पौभा (थाङ्का) पाठमा गल्ती

चित्रकलाका अनेक भेदमा एउटा पौभा हो । तिब्बती भाषामा ‘थाङ्का’ भनिने यसको उद्गमस्थल नेपालमा भएबाट यसलाई नेपाली मौलिक कला भन्न सकिन्छ । ‘थाङ्का’ शब्द बढी चलनचल्तीमा आउँदा कतिपयले यसलाई तिब्बती कला भनेर बुझने गरेको पनि पाइन्छ । तर तिब्बतले भने यसको श्रेय नेपाललाई नै दिने गरेको छ  ।

पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा–१० को नेपाली  पुस्तकको एउटा पाठले पौभा चित्रकलाको परिचय दिने जमर्को गरेको छ । प्रा.डा. सुधा त्रिपाठी, डा. धनप्रसाद सुवेदी र रामप्रसाद ज्ञवालीको संयुक्त लेखन रहेको सो पुस्तकमा समाविष्ट पाठको शीर्षक नै ‘पौभा’ नराखी ‘थाङ्का’ किन राखिएको भन्ने प्रश्न यहाँ टड्कारो रूपमा उठ्छ । पाठमा रहेका अन्य गल्तीहरू समेत केलाएपछि यो प्रश्नको जवाफ स्वतः प्राप्त हुन्छ ।

पौभा वा थाङ्का
पाठमा ‘पौभा’ र ‘थाङ्का’— दुई वटा शब्दमा लेखक अलमलिएको देखिन्छ । नेपाली भाषामा ‘वा’ शब्दको प्रयोग दुई बेग्लाबेग्लै कुरा जनाउन प्रयोग गरिन्छ । ‘राम वा श्याम’ भनेको दुवैको बेग्लाबेग्लै अस्तित्व रहे पनि तीमध्ये एक हो । पौभा र थाङ्का एउटै कुरालाई बताउने दुई भाषाका बेग्लाबेग्लै शब्द हुन् भन्ने विषयगत ज्ञान नभएपछि लेखकहरू पाठमा ‘पौभा वा थाङ्का’ लेख्न पुगेका छन् । (पृ.३२) । ‘थाङ्का भन्नाले कपडा वा कागजमाथि लेखिएको चित्र भन्ने बुझ्न्छि । पौभा भन्नाले पवित्र भन्ने हुन्छ’ (पृ.३२) भन्ने परिभाषाबाट गल्तीको थप सिलसिला शुरू हुन्छ ।

संस्कृत शब्द ‘पत्रभट्टाकार’ बाट ‘पतिभराद’ र पतिभरादबाट ‘पौभा’ शब्द बनेको भनाइ पाइन्छ । ‘पति’ को छोटो रूप प्रचलित नेवार बोलीमा ‘पौ’ हुने प्रचलन छ । यस्तै गरी ‘भराद’ को छोटो बोली ‘भा’ बाट ‘पौभा’ बनेको कथनमा सत्यता देखिन्छ । यस्तै तिब्बती भाषामा बेर्न मिल्ने वस्तुलाई ‘थाङ्का’ भनिन्छ । यसबाट पौभा वा पत्रभट्टाकार शब्दकै तिब्बती अनुवाद थाङ्का भएको बुझन सकिन्छ ।

पौभा चित्रको उत्पादन
गौतम बुद्ध (इ.पू. ५६३–४८३) कै समयमा बौद्ध विषयक चित्रकलाको सिर्जना भइसकेको थियो भने पछि अझ् विकास हुनु स्वाभाविक हो । नेपाली चित्रकलाको इतिहासमा भित्तेचित्र र ग्रन्थचित्रको कुरा पुरानै हो र यसमा नेपाली कलाकारहरूले दक्षता हासिल मात्रै गरेनन्, नेपाल बाहिर पनि प्रख्याति कमाइसकेका थिए । तिब्बत लगायतमा नेपाली कलाकारहरूको माग बढ्दो थियो ।

लैनसिंह बाङ्देलका अनुसार धार्मिक चित्रहरू कपडामा लेखेर तिनलाई रेशमले चारैतिर ढाकी टुप्पो र फेदमा चाहिं गोलो काठ राखी सजिलैसित बेर्न तथा झुन्ड्याउन पनि हुने बनाएर त्यस्ता पौभा चित्र तिब्बतमा लैजाँदा त्यसको ठूलो माग हुन थाल्यो । यस किसिमले धार्मिक चित्र अथवा परिपाटीले नयाँ मोड लियो । नेपाल उपत्यकाका बौद्धमार्गीहरू पनि यस प्रकारका पौभा चित्र मनपराउन थाले । बाङ्देलका अनुसार कपडामा सुन्दर अक्षरमा धर्मोपदेशहरू लेखेर झुन्ड्याउने चिनियाँहरूको प्राचीन प्रचलन हो । नेपाली चित्रकारहरूले यही शैलीबाट प्रेरणा पाएको अनुमान हुन्छ ।

एक समय पौभा चित्रकलामा नेपाली कलाकारहरूकै एकछत्र राज थियो । तर, पछि तिब्बती कलाकारहरूले पनि यस चित्रकलामा स्थान बनाए । सोह्रौं शताब्दीदेखि तिब्बती र नेपाली पौभा चित्रमा भिन्नता देखा परेको लैनसिंह बाङ्देलको भनाइ छ । आफ्नो पुस्तक प्राचीन नेपाली चित्रकला (वि.सं. २०३४) मा उनी लेख्छन्, “तिब्बतीहरू अलि उज्जर रङ मन पराउने, देवीदेवताका चित्र लेख्दा पनि अलि भयावह आकृतिलाई चित्रण गर्ने हुँदा नेपालीसँग अलि अलि फरक हुँदै गएको छ । नेपाली चित्रहरू, चाहे ग्रन्थचित्र होस् अथवा पौभा, झट्ट हेर्दा पनि स्पष्टसँग नेपाली नै हो भन्ने छुट्याउन सकिन्छ । अर्थात्, उत्ताउलो र उज्जर रङलाई नेपाली कलाकारले उति स्थान दिएको देखिंदैन । बरू जे रङ हाले पनि उत्ताउलोपनलाई अलिकति फिक्का पारिदिएर मधुर तर आकर्षक रङ नै बढी प्रयोग गरेको देखिन्छ, चाहे मण्डलको चित्र होस् अथवा कुनै पनि सम्भरको, नेपाली पौभा चित्रमा देखाएको रङको माधुर्यको तारिफ नगरी सुख छैन । यो जातीय चरित्रको छाप हो भन्ने मलाई लाग्छ ।”

इतिहास
कक्षा–१० का विद्यार्थीका निम्ति लेखिएको उक्त किताबको पाठमा पौभाको शुरूआत दशौं शताब्दीबाट भएको उल्लेख छ, तर त्यसको पुष्टि गर्ने कुनै स्रोत–आधार उल्लेख गरिएको छैन । हाल लस एञ्जलस काउन्टी म्यूजियममा रहेको अमिताभको पौभा नै हालसम्म प्राप्त भएकामध्ये सबैभन्दा पुरानो रहेको भनाइ लैनसिंह बाङ्देलको छ । उनी यसलाई तेह्रौं शताब्दीको अन्तिम काल अथवा चौधौं शताब्दीको प्रारम्भिक कालको अनुमान गर्दछन् । ठीक यही प्रकारको अर्को पौभा रत्नसंभव बुद्धको रहेको र समसामयिक देखिने उनको मत छ । यसरी नै संवत् ४८८ (सन् १३६८) उल्लिखित ताराको र ५४० (सन् १४२०) उल्लिखित ‘विष्णुमण्डल’ को पौभा उनी उल्लेख गर्छन् । पौभाको पुछारमा अनन्त ब्रतको विषयमा कुराहरू लेखिएको पौभा विष्णुमण्डल गैर बौद्ध धर्म सम्बन्धी पहिलो हो ।

पौभाको विषयवस्तु धार्मिक भए पनि त्यसमा दाताको नाम, साल–मिति, मुहार आदिको पनि उल्लेख हुनसक्ने भएकाले इतिहासका कतिपय कुरा उजागर गर्न मद्दत गर्दछ । पश्चिम नेपालको कर्णाली भेकमा स्थापित खस साम्राज्यको राज्य धर्म बज्रयानी बौद्ध धर्म रहेको पुष्टि अन्य स्रोतबाट पनि हुन्छ । यही राजवंशका राजा रिपु मल्ल (राज्यकाल इ.संं. १३१२–१३१३) को नाम उल्लिखित एउटा पौभा पाइएको छ । विनित भावमा रहेका दुई पुरुष पात्रमा एक स्वयं राजा र अर्को उत्तराधिकारीका रूपमा अघि राखिएका छोरा संग्राम मल्ल रहेको अनुमान यस पङ्तिकारको छ । लुम्बिनीस्थित अशोक स्तम्भको माथिल्लो भागमा पनि रिपु मल्ल र संग्राम मल्लको नाम कुँदाइएको छ । पौभामा चित्रित यी दुई पात्रको भेषभूषा, केश सज्जा तथा सिंगारपटारबाट उक्त राजवंशकै महत्वपूर्ण जानकारी प्राप्त भएको छ भने चित्रमा काठमाडौंमा प्रचलित कलाकारिता झिकिन्छ ।

पौभाको विषयवस्तु
पाठमा भनिए अनुसार पौभा (थाङ्का) बुद्ध दर्शन सिक्न र सिकाउन महत्वपूर्ण पाठ्यसामग्री हो । तर “बौद्ध समुदायमा थाङ्कालाई घरमा राख्दा मनोकामना पूरा हुने, भूतप्रेत, रोग, अनिष्ट आदि बास नगर्ने र शान्ति कायम हुने जस्ता विश्वास गरिन्छ” भन्नु अन्धविश्वासलाई प्रश्रय दिनु र बौद्ध धर्मदर्शनको अपव्याख्या गर्नु हो । विद्यालयको पाठ्यपुस्तकमा यसरी अन्धविश्वासलाई ठाउँ दिनु र धर्मविशेषको अपव्याख्या गर्नु अत्यन्त अनुचित कार्य पनि हो ।

पौभामा गौतम बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण घटना मात्रै नभएर धर्म–दर्शन बुझाउने अनेकौं विषयवस्तु प्रस्तुत गरिएको हुन्छ । बौद्ध दर्शनको विकासका क्रममा पहिले महायान र पछि यसैबाट बज्रयानको विकास भएको थियो । यसअन्तर्गत बज्रसत्व, बज्रपाणी, अवलोकितेश्वर, मैत्रेय, मञ्जुश्री, बसुन्धरा हेबज्र, नामसंगीति, सम्बर लगायतका पात्रहरूको अवधारणाले ठाउँ पायो । यसरी नै प्रतीत्यसमुत्पाद (भवचक्र) र विभिन्न अर्थ र उद्देश्यका मण्डलहरू जम्मैलाई पौभामा चित्रण गर्न थालियो । अझ् विभिन्न सिद्ध तथा आचार्यलाई नै मुख्य विषयवस्तु बनाएर पौभा लेख्ने चलन पनि छ । पाठमा भनिए जस्तो कृष्णलीलाको सिर्जना पछिल्लो कालमा भए मात्रै हो, शुरूको कुरा होइन । हिन्दू धर्मकै शाक्त तथा अन्य तन्त्र सम्बन्धी विषयवस्तुले पनि ठाउँ पाएको देखिएबाट बुझिन्छ, पौभा बौद्ध धर्मसँग सम्बन्धित भए पनि यसले नेपाली हिन्दू जगतलाई प्रभाव पारेको थियो ।

पाठमा बौद्ध चरित्रहरूको चित्रणमा पनि गम्भीर गल्ती पाइन्छन् । चरित्रविशेषलाई प्रयोग गरिने रङको सन्दर्भमा ‘पञ्च अमिताभ’ लाई रातो भनिएको छ । तर यथार्थ त्यो होइन । पञ्चबुद्ध अन्तर्गत विभिन्न पाँच बुद्धहरू पर्दछन् र त्यसमा एक अमिताभ बुद्ध हुन् । अमिताभ बुद्धका लागि रातो रङको प्रयोग गरिन्छ । अन्य चार बुद्धहरूमा वैरोचन (सेतो), अक्षोभ्य (नीलो), रत्नसंभव (पहेंलो) र अमोघसिद्धि (हरियो) हुन् । यिनीहरूले छुट्टाछुट्टै दिशा लगायतको प्रतिनिधित्व पनि गर्दछन् । यहाँ पञ्चबुद्धकै उल्लेख गरे पनि हुनेथियो । वैरोचन बुद्धको हिज्जे ‘भैरोचन’ भएको छ । ‘मेडिसिन नीलो’ भन्नु हेलचेक्र्याइँ हो । ‘भैषज्य बुद्ध’ भन्ने चरित्र पनि पाइन्छ र यसलाई अंग्रेजीमा ‘मेडिसिन बुद्ध’ भनिन्छ । यी बुद्धका लागि नीलो रङको प्रयोग हुन्छ । त्यही अंग्रेजी शब्द टिप्ने क्रममा अपूर्ण रूपमा ‘मेडिसिन नीलो’ भनिएको हो भन्ने अनुमान पृष्ठभूमि थाहा नपाएकाले गर्न सक्दैन । जम्मै चरित्रको नाम संस्कृतमा राखेर कुवेरलाई मात्र ‘ज्याम्बला’ भनी तिब्बती नाम दिनुले लेखकहरूको सतही ज्ञान झ्ल्किन्छ ।  

निष्कर्ष
लेखकहरू विषयविज्ञ नभएका कारण तथ्यगत कुरामा गम्भीर गल्ती भएको बुझन सकिन्छ । पाठ्यपुस्तकमा यस्तो गल्ती हुनुले दीर्घकालीन असर पर्ने पक्का छ । साथै प्रयुक्त भाषा शैली पनि गज्याङमज्याङ परेको छ । विद्यार्थीलाई यस विषयमा जानकारी दिनु नितान्त जरूरी भएको अवस्थामा एउटै उपाय हो, गल्ती सुधार्दै तुरुन्तै पाठलाई पुनर्लेखन तथा परिमार्जन गर्नुपर्दछ ।

शिक्षक मासिक, २०७६ भदौ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial