स्कूललाई उत्कृष्ट बनाउने खुबी

भक्तपुरको सुँडाल–९ का गणेश दुलालको घर नजिकै दुई वटा स्कूल छन् । तर, उनका छोराछोरी हरेक दिन डेढ घण्टा टाढा ताथली, सौडोलको देवी उच्चमावि पुग्छन् । किन ? दुलालको सोझो जवाफ थियो– “शेरबहादुर सरका कारण । उहाँ जुन स्कूलमा पढाउनुहुन्छ, म मेरा छोराछोरी त्यही स्कूलमा पठाउँछु ।” दुलालका छोरा महेशले यसैपालि देवी माविबाटै ७९ प्रतिशत अंक ल्याएर एसएलसी पास गरे । सुँडालका ४० जना जति विद्यार्थी अहिले पनि देवी माविमा पढ्न धाउने गरेका छन् ।

देवी उच्च मावि भक्तपुरको उत्कृष्ट सामुदायिक विद्यालयमा गनिन्छ । र, यो सफलताको श्रेय ‘भूतपूर्व हेडसर’ शेरबहादुर ङाखुसीलाई दिन कोही पनि हिच्किचाउँदैनन् । २०३१ सालमा ङाखुसी प्रअ भएर आउँदा विद्यालय भवनका नाममा तीन वटा पराले छाप्रा थिए । कक्षा–३ सम्म पढाइ हुन्थ्यो, विद्यार्थी थिए, ४० जना । समुदायसँग मिलेर गरेको ङाखुसीको प्रयासले त्यहीँ स्कूललाई जिल्लाको नमूना स्कूल तुल्याइदियो ।

२०२५ सालमा खुलेको यो स्कूल ङाखुसीकै अगुवाईमा २०४७ मा मावि र यसै वर्षदेखि उमाविमा परिणत भएको छ । मावि सञ्चालनको स्वीकृति लिन चाहिने रु.५० हजार ङाखुसीले देउसी–भैलोबाट उठाएका थिए । “देउसी–भैलोबाट उठेको रकममा रु.२२ हजार थपेर रु.५० हजार पुर्‍याएपछि मावि सञ्चालनको स्वीकृति मिल्यो” उनी हिजोको कुरा सम्झन्छन् । उच्च मावि भएपछि गत असार ८ देखि ङाखुसीले प्रअको जिम्मेवारी छाडे । तर उनको स्वरमा अलिकति पनि गुनासो मिसिएको पाइँदैन । भक्तपुरको सरस्वती विद्यागृहबाट तृतीय श्रेणीमा एसएलसी गरेका शेरबहादुर ङाखुसीले स्नातकसम्म शिक्षाशास्त्र पढेका हुन् । अहिले उनकै पूर्व विद्यार्थी राजाराम छुकाङ प्रअ छन् तर, विद्यालयमा अझै पनि ङाखुसीलाई नै सबैले ‘हेडसर’ भन्छन् । नयाँ प्रअ छुकाङ भन्छन्, “मैले बाध्यतावश प्रअ बन्नु पर्‍यो । उहाँकै अनुभव र मार्गदर्शनमा चलाएका छौं । म त हस्ताक्षर मात्रै गर्छु ।”

ङाखुसीको प्रधानाध्यापकत्व कालमा एसएलसी उत्तीर्ण ५९६ जना विद्यार्थीमध्ये पाँच जना विशिष्ट, १८१ जना प्रथम श्रेणी र २१८ जना द्वितीय श्रेणीमा थिए । २०६४ सालको एसएलसीमा यस उमाविबाट ८४ प्रतिशत विद्यार्थी पास भए भने छात्र निरन छुकाङले भक्तपुरका ३० वटा सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट (८४.२ प्रतिशत) अंक ल्याए । निरन भन्छन्, “मेरो सफलतामा ङाखुसीसरको प्रेरणा र मेहनतको ठूलो हात छ ।”


विद्यार्थीको अनुशासन, व्यवहार र लगनशीलताप्रति ङाखुसी चनाखो रहन्छन् । कुनै विद्यार्थीले पढाइमा ध्यान नदिएमा उनी अभिभावकलाई बोलाएर सम्झउँछन् । कतिपय अभिभावकको घरमा आफैँ पनि पुग्छन् । 

ङाखुसी कक्षा-९ र १० लाई स्वास्थ्य, जनसङ्ख्या र वातावरण विषय पढाउँछन् । उनको विषयमा अहिलेसम्म एउटा विद्यार्थी पनि असफल भएको रेकर्ड छैन । लगनशील शिक्षक, मिहिनेती विद्यार्थी र सहयोगी अभिभावक भए राम्रो नतिजा ल्याउन कठिनाई नहुने उनको ठम्याइ छ । “राम्रो गर्छु भनेर आत्मविश्वासका साथ काम गरेमा सकिने रहेछ” उनी भन्छन्, “हरेक वर्ष एसएलसी नतिजा सार्वजनिक हुँदा देवी स्कूलको सफलतालाई सबैले तारिफ गर्छन् । आफ्नो स्कूलको प्रशंसा सुन्दा खुसी लाग्छ ।” एसएलसीमा उत्कृष्ट नतिजा ल्याएका कारण जिल्ला शिक्षा कार्यालयबाट देवी उच्चमाविले पछिल्ला दुई वर्ष एक–एक लाख रुपैयाँको पुरस्कार प्राप्त गर्‍यो ।

भक्तपुरको ताथली र आसपासका गाउँमा शैक्षिक चेतना बढाउन शेरबहादुर ङाखुसीले गरेको मिहिनेतलाई भक्तपुरमा धेरैले प्रशंसा गर्छन् । वासुकला भन्छन्, “उहाँ नभएको भए हाम्रो विद्यालय यसरी प्रतिष्ठित र व्यवस्थित हुने थिएन ।”

आफ्ना विद्यार्थीको अनुशासन, व्यवहार र लगनशीलताप्रति ङाखुसी चनाखो रहन्छन् । कुनै विद्यार्थीले पढाइमा ध्यान नदिएमा उनी अभिभावकलाई बोलाएर सम्झाउँछन् । कतिपय अभिभावकको घरमा आफैँ पनि पुग्छन् । पछिल्ला दुई वर्षमा विद्यालयका शिक्षकको समूह बनाएर उनले घरदैलो कार्यक्रम चलाए । कस्तो रह्यो त त्यसको अनुभव ? “परीक्षा आउनुअघि घरदैलो गर्‍यौं । यसबाट विद्यार्थीको परीक्षा तयारीबारे बुझन र विद्यार्थीका कमी–कमजोरीबारे अभिभावकसँग प्रत्यक्ष छलफल पनि गर्न पाइयो” उनले सुनाए ।

देवी उमाविले भक्तपुरमै विद्यालयको कुशल व्यवस्थापन र अनुशासनमा गजबको ख्याति कमाएको छ । शिक्षकहरूको सामूहिक प्रयास र स्थानीयस्तरबाट मिलेको सहयोगले यो सफलता सम्भव भएको ङाखुसी बताउँछन् । “सहकर्मी शिक्षक र अभिभावकहरूको सहयोग विना विद्यालयको व्यवस्थापन सम्भव नै छैन । यस्तो सहकार्य भयो भने धेरै सामुदायिक विद्यालयले राम्रो नजिता निकाल्छन्” उनको अनुभवले भन्छ । शैक्षिक अनुसन्धान तथा विकास केन्द्र (सेरिड)ले चार वर्षअघिको आफ्नो प्रतिवेदनमा प्रभावकारी व्यवस्थापन भएको विद्यालयको सूचीमा देवी स्कूललाई राखेको थियो ।

ङाखुसीकै शब्दमा उनी अलि ‘खरो’ मिजासका छन् । उनी बिहान सवा नौ बज्दा विद्यालय पुगिसक्छन् । शिक्षकको दायित्व बोकेपछि समयमै विद्यालय आउनुपर्ने उनको मान्यता छ । ढिलो आउने शिक्षकको हाजिरकापीमा ‘रातो चिन्ह’ लगाएको तीतो अनुभव पनि उनीसँग छ । उनी भन्छन्, “आफूले पाएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक पूरा गर्नुपर्छ । विद्यार्थीलाई सदाचारी बन्न शिक्षा दिने हामीले ठग्न मिल्दैन ।”

झण्डै चार दशक लामो शिक्षण अनुभवमा ङाखुसीलाई यो पेशा कहिल्यै निरस लागेन, बरु गर्व महसूस भयो– “विद्यालयको प्रगति राम्रै छ, आत्मसन्तुष्टि छ ।” शिक्षण पेशामा चुनौती कहिल्यै नघट्ने उनको अनुभव छ । “काम गरेर कहिल्यै नसकिने रहेछ । विद्यालयको स्तर र नतिजालाई कसरी बढाउने भन्ने चिन्ता सधैँ भइरहन्छ” ङाखुसी भन्छन् ।

विद्यालय विस्तारका क्रममा भएको एउटा दुखद् घटनाले उनलाई अहिले पनि उत्तिकै पिरोल्छ । विद्यालयको मावि कोठा थप गर्न ढिस्को भत्काइँदै थियो । त्यस क्रममा ङाखुसीसँगै पढाउने शिक्षक कृष्ण वासुकला र उनका छोरा सङ्घर्ष वासुकलाको माटोले पुरिएर मृत्यु भयो । “मेरा लागि देवी स्कूलसँगको सम्बन्धमा सबैभन्दा दुखद् घटना यही नै रह्यो”, उनी भन्छन् । उनीहरूको सम्झनामा विद्यालय प्राङ्गणमै मृतकका प्रतिमा राखिएका छन् । साथमा ५३ हजार रुपैयाँको अक्षयकोष खडा गरिएको छ । उनी भन्छन्, “कोषको रकमबाट उठेको ब्याजबाट विद्यालयको अतिरिक्त क्रियाकलापको खर्च जुटाउँछौं ।”

जिल्ला शिक्षा कार्यालय, भक्तपुरमा अढाई वर्ष जिशिअ रहिसकेकी राज्यलक्ष्मी नकर्मी (हाल जिशिअ, धादिङ) ङाखुसीलाई भक्तपुर जिल्लाकै मिहिनेती र उदाहरणीय शिक्षक मान्छिन् । उनी भन्छिन्, “विद्यालय व्यवस्थापन र नेतृत्वमा उहाँको निकै दख्खल छ । सूचना नदिइकनै म देवी स्कूल निरीक्षणमा पुग्दा त्यहाँको शैक्षिक वातावरण कहिल्यै अव्यवस्थित भएको देखिनँ । गाउँको विद्यालय यति व्यवस्थित र अनुशासित कमै मात्र भेटेको छु ।”

शिक्षण पेशा मर्यादित बन्न नसकेकोमा ङाखुसीमा असन्तोष छ । तर, यसो हुनुमा शिक्षक स्वयंकै कमजोरी देख्छन्, उनी । भन्छन्, “शिक्षक आफैंले शिक्षणलाई मर्यादित बनाउने हो, अरूको मुख ताक्ने हैन । हामीले आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन त मिलेन नि !” उनी शिक्षकलाई जागिरमुखी मानसिकताबाट पेशामुखी तुल्याउनुपर्ने आवश्यकता औंल्याउँछन् । वर्तमान शैक्षिक प्रणालीप्रति ङाखुसी त्यति सन्तुष्ट देखिंदैनन् । उनी भन्छन्, “पाठ्यक्रम समयसापेक्ष छैन, निरीक्षण र अनुगमनको प्रक्रिया नियमित छैन । यो प्रभावकारी हुनुपर्छ ।” विद्यालयलाई राजनीतिकरणबाट रोक्नुपर्ने उनको सुझव छ । देवी उमाविको थप स्तरोन्नतिका लागि ङाखुसीकै मार्ग–दर्शनलाई पछ्याउने क्रममा छन्– अहिलेका प्रअ र अन्य शिक्षकहरू । प्रअ छुकाङ भन्छन्, “हेडसरले ‘सिस्टम’ बसाइदिनुभएको छ । हामी यसैलाई निरन्तरता दिन लागि पर्छौं । उहाँको योगदानले हामीलाई सधैं मार्गदर्शन गरिरहनेछ ।”

शिक्षक  मासिक, २०६५ मंसीर अंकमा प्रकाशित । 


              

commercial commercial commercial commercial