डायरी लेखनबाट शिक्षा
एउटा यस्तो गतिविधि छ, जो शिक्षण–कार्यको अङ्ग पनि हुन सक्छ र अतिरिक्त क्रियाकलापमा पनि समेटिन सक्छ । यसमा ध्यान दिनुपर्ने कुरा एउटै छ— यो अनिवार्य नबनोस् । यसलाई स्वेच्छिक राख्नु एकदमै आवश्यक छ । अनि मात्र यो प्रभावकारी हुन्छ ।
यो गतिविधि हो, डायरी लेखन । थाहा त पक्कै होला तपाईंहरू सबैलाई, तर यतातिर ध्यान शायदै कहिल्यै दिनुभएको होला । अब ध्यान दिनुहोस् । यो काम भाषा–शिक्षकले नै गर्नुपर्छ भन्ने छैन । उसले पनि गर्न सक्छ र अन्य विषयका शिक्षक अथवा हेडमास्टरले पनि गर्न सक्छन् । तपाईंहरू आफै बसेर तय गर्नोस्— कुन कक्षामा कसले डायरी लेख्न प्रेरणा दिने । अथवा, हेडमास्टरले नै सबैलाई भेला पारेर भन्न सक्छन्: आफ्ना निजी अनुभवलाई डायरीमा लेख्ता एकातिर भाषाको विकासमा मद्दत पुग्छ भने अर्कातिर यसले सोच्न, विचार गर्न सिकाउँछ अनि राम्रो स्वभाव र बानीबेहोरा अपनाउन प्रेरित पनि गर्छ । डायरी लेख्ता चरित्र राम्रो बन्दै जान्छ अनि नैतिक स्तर पनि माथि उठ्छ ।
डायरी कसरी लेख्ने र किन लेख्ने भन्ने कुरा विद्यार्थीलाई हामीले बुझाउनुपर्छ । भन्नुपर्छ : तिमीहरूले आफ्ना वरिपरि जे देख्छौ, त्यही लेख्ने हो; जे अनुभव गर्छौ, त्यही लेख्ने हो । आफूले के देखिरहेको छु र के सोचिरहेको छु भनेर आफैलाई बताउन लेख्ने हो।— एक प्रकारले आफ्नो इतिहास आफै लेख्ने । लेख्न सिक्नु छ, त्यस कारण पनि लेख्ने हो । म कस्तो लेख्न सक्छु र आफ्नो लेखाइ कसरी अझ राम्रो बनाउन सक्छु भन्ने कुरा लेखेरै जान्ने, सिक्ने हो । यो हरेक दिन गर्नै पर्ने काम होइन, आफ्नो मर्जीअनुसार जहिलेजहिले मन लाग्छ तहिलेतहिले गर्दा हुने काम हो ।
धेरै शिक्षकलाई थाहा छ : विद्यार्थीले डायरी लेख्नु ‘राम्रो हुन्छ’ । तर, किन ? के राम्रो हुन्छ ? यस्ता प्रश्नको विस्तृत जबाफ दिन यो लेखले सघाउन सक्छ ।
शिक्षकको भूमिका हो— विद्यार्थीमा यो ‘मर्जी’ पैदा गराउनु । उसले विद्यार्थीलाई बुझाउनुपर्छ— उनीहरू सबै लेखक हुन्, उनीहरूले आआफ्नो निजी जीवनको कथा एउटा ‘किताब’ मा लेख्नुपर्छ । उनीहरूको निजी जीवन त्यस किताबमा प्रतिबिम्बित हुनुपर्छ । सानो कापीबाट उनीहरू त्यो किताब लेख्न थाल्न सक्छन् । यसको नाम ‘मेरो डायरी’, ‘मेरो किताब’ अथवा ‘मेरो कथा’ राख्न सक्छन् । कापी तयार पारेर, त्यसको नाम राखेर, त्यसमा आफ्नो नाम लेखेपछि विद्यार्थीमा त्यस कापीमा केही लेख्ने ‘मर्जी’ पैदा हुन सक्छ । क्रमशः आफ्नो जीवनका घटनाहरूलाई ध्यान दिएर हेर्ने, ती घटनाबाट त्यस दिन डायरीमा लेख्ने घटना चुन्ने मर्जी उत्पन्न हुँदै जान्छ । यसरी ध्यान दिएर हेर्ने, चुन्ने र चुन्नका लागि विचार गर्ने प्रक्रिया त्यस दिनको जरुरी काम हुन पुग्छ । डायरीको पानाले उसको जीवनका ती पलमा आश्चर्यजनक चमत्कार पैदा गर्नेछन् । उसले त्यस्तो चमत्कार महसुस गर्नेछ अनि अगाडि लेख्ता थप पुलकित हुनेछ । लेखेर प्रसन्न हुनेछ । भइरहनेछ ।
हामी डाक्टर होऊँ, इन्जिनियर होऊँ, पसले, व्यापारी अथवा उद्योगपति होऊँ, सामाजिक वा राजनीतिक कार्यकर्ता होऊँ, नेता होऊँ, सैनिक, प्रहरी अथवा हाकिम होऊँ, कुनै पनि क्षेत्रमा र कुनै पनि पद वा हैसियतमा होऊँ, चाहे शिक्षक नै किन नहोऊँ— डायरी लेख्ने गरेका छौँ भने अवश्य नै प्रसन्न हुँदा हौँला । विद्यार्थी जीवनदेखि नै डायरी लेख्ने बानी अपनाउन सक्यौँ भने हामी थाहा पाउनेछौँ— कसरी हाम्रो चरित्र चम्किँदै जानेछ र व्यक्तित्व बन्दै जानेछ । चारित्रिक विकासका लागि अनि व्यक्तित्व निर्माणका लागि डायरी लेखन एउटा उत्तम माध्यम हो । हामीले विद्यालयका अतिरिक्त क्रियाकलापमा यसलाई अवश्य स्थान दिनुपर्छ ।
डायरी लेख्नु एक प्रकारले पत्र लेख्नु हा। तर यो पत्र आफैलाई लेखिन्छ । हामी कसैलाई कुन बेला पत्र लेख्छौँ ? जब केही भन्नुपर्ने हुन्छ । यसलाई उल्टाएर भन्नुपर्दा यसरी भन्न सकिन्छ— पत्र लेख्ने भनेर अठोट गरिसकेपछि हामी सोच्न थाल्नेछौँ: के लेख्ने त ? यो सोचाइ, यो सोच्ने प्रक्रिया आफैमा निकै ठूलो काम हो । सोचेर लेख्नका लागि कुनै उपयुक्त प्रसङ्ग खोज्नुपर्ने हुन्छ । यसरी प्रसङ्ग खोजिनिकाल्नु ज्यादै महत्वपूर्ण सृजनात्मक प्रक्रिया हो । यस प्रक्रियाले हाम्रो व्यक्तित्व निर्माण गर्छ र चरित्रलाई विकसित हुन मद्दत पुर्याउँछ ।
डायरी लेखन यस्तै काम हो । यो सृजनात्मक प्रक्रिया किन हो भने यसमा आफैलाई पत्र लेख्न कुनै विषय, कुनै घटना, कुनै कुरा खोज्नुपर्छ । बिनाविषय, बिनाप्रसङ्ग के लेख्ने ? प्रसङ्ग सोचेपछि, विषय ठम्याएपछि पो लेख्ने ! पहिले त ‘लेख्नु नै छ’ भनेर तय गर्ने । तय गरेपछि विषय वा प्रसङ्ग खोज्नै पर्यो । ठम्याउनै पर्यो । अथवा यसरी भनौँ— लेख्नु छ भनेर तय गरि नै सकेपछि विषय वा प्रसङ्ग पनि फेला परि नै हाल्छ । केकस्ता हुन सक्छन् त ती विषय ? एउटा संस्थाले आफ्ना विद्यार्थीलाई डायरी लेखनको अभ्यास गराउने उद्देश्यले तयार पारेको २४ पाने कापीको अन्तिम पृष्ठमा दिइएको सुझावमूलक निर्देशनबाट त्यसको झ्लक पाउन सकिन्छ । ‘मेरो किताब’ नाम दिइएको त्यस कापीमा सबैभन्दा पछाडिको पानामा लेखिएको थियो :
यो तपाईंको किताब हो । तपाईं यसको लेखक हो । तपाईं यस किताबमा जे पनि लेख्न सक्नुहुन्छ । दुनियाँका कुरा; विश्व–ब्रह्माण्डका कुरा; तपाईं, म र उसका कुरा । गाउँका कुरा, शहरका कुरा, टोलका कुरा । हिजो–आज सुनेका छरछिमेकका कुरा । देखेका कुरा, मनमा लागेका कुरा । बजारमा जे देख्नुभो, सुन्नुभो, आज अथवा कुनै दिन । मन्दिर, मस्जिद, गिर्जाघरमा जे देखियो–सुनियो, आज अथवा आजभन्दा पहिले । दशैँ, तिहार अथवा कुनै चाडपर्व यसपालि कसरी मनाइयो । कुन किताब पढ्नुभो, त्यो किताबमा के मन पर्यो, के मन परेन, अलिकति ती कुरा । हजुरआमा–हजुरबाले केको कथा सुनाउनुभयो । मन परेको चुटकिला । बाटामा, टोलमा, रेडियोमा सुनेको गीत । मेलामा, चाडपर्वमा मानिसले गाएको गीत । पूरा अथवा आधा, जति सम्झाइदिन्छ त्यति । खेलका कुरा— डन्डीबियो, कपर्दी, फुटबल, आसपास, चेस, क्यारम आदि । खेतका कुरा, बगैँचाका कुरा, फूलबारीका कुरा । त्यहाँ केके गरिन्छ, त्यो । रूखका कुरा— कस्ताकस्ता रूख कहिले, कहाँ देखिए । घाँसपातका कुरा । काम लाग्ने घाँस, काम लाग्ने फोहोर, काम नलाग्ने फोहोर । दूध–दही–मोहीका कुरा । गाईवस्तुका कुरा । कुकुर, बिरालाका कुरा । भेडा–बाख्रा, चरा, कुखुराका कुरा । चिडियाखानाका कुरा । चराचुरुङ्गीको रूप र आवाज । बाघ र बाँदरको स्वभाव । मन परेका कविता । मन परेको सिनेमाबारे केही कुरा । पटक्कै मन नपरेको सिनेमाबारे अलिकति कुरा । राम्रा गुरुहरूको कुरा, किन ती मन परे भन्ने कुरा । बूढाबूढीका कुरा, तिनले भन्ने गरेका कुरा । तिनलाई चाहिएका कुरा । साथी, गुरु, छिमेकी, पसले, खेलाडी, ड्राइभर, धोबी, किसान, हिरो, चौकीदारका कुरा । जे पनि ।
जहिले लेखे पनि, जे लेखे पनि, जति लेखे पनि त्यस दिनको मिति अवश्य लेख्नुहोला ।
त, तपाईं पनि आफ्ना विद्यार्थीलाई डायरी लेखनबारे यस्तै र अझ् नयाँनयाँ सुझाव दिन सक्नुहुन्छ । जसले स्वयम्, स्वेच्छाले, कुनै बेला, कुनै पनि कुरा आफ्नो कापीमा डायरीका रूपमा लेख्ने प्रयास गर्नेछ; उसको भाषाज्ञान बढ्नेछ, अभिव्यक्ति शक्ति बढ्नेछ अनि व्यक्तित्व निर्माण हुँँदै जानेछ । उसलाई दुःखले भरिएका दिन र सुखले भरिएको समयको वर्णन गर्न आउँदै जानेछ । जीवनलाई हेर्ने दृष्टिकोण विकसित हुँदै जानेछ ।
बालबालिकामा स्वतन्त्र एवम् रचनात्मक लेखन क्षमताको विकासका लागि डायरी लेखन उपयोगी गतिविधि हुन सक्छ । शर्त एउटै छ— यसलाई उनीहरूमाथि थोपर्नु हुँदैन । यसबारे उनीहरूमा ‘मर्जी’ पैदा गराउनुपर्छ । शिक्षकको भूमिका त्यहीँ छ । डायरी लेखनले विद्यार्थीको सृजनात्मकता त बढाउँछ नै, चरित्र र व्यक्तित्वको समेत निर्माण गर्छ ।
अमेरिकाका एक जना शिक्षक एरिक ग्रुवेलले शहरी क्षेत्रका हिंसा, अपराध र गरिबीले ग्रस्त सुकुम्बासी बस्तीका स्कूलहरूमा पढ्ने केटाकेटीलाई डायरी लेख्न सिकाउने अभियान चलाएका थिए । डायरी लेख्तालेख्तै उनीहरूमा यस्तो आत्मविश्वास भरियो, यस्तो संस्कार पैदा भयो; जसका कारण ती केटाकेटी उपद्रवी, हिंसक स्वभाव छोडेर सुसंस्कृत नागरिक बन्न पुगे र उच्च पदहरूमा काम गर्न लायक हुन पुगे । डाक्टर, इन्जिनियर, पाइलट, कलाकार, साहित्यकार भए । ग्रुवेलको यस प्रयोगबारे उनको किताब ‘फ्रिडम राइटर्स डायरी’ (ब्रोडवे बुक्स, न्युयोर्क) मा विस्तारपूर्वक वर्णन गरिएको छ । उनको त्यस चमत्कारी कार्यबारे एउटा सिनेमा पनि बनेको छ (मैले त्यो सिनेमा हेरेपछि नै उनको पुस्तक खोजेर पढेको हुँ) । डायरी लेखनको महत्व बुझेर जुन शिक्षक यस विधिको प्रयोग आफ्नो कक्षा अथवा विद्यार्थीमा गर्छ, उसले यसको लाभकारी प्रभाव अवश्य देख्न सक्छ । उनीहरूको स्वभाव, आचरण र व्यक्तित्वमा आएको फरक निश्चय नै दर्शन गर्न सक्छ ।
अन्त्यमा दुई शब्द, शिक्षक स्वयम्को डायरीका लागि । तपाईं विद्यार्थीमा अभिव्यक्तिको अभ्यास बढाउन, उनीहरूलाई नयाँ संस्कार दिन र उनीहरूको व्यक्तित्व निर्माण गर्न सघाउ पुर्याउने उद्देश्यले डायरी लेख्न लगाउनुहुन्छ भने आफू स्वयम् पनि डायरी लेखेर आफ्नो भलो गर्न सक्नुुहुन्छ । फाइदा लिन सक्नुहुन्छ । शिक्षकलाई एउटा डायरी विद्यालय प्रशासनले लेख्न लगाउन सक्छ । अर्को डायरी भने निजी लाभका लागि ऊ स्वेच्छाले लेख्न सक्छ । विद्यार्थीहरूका बीचमा अनि विद्यालयका अन्य शिक्षक तथा कर्मचारीबीच उसले जे अनुभव गर्छ, त्यसैलाई बेलाबखत घरको आफ्नो डायरीमा लेख्तै जाने हो भने त्यसबाट भविष्यमा निकै फाइदा हुन सक्छ । उसको व्यक्तित्व बन्छ । चारित्रिक उत्थान हुन्छ । डायरी लेख्न बस्ता, जहिले पनि, कुन घटनाबारे लेख्ने र कसरी, के लेख्ने भन्नेबारे उसले विचार गर्नुपर्ने हुन्छ । यसले उसलाई चिन्तनशील बनाउनेछ र उसको भाषा तथा लेखनशैली प्राञ्जल बन्नेछ । एक–दुई पृष्ठ लेखिसक्नासाथ उसले सफलताको दिव्य प्रतीति गर्नेछ । लेख्न सजिलो हुँदैन ।
लेखेपछि नै उसले थाहा पाउनेछ, लेख्न कति कठिन छ र कति सरल छ । अनि उसले के पनि बुझनेछ भने लेख्नु फाइदाजनक मात्र नभएर आनन्ददायकसमेत रहेछ । त्यस बेला उसले आफूलाई विद्यार्थीको ठाउँमा राखेर हेर्न र सोच्न सिक्नेछ । यस प्रक्रियामा उसको सृजनात्मक शक्ति विकसित हुनेछ । तब नै ऊ विद्यार्थीको सृजनात्मक विकासका आयाम पहिल्याउन सक्ने बन्नेछ । विद्यार्थी र उसको सँगसँगै विकास हुनेछ । त्यो डायरीले भविष्यमा गएर उसको शैक्षिक चिन्तन प्रतिबिम्बित गर्ने पुस्तकको रूप लियो भने पनि अनौठो हुने छैन ।
(साभार : शिक्षा विमर्श, नोभेम्बर–डिसेम्बर, २०१४)
भाषान्तर : शरच्चन्द्र वस्ती
शिक्षक मासिक, २०७१ माघ अंकमा प्रकाशित ।