुहुन्थ्यो भने अवकाश हुने बेलामा रु.४५० । उहाँका विद्यार्थीले उहाँमा कहिल्यै पनि निराशा र असन्तुष्टिको भाव देख्न पाएनन् ।
उहाँ सामान्य शिक्षक मात्रै भएर पनि किन यति धेरै विद्यार्थीको मन–मस्तिष्कमा छाइरहनु भयो त ? त्यसको मूल कारण उहाँको नरिसाउने स्वभाव र हँसिलो पाराले पढाउने शैली हो भन्ने मेरो ठम्याइ छ । ४६ वर्षअघि शान्ति विद्या गृह बाट एसएलसी गरेका पूर्व शिक्षामन्त्री तथा काङ्ग्रेस प्रवक्ता के.सी. वृन्दावन सरलाई राणाशासनको बेला स्कूल खोलेर शिक्षाको ज्योति छर्ने एक अग्रज समाज सुधारकको रूपमा पनि सम्मान गरिनुपर्ने ठान्छन् ।
विद्यार्थीलाई उहाँको अंग्रेजी पढाउने शैली मात्र मनमोहक लाग्दैनथ्यो, उहाँको सुन्दरता र नरम मिजासले पनि आकर्षित गर्द थ्यो । पूर्व प्रहरी महानिरीक्षक थापाको अनुभवमा गल्ती गर्ने विद्यार्थीसँग पनि उहाँ नरम बोल्नुहुन्थ्यो । त्यस्तालाई पनि फकाएरै पढाउनु हुन्थ्यो । हुन पनि उहाँ जत्ति आदर्श हुनुहुन्छ त्यत्ति नै ह्याण्डसम पनि । उहाँ बेलुकीपख घुम्न निस्कँदा पनि ढाकाटोपी, दौरा–सुरुवाल र खैरो कोटमा सजिएर निस्कनुहुन्थ्यो । करीब एक वर्षअघिसम्म पनि म उहाँलाई बेलुकी पख गल्कोपाखा देखि राष्ट्रिय नाचघरसम्म डुलिरहेको पाउँथेँ । तर आजभोलि शारीरिक अस्वस्थताका कारण लैनचौरभन्दा पर घुम्न छोड्नुभएको छ ।
८४ वर्षअघि काठमाडौंमा जन्मिनुभएका वृन्दावन सरको प्रारम्भिक पढाइ घरैमा भएको थियो भने माध्यमिक तहको पढाइ भारतको सीतामढी हाईस्कूलमा । सीतामढीमा पढ्दा उहाँका सहपाठी थिए काङ्ग्रेस नेता रामहरि जोशी । जोशीका अनुसार वृन्दावन सर पढाइमा मध्यम खालको हुनुहुन्थ्यो । तर, फूटबलका भने राम्रा स्कोरर ! खेलकुदका बारेमा जिज्ञाशा राख्दा वृन्दावन सरको जवाफ थियो, “राम्रो फूटबल खेलेकोमा दरभङ्गाका महाराजाबाट किताब, कपसहितको पुरस्कार पाएको थिएँ ।” स्कूलमा खेलकुद अनिवार्य गर्न सके त्यसबाट भावी पुस्ताको स्वास्थ्य र ज्ञान दुवैमा सकारात्मक प्रभाव पर्ने उहाँको बुझाइ छ ।
२०२८ सालमा नयाँ शिक्षा लागू भएपछि अनुवाद (ट्रान्सलेशन) कोर्षबाट हटाइयो । त्यसले गर्दा आफ्नो स्कूलको एसएलसी नतिजा ७०–८० प्रतिशतबाट ३०–४० प्रतिशतमा झरेको; अंग्रेजीमा धेरै विद्यार्थी अनुत्तीर्ण भएपछि फेरि ‘ट्रान्सलेशन’ पढाउन/ गराउन शुरु गरेको स्मरण गर्दै ढुङ्गाना भन्नुहुन्छ, “कोर्षमा नभए पनि ‘ट्रान्सलेशन’ शुरु गरे पछि फेरि नतिजा पुरानै अवस्थामा पुर्याउन सफल भयौँ ।” तर, आजभोलि अङ्ग्रेजी कक्षामा ‘ट्रान्सलेशन’ गराइँदैन । अनुच्छेद दिएर त्यसको मुन्तिर प्रश्न मात्र सोध्ने परिपाटीले सार्वजनिक स्कूलका विद्यार्थी अंग्रेजीमा कमजोर बनेको उहाँ बताउनुहुन्छ ।
अझ विद्यार्थीलाई सचित्र पढाउन सके धेरै फाइदा हुने वृन्दावन सरको अनुभव छ । यस सम्बन्धमा उहाँले आफ्नो अनुभव यसरी सुनाउनुभयो, “एकसाल मलाई १० कक्षाबाट दुई कक्षामा अंग्रेजी पढाउन पठाइयो । दुई कक्षामा पसेपछि मैले साना विद्यार्थीलाई चित्र कोरेर अंग्रेजी पढाउन थालेँ । केही महिनामै दुई कक्षाका विद्यार्थी सात कक्षाको अंग्रेजी मज्जाले पढ्न सक्ने भए । त्यसपछि स्कूलले त्यसै गरी पढाउन प्रोत्साहन गरयो । तर अहिले त्यस्तो केही भए जस्तो लाग्दैन ।”
नयाँ र पुरानो दुवै शिक्षा प्रणालीमा शिक्षण अनुभव सँगालेका वृन्दावन सर शिक्षालाई ‘नयाँ’ र ‘पुरानो’ भनी वर्गीकरण गर्नु उचित नहुने विचार राख्नुहुन्छ । समय अनुसार पाठ्यपुस्तकहरू निर्माण र सुधार हुँदै जान्छन् । त्यही अनुसार शिक्षण शैली पनि अपनाउनुपर्ने हुन्छ । गुरुकुलमा पढाउँदा विद्यार्थीलाई घोकाएर पढाइन्थ्यो; शिक्षकलाई सजिलो हुन्थ्यो भने आज त्यो परिपाटी अपनाइँदैन । शिक्षकले विषयवस्तु राम्ररी पढेर शिक्षण सामग्रीसहित कक्षामा जानुपर्ने समयको माग रहेकाले शिक्षकले नै बढी मेहनत गर्नु पर्ने उहाँको सल्लाह छ ।
सार्वजनिक स्कूलको पढाइ बिग्रनुमा गुटगत राजनीति र कमजोर शिक्षक नियुक्ति प्रक्रिया जिम्मेवार रहेको उहाँको ठहर छ । उहाँ भन्नुहुन्छ, “आजभोलिका अधिकांश शिक्षक किताबमा घोकेका कुरा बाहेक पढाउनै सक्दैनन् । चोरेर पास गरेकाहरूलाई शिक्षक बनाएपछि यस्तै दुर्गति हुन्छ ।” यस बाहेक सार्वजनिक स्कूलमा भौतिक पूर्वाधारको अभाव र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको कमिलाई पनि प्रमुख समस्याको रूपमा लिनुहुन्छ उहाँ ।
वृन्दावन सरले राणा, पञ्चायत र बहुदल तीनै कालखण्डमा पढाउनु भयो । विगत जीवनको स्मरण गर्दै उहाँ हर्षले विभोर हुनुहुन्छ र शिक्षण पेशा अँगालेर त्यसैमा जीवन व्यतीत गर्न पाएकोमा सन्तोष व्यक्त गर्नु हुन्छ । उहाँलाई आफ्नो अङ्ग्रेजीकोग्रामर लेख्ने धोको पूरा गर्न नसकेकोमा मात्र पछुतो रहेछ । शिक्षक जस्तो सम्मानित पेशामा जीवन बिताउन पाएकोमा गौरवानुभूति गर्ने वृन्दावन सर आफ्नो सम्पत्ति भनेकै आफूले पढाएका विद्यार्थीलाई मान्नुहुन्छ । हुन पनि ‘सिकर्मीको भर्याङ थोत्रो’ भने झैँ धन–सम्पत्ति कमाउन नसके पनि उहाँले पढाएका विद्यार्थीहरू विभिन्न ओहोदामा पुगेका छन्; नाम कमाएका छन् । धेरै भविष्यका कर्णधारलाई उहाँले असजिलो अवस्थाबाट पार लगाइदिनुभयो; अँध्यारोबाट उज्यालोतिर डोर्याउनु भयो– एउटा माझीले धेरै बटुवालाई नदी पार गराए झैँ । उहाँ भने जीवनभर शिक्षण पेशामा नै रम्नु’भो, रमाउनु’भो ।