निर्णयात्मक र निर्माणात्मक मूल्यांकन
सामान्य अर्थमा मूल्याङ्कन भनेको अवलोकन तथा अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा कुनै कार्यप्रति हेर्ने दृष्टिकोण वा मूल्य निर्धारण हो । यसले कुनै ठोस वस्तुको निर्णयका लागि आधार प्रदान गर्द छ । विद्यार्थी मूल्याङ्कन भनेको विद्यार्थीको पढाइमा के कस्तो सिकाइ उपलब्धि भयो वा उद्देश्य अनुसारको उपलब्धि प्राप्त भयो वा भएन भनी हेर्ने प्रक्रिया हो । यसलाई सरल भाषामा भन्ने हो भने पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य अनुरुपका ज्ञान, सीप र व्यवहार विद्यार्थीले हासिल गरे गरेनन् वा कति मात्रामा हासिल गरे भनेर लेखाजोखा गर्ने कार्य नै विद्यार्थी मूल्याङ्कन हो ।
विद्यार्थीको निर्माणात्मक मूल्याङ्कनलाई निरन्तर विद्यार्थी मूल्याङ्कन भन्ने गरिएको छ । निर्माणात्मक मूल्याङ्कनलाई किन निरन्तर विद्यार्थी मूल्याङ्कन भनिन्छ भन्ने सन्दर्भमा स्पष्ट हुन निर्णयात्मक तथा निर्माणात्मक मूल्याङ्कन दुवै प्रकारका मूल्याङ्कनका बारेमा परिचित हुन आवश्यक छ । साधारण अर्थमा विद्यार्थीको सिकाइका बारेमा जानकारी लिने काम विद्यार्थी मूल्याङ्कन हो ।
विद्यार्थीका बारेमा निर्णय लिने र विद्यार्थीमा पाठ्यक्रमले अपेक्षा गरेका उद्देश्य पूरा गराउने विद्यार्थीको मूल्याङ्कन गरिन्छ । विद्यार्थीका बारेमा निर्णय लिन गरिने मूल्यांकनलाई निर्णयात्मक र पाठ्यक्रमले अपेक्षा गरेको सिकाइ पूरा गराउन गरिने मूल्याङ्कनलाई निर्माणात्मक मूल्याङ्कन भनिन्छ । निर्णयात्मक मूल्याङ्कन विद्यार्थीलाई उत्तीर्ण अनुत्तीर्ण छुट्याउन र उनीहरूको श्रेणी तथा स्तर निर्धारण गर्ने उद्देश्यका लागि गरिन्छ । यस्तो मूल्याङ्कन शैक्षिक सत्रको अन्त्यमा व्यवस्थित प्रश्नपत्र र लिखित परीक्षाका माध्यमबाट गरिन्छ । विद्यालय शिक्षाको सन्दर्भमा निर्णयात्मक मूल्याङ्कनलाई नै विद्यार्थी मूल्याङ्कनको पर्यायका रूपमा लिने प्रचलन रहिआएको छ । शिक्षण सिकाइ प्रभावकारी बनाउन र पाठ्यक्रमले लक्ष्य गरेका सिकाइ उद्देश्यहरू विद्यार्थीमा पूरा गराउन गरिने मूल्याङ्कन निर्माणात्मक मूल्याङ्कन हो । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्य अनुसार निर्माणात्मक मूल्याङ्कन शिक्षण सिकाइ क्रियाकलाप सँगै निरन्तर चलिरहन्छ । त्यसैले निर्माणात्मक मूल्याङ्कनलाई सरल भाषामा निरन्तर मूल्याङ्कन भनिन्छ ।
कक्षाकार्य, गृह कार्य र विद्यार्थीमा आएको परिवर्तनलाई अवलोकनबाट विद्यार्थीको निरन्तर मूल्याङ्कन गर्न सकिन्छ । विद्यार्थीको निरन्तर मूल्याङ्कन मूलतः कक्षाकार्यबाटै हुने गर्छ । कक्षाकार्यगराउँदा विद्यार्थीका क्रियाकलाप मा शिक्षकले विशेष ध्यान दिइरहनु पर्दछ । निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिमा विद्यार्थीको मूल्याङ्कनका लागि कक्षाभित्र वा बाहिर गरिने शिक्षण सिकाइ सम्बन्धी क्रियाकलाप नै मूल आधार होे ।
समग्रमा भन्नुपर्दा शिक्षण सिकाइको क्रममा कुनै पनि बेला सरल प्रक्रियाबाट गरिने औपचारिक प्रकृतिको विद्यार्थी मूल्याङ्कन नै निरन्तर विद्यार्थी मूल्याङ्कन हो । यसमा विद्यार्थीलाई तत्कालै सुझाव दिएर सुधारको कार्यमा थप सहयोग गरिन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कनले विद्यार्थीको सिकाइ उपलब्धिको वैधता र विश्वसनीयतामा सुधार गर्न, विद्यार्थीको सही मूल्याङ्कन निरन्तर र सहजतापूर्वक गर्न, सिकाइस्तर कम भएका विद्यार्थीलाई सुधारात्मक शिक्षण गर्न, पाठ्यक्रमले निर्धारण गरेका ज्ञान, सीप र व्यवहारको दिगो विकास गर्न, बालमैत्री सिकाइ र मूल्याङ्कनको वातावरण बनाउन, विद्यार्थीहरूमा परीक्षाबाट हुने उत्तीर्ण अनुत्तीर्णको सन्त्रास हटाउन र कक्षा छाड्ने र दोहोर्याउने दरमा कमी ल्याउन सघाउँछ । विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन गर्नका लागि शिक्षकले कक्षाकोठमा होस् या बाहिरी रूपमा अवलोकन, प्रश्नोत्तर, छलफल , लिखित जाँच तथा अभिभावकसँग को अन्तरक्रिया विधि प्रयोग गर्न सक्छन् ।
बालकल्याण मावि, मेचीनगर–८, झापा