तुलना गरेर सिक्ने–सिकाउने काइदा !

बालबालिकाहरू आफू जस्तै स–साना कुराहरू देख्छन् अनि त्यसैमा जिज्ञासा राख्छन् । उनीहरूको दृष्टि सूक्ष्म हुन्छ । यस्तो सूक्ष्म दृष्टिले नै होला, बालबालिका भन्दा हामी फरक छौं, उनीहरूले देख्ने कुरा हामीले देख्दनौं । यस लेखमा कक्षा–१ र २ का विद्यार्र्थीहरूको सूक्ष्म हेराइ र मैले देखेका कुराबीच तुलना गर्दैछु । अनि मेरी ७ वर्षकी छोरीका कुरा पनि ।

केही महीनाअघिको एक बिहान । म तोरीको पीनाले नाङ्लो लिप्दैथिएँ । छोरी नाङ्लो लिपेको ध्यान दिएर हेर्दै थिइन् । नाङ्लो लिप्दै गर्दा छोरीका हात–खुट्टामा आएका स–साना बिमिरा सम्झिएँ र मनमनै सोचें ‘पीनाले नुहाइदिए निको हुन्थ्यो कि !’ छोरीलाई पीनाले नुहायो भने बिमिरा सञ्चो हुन्छ भनेर बुझाएँ ।

मैले पीनाको महत्त्व सानो छँदा नै थाहा पाएकी थिएँ । हजुरआमाले पीनाले नुहायो भने शरीर सफा हुन्छ भन्दै हामीलाई पीनाले नुहाइदिनुहुन्थ्यो । ८६ वर्षकी हजुरआमा अहिले पनि कपाल पीनाले नुहाउनुहुन्छ । पीनाले नुहाएमा कुनै किसिमका फोका–बिमिरा आउँदैन भन्नुहुन्छ । त्यसैले म पनि छोरीलाई यो कुरा बुझाउन चाहन्थें । मेरो कुरा सुन्नासाथ छोरीले भनिहालिन्, “के म नाङ्लो हो र पीना लगाउने ?” उनको बुझाइ र तुलना कति सहज छ ! उनले पीनाले नुहाएको देखेकी भए शायद सजिलै नुहाउन मान्थिन् कि ! तर देखेकी थिइन्— नाङ्लो लिपेको मात्र ।

यस्तैगरी उनले आफूसँगै खेल्ने एक जना साथीलाई निकै नजिकबाट नियालेकी रहिछन् । एक दिन उनले सोधिन्, “आमा, किन कोही मान्छे धेरै कालो र कोही मान्छे धेरै गोरो हुन्छन् ?” उनको यो प्रश्नले मलाई एकछिन साँच्चै नै सोच्ने बनायो । मैले उनलाई मानिसहरू कालो र गोरो हुनुमा उनीहरूको वंशाणुगत गुण भन्ने जानेको जवाफ दिएँ । तर यस विषयमा मैले छोरीलाई बुझाउनुपर्ने जति बुझाउन सकेकी रहिनछु । त्यसको केही दिनपछि डा.अरुणा उप्रेतीद्वारा लिखित ‘खाना खानुभयो ?’ पुस्तकमा खानेकुरा र हाम्रो खाने आनीबानीको बारेमा पढ्ने क्रममा मानिस कालो र गोरो हुनुमा शरीरमा भएको ‘मेलानिन’ भन्ने पदार्थ निर्णायक हुन्छ भन्ने थाहा पाएँ । जति बढी मेलानिन भयो उति कालो तथा मेलानिन को मात्रा कम भएमा गोरो हुने रहेछ । यो कारण बारेमा छोरीलाई थाहा नभए पनि उनले मानिसहरूको रूप–रङमा देखिएको भिन्नता तुलना गरेर प्रश्न गरेकी हुन् ।

त्यस प्रश्नबाट मैले बालबालिकाले कति धेरै तुलनात्मक कुरा आफैं भेट्टाउँदा रहेछन् भन्ने कुरा महसूस गरें । बालबालिकाका दिमागमा दर्जनौं तथा सयौं जिज्ञासा आउँदा रहेछन् । मलाई त उनीहरूले वस्तु पहिचान गर्न पनि तुलना गरेर नै सिके जस्तो लाग्दछ ।

एक जना सहकर्मी मिस गर्भवती हुनुहुन्थ्यो । कक्षा–१ का एक विद्यार्थीले मिसलाई भेटेको पहिलो दिनमै सोधे— ‘मिस किन हजुरको पेट यति ठूलो भएको ?’ यो प्रश्नको जवाफ सजिलो थिएन । मिसले जवाफ दिन नभ्याउँदै उनले फेरि प्रश्न गरे, ‘मेरो ममीको पेट त यस्तो छैन नि त !’ पछिल्लो कुराबाट, उनले सामान्यतः कसैको पेट त्यति ठूलो हुँदैन, किनकि उनकी आमाको पेट ठूलो छैन भन्ने प्रमाण पेश गरे । साँचो कुरा बताउन मिसले अप्ठ्यारो मान्नुभयो, उहाँले सहजैसँग भन्दिनुभो, ‘खोइ के भयो के भयो, मेरो त पेट यस्तै छ ।’ तैपनि कुरा सकिएन । ती बालकले मिसलाई समाधान पनि सुझए— पेट घटाउने ‘सेल्फ स्लिम बेल्ट’ किनेर लगाउने । यसबाट बालबालिकाले तुलना सँगै समाधानका उपायहरू पनि आफैं पत्ता लगाउन सिकिरहेका हुन्छन् भन्ने सहजै थाहा पाउन सकिन्छ । यस्तो कुरा आफूले टीभी हेरेर थाहा पाएको कुुरा पनि ती बालकले हामीलाई सुनाए ।

कक्षा–१ /२ का बालबालिकाको उमेर भनेको सामान्यतया ६ वा ७ वर्ष हो । यस उमेरका बालबालिकाको उमेरगत विशेषता नै कुनै पनि वस्तुलाई प्रत्यक्ष हेरेर, छोएर, तुलना गरेर सिक्न मनपराउने हुन्छ । यो उमेरका बालबालिकालाई यसरी सिक्ने अवसर मिलाउन सकेमा सिकाइ प्रभावकारी हुने कुरा मनोवैज्ञानिक जीन पियाजेले पनि भनेका छन् । उनले यस उमेरगत समूहलाई तीन चरणमा विभाजन गरेका छन् । बालबालिकालाई हामीले तुलनात्मक रूपमा सिक्ने–सिकाउने अवसर दिन सकेको अवस्थामा उनीहरूको सिकाइ दीर्घकालसम्म रहन सक्छ । उनीहरूलाई सरलबाट जटिल, मूर्तबाट अमूर्त तथा हेरेर, छोएर, गरेर सिक्ने–सिकाउने अवसर दिनुपर्छ । यसो गरेमा मात्र उनीहरूको तुलनात्मक क्षमता अझ् निखारिन्छ । उनीहरू कक्षाकोठाबाट पनि धेरै कुरा तुलना गरेर सिकिरहेका हुन्छन् ।

मैले कक्षा–२ का बालबालिकालाई प्रथम त्रैमासिक परीक्षा सकिएर त्यसपछिको पढाइ शुरू हुने दिन ‘तिमीहरूको प्रथम त्रैमासिकमा के–के कुरा कमी थियो र के–के कुरा यो चरणमा सुधार गर्न चाहन्छौ ?’ भन्ने आशयको प्रश्न गरेकी थिएँ । प्रश्नसँगै उनीहरू प्रत्येकको बारेमा मेरो अवलोकन पनि थियो । तर त्यो अवलोकन नसुनाइकन उनीहरूलाई नै पहिला भन्न लगाएँ । मेरो जे अवलोकन थियो उनीहरूबाटै त्यही कमी–कमजोरी रहेको कुरा आयो । अनि मैले त्यसलाई सुधार गर्न के गर्नुपर्छ ? भनेर सबैलाई भन्न लगाएँ । सबैले आ–आफूले दोस्रो त्रैमासिक अवधिमा सुधार गर्नुपर्ने कुराहरू एक–एक गरी बताए । ती उपाय उनीहरूका आफ्नै थिए न कि मेरा । यसमा अझ् राम्रो कसरी बन्न सकिन्छ भनेर उनीहरूले नै पहिले र पछिको राम्रो तुलना गरेको पाएँ ।

त्यस्तैगरी, आफ्नो रुब्र्रिक्स (स्तर निर्धारणको कागज) मा पहिलो र दोस्रो त्रैमासिक परीक्षामा पाएको ग्रेडिङ पनि उनीहरू आफैंले तुलना गरे । एक जना विद्यार्थीले भने, “मिस, मेरो पहिलेभन्दा राम्रो भएको रहेछ है ।” पहिले ब् आएको थियो अहिले ब्ं आएको छ भन्दै आफैं तुलना पनि गरे । उनीहरू मध्येकै एक छात्राले चाहिं पहिले आफूले कक्षा कार्य समयमा नसक्ने गरेकोमा ‘अबदेखि म समयमा काम गर्छु’ भनी आफैंले बाचा–बन्धन गरिन् । त्यसपछिका दिनमा उनले काम पनि समयमै गर्न थालिन् ।

मेरो खुशीको सीमा रहेन । यसरी बालबालिकालाई आफैं तुलना गर्न दिंदा कुरा बुझउन सजिलो हुनेरहेछ । उनीहरूले आफ्ना कुरालाई आफैंले जोडेर, तौलेर हेर्न सक्ने रहेछन् । हुन पनि; बालबालिकाहरू स्वभावैले साँचो बोल्ने अनि सरल हुन्छन् ।

त्यसैले मैले पढाउँदा पनि सकेसम्म/पाइएसम्म तुलना गरेर सिकाउन मिल्ने सामग्री प्रयोग गर्ने गर्छु । बालबालिकाले एक ठाउँमा भनेका कुरालाई अर्को ठाउँको सन्दर्भसँग जोडेर सिक्न खोज्छन् । पीनाले नुहाउनु र नाङ्लोमा पीना लगाउनु सन्दर्भ नमिलेर छोरीले शुरूमा मेरो कुरा नमानेकी हो कि ?

राम्रो काम गर्ने साथीको कामको उदाहरण दिएर कक्षाका अन्य साथीहरूलाई पनि उनीहरू जस्तै बन्न प्रेरणा दिइरहँदा त्यसको फाइदा राम्रा हुँदोरहेछ । कक्षामा यस्तै कुरा बारम्बार सुन्नाले पनि उनीहरूमा तुलनात्मक सीप विकास भइरहेको हुँदोरहेछ । खासगरी कक्षा–१ र २ मा पढ्ने बालबालिकामा यस किसिमको तुलनात्मक सीप छिटो छिटो विकास भएको पाएकी छु । “आज त म छिटै खाना खाएर फस्ट भएको नि उसले भन्दा छिटो खाएँ, मिस” भन्दै सुनाउने गर्छन् । यी कुराहरूको अन्तर्निहित कुरा भनेको तुलना नै हो । दाँजेर नै सिकेको हो । यस्तो वातावरणले धेरै कुरा तुलना गर्दै सिक्ने सीपको विकास हुँदोरहेछ ।

पढाउने शिक्षक भिन्न–भिन्न । शिक्षकको शिक्षण सिकाइ तरिका भिन्न–भिन्न । अनि बालबालिकालाई शिक्षकले उनीहरूको ध्यान आफूतर्फ आकर्षण गर्ने तरिका पनि भिन्न–भिन्न हुने गर्दछ । यी यस्तै भिन्न चिजबीज उनीहरूलाई सिकाइएको हुन्छ । उनीहरूले हाम्रो व्यवहारबाट पनि धेरै कुरा बुझेका हुन्छन् । मिसले कस्तो व्यवहार मनपराउनुहुन्छ ? अनि, उनीहरू पनि त्यस्तै खालको व्यवहार गर्न थाल्छन् । मिस अनुसार उनीहरूले फरक–फरक व्यवहार गर्छन् । अर्को मिस जाँदा फेरि अर्कै किसिमको वातावरण बनाइदिन्छन् । जो मिस उनीहरूलाई मनपर्छ त्यो विषयप्रति उनीहरूले देखाउने व्यवहार नै फरक हुन जान्छ । पक्कै पनि उनीहरूले हामी शिक्षक–शिक्षकहरूबीचको पनि राम्रै तुलना गरिरहेको कुरा यसबाट पनि बुझन सकिन्छ ।

त्यसैले, हामी शिक्षकले सबै बालबालिकासँग समान व्यवहार गर्नुपर्छ । उनीहरूले गरेको तुलनालाई सम्मान गर्नुपर्छ । यसबाट पनि उनीहरूको अवलोकन, मूल्याङ्कन र कुनै कुराको निक्र्योल गर्न सक्ने क्षमताको विकास भइरहेको हुन्छ ।

अक्षरा स्कूल, काँडाघारी, काठमाडौं

२०७६ चैत अंकमा प्रकाशित । 


commercial commercial commercial commercial