कर्तव्यबोध र जवाफदेहिताको चक्रमा व्यक्ति
अधिकव्यक्तिको प्रवृत्ति
आमनागरिकले कुनै काम भएन भन्नुलाई स्वाभाविक मान्न सकिन्छ । तर काम गर्ने अधिकार पाएकाले नै उक्त काम भएन भन्नुलाई के भन्ने ? अहिले अरूले काम गरेनन् अर्थात् ठीक गरेनन् भन्नेहरू धेरै भेटिन्छन् । अरूले काम गरेनन् भनिरहँदा यिनले आफूले ठीक काम गरेको दाबी गर्न पनि भुल्दैनन्, बिग्रे भत्केको अरूले नै गर्दा हो भन्ने ठान्छन् । पूरा समय कार्यालयमा नबस्ने कर्मचारीलाई सोध्ने हो भने उसले अरूले गर्दा बिग्रियो भन्छ, कक्षाकोठामा नियमित नपढाउने शिक्षकलाई सोध्दा उसले पनि अरूले नै गर्दा बिग्रियो भन्छ, अझ कमजोर शिक्षानीतिकै कारण यस्तो भएको हो भन्ने ठान्छ । सडकमा फोहोर फाल्नेलाई नै सोध्ने हो भने पनि यसको उत्तर अरूले नै शहर फोहोर पारे भन्ने हुन्छ । निजी विद्यालय चलाउने शिक्षक, कर्मचारी वा नेतालाई सोध्दा उनीहरूले दिने उत्तर पनि सार्वजनिक शिक्षा अरूले नै ध्वस्त गरे भन्ने हुन्छ ।
यसैगरी, घूस नलिइकन काम नगर्ने कर्मचारी अरू सबैलाई घुस्याहा र भ्रष्टाचारी देख्छ । राजनीति गर्ने कर्मचारी वा शिक्षक आफू कार्यथलोमा नबसे पनि दोष अरूको थाप्लोमा हाल्न पोख्त हुन्छन् । सरकारी डाक्टर निजी अस्पताल वा निजी क्लिनिकमा काम गर्दै अरूले सार्वजनिक वा सरकारी अस्पताल बिगारेको भन्ठान्छन् भने आफू नपढ्ने र कक्षामा नपढाउने प्राध्यापकले उच्च शिक्षा ध्वस्त पार्ने अरू नै ठान्छन् । हरेकले अरूको कमजोरी वा दोष मात्र देख्छ । आखिर, किन यस्तो हुन्छ यहाँ ? र, कहिलेसम्म यस्तो अवस्था भोग्नुपर्ने हो आम नेपालीले ?
कर्तव्यबोध र अधिकारको बहस
आमनागरिकले महसूस गरिरहेको माथिको अवस्थाको उत्तर खोज्न अधिकारसँगै हरेकको कर्तव्यका बारेमा पनि विश्लेषण गरिनुपर्छ । व्यक्तिका हकमा पहिला कर्तव्य कि अधिकार ? कर्तव्यलाई पहिला राखेमा व्यक्तिले शुरूमा मैले गर्नुपर्ने काम के हो भनेर सोच्छ । पहिला अधिकारका बारेमा सोच राख्नेले आफूले पाउनुपर्ने के हो भन्नेमा ध्यान केन्द्रित गर्छ । तर सुधारका कामको शुरूआत हरेक व्यक्तिले पालना गर्ने कर्तव्यबाट हुन्छ । यसलाई उत्तरदायित्व वा जवाफदेहिताको परिपालना पनि भन्न सकिन्छ ।
जबसम्म व्यक्तिले आफ्नो कर्तव्य बोध गर्न सक्दैन, कर्तव्य पालना गर्न सक्दैन, त्यतिबेलासम्म व्यक्तिको दृष्टिदोषमा सुधार ल्याउन सम्भव हुँदैन । हरेक व्यक्तिले कर्तव्य बोध गरी सोको परिपालना गर्ने हो भने मात्र विद्यमान अवस्थामा सुधार शुरू हुन सक्छ । सार्वजनिक पद धारण गर्नेले कर्तव्य बोध के–कति मात्रामा गरेको छ भन्ने सबैभन्दा ठूलो विषय हो । यसले व्यक्तिलाई आफ्नो जिम्मामा रहेको काम आफैंले गर्ने संस्कार विकास गराउँछ ।
माथि उल्लेख गरिएका कुरा अत्यन्त आदर्श जस्ता लाग्छन् । सबैले कर्तव्य बोध गर्ने वा कर्तव्यको पालना गर्ने कार्य त आदर्श समाजमा मात्र सम्भव हुन्छ भन्न सकिन्छ । अहिलेको समयमा यस्तो अवस्था कहाँ पाउनु भन्न पनि सकिएला । तर हाम्रो समाज त्यति धेरै बिग्रिसकेको छैन । समाजमा सकारात्मक सोच भएका व्यक्तिहरू पनि छन्, भलै यस्ता व्यक्तिहरूको संख्या थोरै होला, तर छन् र यिनकै कारण समाज चलायमान छ । यही अवस्था सार्वजनिक संस्थामा पनि छ । तिनै असल नियतका व्यक्तिले पालना गरेको कर्तव्य बोधले समाज र संगठन चलेको छ । बाटो बिराएकाहरूलाई यसतर्फ ल्याउनमा पनि यस्ता व्यक्तिहरूको महत्वपूर्ण भूमिका छ । हाम्रो प्रयास यस्ता सकारात्मक सोच भएका व्यक्तिहरूको संख्या बढाउँदै लैजाने हो । बढाउनका लागि प्रयास गर्ने हो, जसबाट नै समाजमा रहेका विकृति, असंवेदनशीलता र असहिष्णुता घटाउन सकिन्छ ।
समाजको चरित्र र कर्तव्यबोध
कुनै पनि समाज कानूनद्वारा मात्र निर्देशित र परिचालित हुन सक्दैन । हरेक समाजका आफ्नै नियम, बन्धन, संस्कार र मान्यता रहेका हुन्छन् । भनाइको मतलब कानून र सामाजिक मूल्यमान्यताको आधारमा समाज चल्छ । यी दुईले एकअर्कालाई निरन्तर रूपमा प्रभाव पार्छन् । समाज संक्रमणकालमा रहनु भनेको यी दुईको पालनामा कमी–कमजोरी आउनु हो । समाज एउटा अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्ने क्रममा अनुभव गरिने वा देखिने अवस्था संक्रमणकाल हो । यस अवस्थामा समाजका पुराना मान्यता भत्कने र नयाँ बन्ने क्रम निरन्तर रूपमा भइरहेको हुन्छ । नेपाली समाज अहिले यही अवस्थाबाट गुज्रिरहेको छ । प्रविधि, मानव सोच, युद्ध, प्राकृतिक विपत्ति, दबाब, महासंकट आदि कारणबाट समाज बदलिने क्रमको गतिमा पनि बदलाव आउने गर्दछ । व्यक्तिको हकमा पनि यो लागू हुन्छ । त्यही भएर नै संक्रमणकालीन अवस्थाको व्यवस्थापन गर्न नयाँ–नयाँ कानून र सामाजिक मूल्यमान्यता विकास गर्दै जानुपर्छ भन्ने गरिन्छ ।
शिक्षा समग्र समाजको एउटा उप प्रणाली भएकोले समाजको संक्रमणकालीन अवस्थाको असर शिक्षा व्यवस्थापनमा पर्दछ । सार्वजनिक विद्यालयको अवस्था किन सुध्रिएन भने यस्ता विद्यालयले आफूलाई समाज विकासको गति अनुसार बदल्न सकेनन् । अझ् भनौं नयाँ समाजका आकांक्षा र मूल्यमान्यता सम्बोधन गर्नुपर्छ भन्ने बारेमा या त यिनले सोचेनन् वा सोच्न सकेनन् । बदल्नका लागि नयाँ कार्य शैली चाहिन्थ्यो, नयाँ मूल्यमान्यता चाहिन्थ्यो, कर्तव्यबोध सोही ढंगबाट गरिनुपथ्र्यो जसलाई विज्ञहरूले जवाफदेहिता वा उत्तरदायित्व वहन जस्ता नाम दिएका छन् । अझ् सरल अर्थमा भन्नुपर्दा अधिकारप्राप्त व्यक्ति र निकायले आफूले गर्नुपर्ने काम गरे गरेनन्, जिम्मेवारी पूरा गरे÷गरेनन् र अन्त्यमा कर्तव्यबोध गरे गरेनन् भनेर आत्ममन्थन गर्ने र सोही बमोजिमका कार्य अगाडि बढाउने काम नै भएनन् । भए गरेका कामबाट सृजित असर र प्रभावको जिम्मा लिने संस्कार भन्दा पनि अर्कालाई दोष लगाउने पद्धति बस्यो । जसले कर्तव्यबोध गर्नुपर्ने थियो सो हुन सकेन । जसको जिम्मामा जुन काम छ सो उसको कर्तव्य हो, ड्यूटी हो, जुन व्यक्ति आफैंले गर्नुपर्छ र त्यसबाट सिर्जित असरको जिम्मा पनि आफैंले लिनुपर्छ, जुन विगतदेखि अहिलेसम्म हुन सकेन । कर्तव्य पालना भएको अवस्थामा सुधार देखिएको छ ।
कर्तव्य परायण र जवाफदेही बनाउने उपाय
हामीलाई लाग्छ, एउटा पत्र पठाएको भरमा वा ‘यस्तो गर’ भनेका भरमा व्यक्तिमा परिवर्तन आइहाल्छ, व्यक्तिलाई कर्तव्यबोध भइहाल्छ र व्यक्तिले सोको पालना गरिहाल्छन् । तर यो काम त्यति सजिलो छैन । कर्तव्यबोध, उत्तरदायित्व वा जवाफदेहिता पालना गर्ने बनाउनका लागि व्यक्तिलाई आन्तरिक रूपमा नै तत्पर बनाउन कसै न कसैले उपयुक्त वातावरण बनाइदिनुपर्छ । यतिले मात्र पनि नपुग्न सक्छ, जस पश्चात दबाबका कार्यहरू अवलम्बन गर्नुपर्ने हुनसक्छ । जसका लागि स्वमूल्याङ्कन, नतिजाको सार्वजनिकीकरण, नागरिक सुनुवाइ, सार्वजनिक सुनुवाइ आदि उपयोगी हुनसक्छन् । स्वचालित पद्धति पनि उपयोगी हुनसक्छ । यस्तो नतिजा ल्याए प्रोत्साहन पाउने, ल्याउन नसके भोग्नुपर्ने अवस्थाको चित्रण स्वचालित रूपमा आउने पद्धति (जहाँ व्यक्तिले म्यानिपुलेट गर्ने सम्भावना नरहोस्) बनाउन सकेमा अवस्थामा सुधार आउँछ । हाम्रो जस्तो मुलुकका लागि अहिले दबावमूलक पद्धति बढी उपयुक्त हुनसक्छ ।
व्यक्तिलाई कर्तव्य पालना गर्ने कसरी बनाउने त ? यसका लागि कानून, नियम र आचारसंहिता त बनेका छन्, तर पनि अवस्थामा सुधार आएको छैन । आखिर किन त ? यसमा थप मनन् गर्नुपर्ने देखिन्छ । हामी सबैमा भिन्न भिन्न खालका सीप छन्, फरक क्षमता छन् । यसैगरी फरक–फरक आदत छन् र कार्य संस्कार पनि फरक–फरक छन् । व्यक्तिलाई कर्तव्यपालना गर्न सक्ने बनाउनका लागि व्यक्तिका यिनै सीप, क्षमता, आदत, बानीव्यहोरा र संस्कारमा परिवर्तन ल्याउन सक्नुपर्छ । यी पक्षमा सुधार नगरिकन व्यक्तिको व्यवहारमा परिवर्तन आउन सक्दैन । त्यही भएर सीप भएर काम नगर्ने भन्दा सीप नभए पनि काम गर्न उत्सुक र जागरुक कर्मचारी संस्थाका लागि उपयोगी हुन्छ भन्ने गरिएको हो । किनकि सीप विकास छिटै गर्न सकिन्छ, तर आदत र बानीव्यहोरा बदल्नका लागि समय लाग्छ । आदत र बानीव्यहोराले नै व्यक्तिलाई आशावादी, भविष्यप्रति सकारात्मक सोच राख्ने बनाउने र समस्यामा केन्द्रित हुने बनाउन सक्छ किनकि यस्ता व्यक्तिले हाम्रा समस्या हामी आफैंले समाधान गर्नुपर्छ भन्ने सोच्छन् ।
कर्तव्यबोध गराउने विषय यतिले मात्र पनि नपुग्न सक्छ । व्यक्तिको आदत बनाउने वा निर्माण गर्ने कार्य त्यति सजिलो त कहाँ होला र ? व्यक्ति तयार हुनुपर्छ, व्यक्ति सुधारका लागि प्रतिबद्ध हुनुपर्छ भन्ने विषय त सिद्धान्त भयो । कुनै पनि व्यक्तिलाई काम प्रति प्रतिबद्ध, जागरुक र उत्प्रेरित बनाउन स्वअध्ययन, तालिम, दबावमूलक वातावरण निर्माण, सहकार्य, प्रोत्साहन जस्ता उपायहरू उपयोगी हुन सक्छन् । यीमध्ये सबैभन्दा उपयोगी स्वअध्ययन, आत्मचिन्तन वा आत्ममनन नै हो । स्वअध्ययन वा आत्ममननले व्यक्तिलाई कर्तव्य, नैतिक दायित्व, जिम्मेवारी आदि के हो भन्ने बारेमा सोच्न प्रेरित गर्न सक्छ । यसले व्यक्तिलाई म केका लागि यस पदमा छु भन्ने सोच्न घचघच्याउन सक्छ । अन्त्यमा मानव हित र भलाइमा मेरो भूमिका र दायित्व के भन्ने बारेमा सोच्ने बनाउन सक्छ । मेरो लागि राज्यले जनताले तिरेको करको रकम प्रयोग गरेको छ भन्ने जस्ता आत्मानुभूति गर्ने, स्वमूल्याङ्कन गर्ने तथा मनन गर्ने प्रश्नहरूमा आत्ममन्थन गर्ने बनाउन सक्छ । यस विधिबाट व्यक्तिको आदत र बानीव्यहोरा परिवर्तन गर्न समय त लाग्न सक्छ, तर सो व्यवहार दिगो हुन्छ ।
व्यक्तिलाई जवाफदेही र कर्तव्यपालना गर्ने बनाउनका लागि ‘सेल्फ गभर्निङ’ र स्वचालित पद्धतिको पालना गर्नेतर्फ पनि जोड दिनुपर्छ । स्वचालित प्रणालीबाट आउने सूचनाले व्यक्तिको कार्य सम्पादन जनाउने पद्धति बनाएर सोलाई नै कर्तव्यपालनाको मापक बनाउन सकिन्छ । विद्यार्थीले विषयगत रूपमा हासिल गरेको उपलब्धि एउटा मापक हुनसक्छ । यसैगरी समयमा काम सक्ने र समाधान गरेका समस्या अर्को सूचक बन्न सक्छ । यस्ता सूचक वा मापक तथा सम्भव भएसम्म वस्तुगत बनाउन सक्नुपर्छ । सार्वजनिक सेवामा सेवाग्राहीको गुनासो अर्को मापक बन्न सक्छ ।
साथै, व्यक्तिका कार्यको अनुगमन र सहयोग थप उपयोगी हुनसक्छ । माथिल्लो निकाय वा पदाधिकारीले व्यक्तिका कार्य हेरेर सुझव र सल्लाह दिने कार्य यसमा पर्छन् । कर्तव्यपालनाको लागि गरिने यस्तो उपायलाई दबावमूलक उपाय अन्तर्गत राख्न सकिन्छ । यसैगरी सुधारका लागि व्यक्तिलाई अरूले गरेका कार्य वा अभ्यास देखाएर वा हेर्न लगाएर त्यसबाट सिकाइ हासिल गराई तत्पर बनाउन सकिन्छ । यस्तो कार्य स्वस्फूर्त उपाय अन्तर्गत राख्न सकिन्छ । सुधारका लागि व्यक्तिलाई दबाब दिने (सजाय वा दण्ड दिने) कार्य पनि हुन्छ । संक्रमणकालीन अवस्थामा यसले कम नतिजा दिन सक्छ किनकि दण्ड सजाय दिने र पाउने मिल्नका लागि अनेक हत्कण्डा प्रयोग हुन सक्छन् ।
र अन्त्यमा,
हाम्रो मुलुक हामी आफैंले बनाउने हो । यसका लागि भित्रैदेखि सबै तयार हुनुपर्छ । आफूलाई दिएको काम पूरा गरी अरूको कामका बारेमा प्रश्न सोध्ने गरेमा समाजमा कर्तव्यपालना गर्नेहरूको संख्या बढ्दै जान्छ । जब समाजमा कर्तव्यपालना गर्ने र सकारात्मक सोच भएकाहरूको संख्या बढ्दै जान्छ, सुधारको शुरूआत यहींबाट हुन सक्छ । अरूलाई मात्र दोष लगाएर वा गाली गरेर सुधार हुने होइन । काम गरेर सुधार हुने हो । हिजोभन्दा आज फरक कार्यशैलीमा सकारात्मक दिशातर्फको परिवर्तन सुधार हो । सुधार बाहिरबाट आएर हुने पनि होइन आफैंबाट सुधार हुने हो, संसार बदल्नका लागि पहिला आफू बदलिनु जरूरी छ । कर्तव्यबोध र जवाफदेहिताको सार पनि यही हो ।
(लम्साल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् ।)
शिक्षक मासिक, २०७६ वैशाख अंकमा प्रकाशित ।