पत्रकारिता छोडेर शिक्षक
शिक्षक बन्ने सपना पाल्नुभएको थियो ?
पटक्कै थिएन ।
कसरी शिक्षक बन्नु भयो त ?
म २०५५ सम्म काठमाडौंमा पत्रकारितागर्थेंं । ०५६ को आमनिर्वाचनका बेला समाचार सङ्कलनका लागि बाजुरा आइपुगेँ । त्यो बेला राजेन्द्र दाहाल (हाल यस पत्रिकाका सम्पादक) ले ‘चुनावमा धामी–झँक्रीको प्रयोग’ विषयमा खोजमूलक रिपोर्टिङ गर्न पठाउनुभएको थियो । तर त्यतिबेला यतै भुलेँ र पत्रकारिता छाडेर शिक्षण पेशामा पसेँ । राजेन्द्र दाइले पेस्कीस्वरुप दिनुभएको रु.४ हजार अझैसम्म फिर्ता गरेको छैन ।
पत्रकारिता र शिक्षणमध्ये कुन पेशा रराम्रो रहेछ ?
पेशाले पत्रकारिता र सेवाले शिक्षक पेशा रराम्रो लाग्यो ।
राजधानीमा पत्रकारिता गरिरहेको व्यक्ति एक्कासि बाजुरा पुग्दा अप्ठ्यारो लागेन ?
शुरु शुरु मा अनौठो लागेको थियो । काठमाडौंमा बिताइरहेको जीवन रमाइलो थियो । दुर्गममा आउँदा निकै कष्ट भोग्नुपरयो । घुलमिल हुन समय लाग्यो । बिस्तारै रमाइलो लाग्दै गयो । अहिले त एकदम ‘इन्ज्वाय’ गरिराखेको छु ।
बेकारमा शिक्षक हुन आइएछ भन्ने त लागेको छैन ?
छैन । कहिलेकाहीँ आफूले काम गर्दाका साथीहरूको याद भने अवश्य आउँछ ।
अरू स्कूलभन्दा कुन कुन कुरा मा तपाइँको स्कूलले फरक पहिचान बनाएको छ ?
धेरै कुरा मा फरक छ । हामीकहाँ बालमित्रवत् पढाइ हुन्छ । दण्डलाई निरुत्साहित गरेका छौं । विद्यार्थीहरूलाई पिट्ने काम पटक्कै हुँदैन । बरु स–साना कुरा देखि लिएर स्कूलका कतिपय कुरा मा पनि विद्यार्थीहरूलाई नै निर्णय गर्न ल गाउँछौं । पढाइसँगै अतिरिक्त क्रियाकलाप पनि गर्छौं । पढेलेखेका, जान्नेबुझने र संघसंस्थाका प्रतिनिधिहरूलाई हरेक हप्ता स्कूलमा निम्त्याएर उहाँहरूले बटुल्नुभएको विषयगत ज्ञानलाई विद्यार्थीमाझ् बाँड्न ल गाउँछौं ।
शिक्षकको भूमिका के हो ?
हामी त सहजकर्ता मात्र हौं ।
विद्यालयको शैक्षिक नतिजा कस्तो छ ?
२०६६ को एसएलसी परीक्षामा ५१ जनामध्ये ९ जना प्रथम श्रेणीसहित सबैले पास गरे । २०६४ मा ७५ जना मध्ये ७४ ले पास गरेर जिल्लामै उत्कृष्ट स्थान हासिल गर्न सफल भयौं जसबापत जिशिकाले रु.१ लाख प्रदान गरयो । एसएलसी बाहेक अन्य कक्षाहरूमा पनि अपेक्षाकृत रराम्रो नतिजा छ ।
शिक्षण पेशामा कस्ता कठिनाईहरू झेल्नुपर्छ ?
एकैचोटि सामाजिक रुपान्तरण गर्न गाह्रो र असम्भव हुँदोरहेछ । गरिबी, अशिक्षा र जनचेतनाको कमी भएको ठाउँमा धेरै चिजसँग पौंठेजोरी खेल्नुपर्छ । पाठ्यसामग्रीको अभाव, भौगोलिक कठिनाई र दरबन्दीको कमी जस्ता धेरै समस्या छन् ।
तपाइँ प्रअ बनेपछि भएका उल्लेखनीय काम ?
जीर्ण हुँदै गएको भवन मर्मत भयो । काठमाडौंका विभिन्न संघ, संस्था र व्यक्तिहरूसँग सहयोग लिएर पुस्तकालयको स्थापना गरियो । हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने परिपाटी बसालेँ । यसै शैक्षिक सत्र २०६६ देखि विद्यालयको लोगोसहित टाइ र समान डे«सको सुरुआत गर्ने यो बाजुराको पहिलो स्कूल भएको छ ।
आफूहरूले स्कूलको शैक्षिक गुणस्तर सुधार गर्न गरेको प्रयासप्रति सन्तुष्ट हुनुहुन्छ ?
छैन । काठमाडौंका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न धेरै मेहनत गर्नु पर्छ । हामी त्यस्तै योग्य र सबल बनाउन खोजिरहेका छौं । जसका लागि ठूलै क्रान्ति गर्नु पर्ने छ ।
शिक्षक भएर ध्यान दिनुपर्ने कुरा के के हुन् ?
शिक्षक मात्र होइन गुरु बन्ने प्रयास गर्नु पर्छ । विद्यार्थीलाई मानव बनाउने प्रयत्न गर्नु पर्छ ।
अरू शिक्षकलाई के सुझाव दिनुहुन्छ ?
ग्रामीण क्षेत्रमा शैक्षिक स्थिति खस्कँदै गएको छ । शिक्षकहरूले अतिरिक्त समय दिएर विद्यार्थीहरूको पढाइको गुणस्तर सुधार्नमा लगाउनुपर्छ । सधैं कुट्ने, पिट्नेभन्दा पनि रमाइलो तरिकाबाट उनीहरूलाई पढाउने वातावरणको सिर्जना गर्नु पर्छ ।
प्रस्तुतिः नरेन्द्र रौले